रहेनन् मजदुर आन्दोलनका योद्धा
विराटनगर : मजदुर आन्दोलनका योद्धाका रुपमा परिचित विराटनगरका रघुनाथप्रसाद गुप्ताको ९५ वर्षको उमेरमा निधन भएको छ। २००३ सालमा विराटनगर जुट मिल्समा राणा शासन विरुद्धको आन्दोलनमा लागेका गुप्ताको विराटनगर-१५स्थित आफ्नै निवासमा शुक्रबार राति निधन भएको हो।
गुप्ताको शनिबार विराटनगरस्थित सिंघिया घाटमा अन्त्येष्टि गरिएको छ। रघुनाथको पार्थिव शरीरमा नेकपाका नेताहरूले झण्डा ओढाएका थिए। २००३ सालमा जुट मिल्समा मनमोहन अधिकारीका निकट भएर आन्दोलनमा सहभागि भएका थिए।
रघुनाथका दाजु विश्वनाथ गिरिजाप्रसाद कोइरालाको निकट भएर सोही आन्दोलनमा लागेका थिए। उनको यसअघि नै निधन भइसकेको छ । उनका छोरा तथा नेपाली कांग्रेस जिल्ला सदस्य राजेश गुप्ताका अनुसार स्वतन्त्रता सेनानी दाजुभाइ रघुनाथ र विश्वनाथले २००७ सालको मजदुर क्रान्तिमा राणा शासन विरुद्ध लड्न डोजरलाई ट्याङ्क बनाउन सहयोग गरेका थिए । त्यस बेला दुबै दाजुभाइ जुटमिलका हेडमिस्त्री थिए।
विराटनगर जुटमिलका मजदुरले सैनिकले प्रयोग गर्ने जस्तै ट्याङ्क बनाएर अञ्चलाधीश कार्यालयमा आक्रमण गरेका थिए। सो ट्याङ्क अहिले काठमाडौंको सुन्दरीजलस्थित बीपी संग्रहालयमा राखिएको छ।