संवैधानिक निकायलाई पार्टीको लाचार छाया बनाइयो : सिटौला
झापा : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सिंहदरबारको कार्यशैली परिवर्तन नगरेसम्म जनताका पक्षमा काम हुन नसक्ने बताएका छन्।
कांग्रेस झापा क्षेत्र नम्बर-३ ले शनिबार गरेको कार्यक्रममा बोल्दै संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका सिटौलाले दुई तिहाई बहुमतको दण्डा देखाएर संवैधानिक निकायहरुलाई वर्तमान सरकारले कम्युनिस्ट पार्टीको लाचार छाया बनाउन खोजेको आरोप लगाए।
संघीय लोकतान्त्रिक प्रक्रियाअनुसार सत्तामा पुगेको कम्युनिस्ट सरकार संविधानको बाटोमा नहिँडेको बताउँदै नेता सिटौलाले, सरकार संविधानको बाटोमा नभई कम्युनिस्ट घोषणापत्रमा हिँड्न खोजेको बताए।
सरकारले जनताका पक्षमा काम गर्न नसकेका कारण संविधानप्रति नै आक्रोश पोखिन थालेको टिप्पणी गरे। ‘सरकारको कार्यशैलीका कारण जनआक्रोश व्यवस्था र संविधानमाथि खनिन् थालेको छ’, उनले भने।
संविधान कागजी दस्ताबेजमा मात्रै सीमित भएको बताउँदै सिटौलाले सबै दल, जाति, वर्ग र समुदाय मिलेर ल्याएको संविधान कार्यान्वयनको जिम्मेवारी सरकारको भएको बताए।