जाजरकोटको ‘टकिङ टिचर’ मा अनियमितता
जाजरकोट : जाजरकोटका सामुदायिक विद्यालयमा किनिएका आधुनिक मेसिन (टकिङ टिचर) को परामर्श शुल्कमा घोटाला भएको छ। भेरी नगपालिकाका १३ स्कुलले किनेको मेसिनको परामर्श सेवा शुल्कमा घोटाला भएको पाइएको हो।
यहाँका स्कुलमा परामर्श सेवा शुल्कबापत् साढे १७ लाख रुपैयाँ हिनामिना भएको हो। भेरी नगरपालिकाका लेखापाल डम्बरबहादुर बिष्टका अनुसार छनोटमा परेका स्कुलका लागि टकिङ टिचरअन्तर्गत टिटी सेट, बालदेखि ५ कक्षासम्मका स्मार्ट बुकलगायत सामग्री उपलब्ध गराउनुका साथै परामर्शसमेत दिने गरी क्रिएटिभ एडुटेन्मेन्ट वल्र्ड प्रालि भाटभटेनी–४ काठमाडौंले सम्झौता गरेको थियो।
भेरी नगरपालिकाले सम्झौताअनुसार रकम उपलब्ध गराएपछि स्कुलहरूले क्रिएटिभ एडुटेन्मेन्टलाई २३ लाख २३ हजार ४ सय २० रुपैयाँ भुक्तानी गरेका थिए। तर उसले स्कुलहरूलाई जम्मा ५ लाख ७३ हजार ४ सय २० रुपैयाँबराबरका सामग्री मात्र उपलब्ध गराएको छ। तर सो कम्पनीले स्कुलहरूलाई मेसिन सञ्चालनसम्बन्धी कुनै परामर्श नदिए पनि त्यसबापतको शुल्क १७ लाख ५० हजार रुपैयाँ कुम्ल्याइसकेको छ।
शिक्षक विद्यार्थीलाई टकिङ टिचर सेट प्रयोग गर्न सिकाउन क्रिएटिभ एडुटेन्मेन्टले मेसिनको मूल्यभन्दा ३ गुणा बढी परामर्श सेवा शुल्क लिएको हो। तर सेटको मूल्यभन्दा ३ गुणा बढी शुल्क लिए पनि प्रयोग गर्न भने सिकाएन। ‘कामै नगरी भुक्तानी लिनु अनियमितता हो,’ वडा नम्बर ३ का वडाध्यक्ष लिलाबहादुर शाहले भने, ‘मिलेमतोमा अनियमितता भएको देखिन्छ, त्यसैले रकम असुल गर्न महालेखापरीक्षकसँग समेत आग्रह गरेका छौं।’ परामर्श शुल्कको नाममा क्रिएटिभ एडुटेन्मेन्टले सेट प्रयोग गर्न सिकाउनलाई एक जना विद्यार्थी बराबर हजार रुपैयाँ असुल्ने गरेको छ।
विद्यार्थीको सिकाइ उपलब्धी बढाउन नगरपालिकाको अनुदानमा ती स्कुलले टकिङ टिचरलगायत सामग्री किनेका थिए। सेट उपयोग गर्न छानिएका शिक्षकमा आधारभूत ज्ञान पनि नभएपछि अहिले थन्किएका छन्। क्रिएटिभ एडुटेन्मेन्टले समयमा सेवा नदिँदा कार्यक्रम सञ्चालन हुन नसकेको स्कलुहरूको गुनासो छ। वडाध्यक्ष दीपक राना संयोजकत्वको नगरपालिकाको लेखा समितिले किनेका सामग्री तथा अन्य प्रक्रियाबारे अध्ययन गरेको थियो। समितिले परामर्श दिनुअघि नै भुक्तानी गरिइएको रकम असुल गर्न सिफारिस गरेको छ।
तर क्रिएटिभ एडुटेन्मेन्टले आफ्नो निर्देशन नटेरेको लेखा समितिले जनाएको छ। क्रिएटिभ एडुटेन्मेन्टले जिल्लाका भेरी नगरपालिका, नलगाड नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिकालगायत अधिकांश स्थानीय तहमा स्कुलमा टकिङ टिचरका सामग्री उपलब्ध गराउनुको साथै परामर्श शुल्कको भुक्तानी लिइसकेको छ। तर सम्झौता अनुसार कुनै पनि स्कुलमा काम नगरेको गुनासो स्कुलहरूले गरेका छन्।