घरैपिच्छे किवी खेती
धनकुटा : धनकुटा २ चाँपे गाउँका कृष्णकमल राना मगरको वारीमा यतिबेला लटररम्म किवी फलेका छन्। उनको करिब ५ रोपनी जग्गामा सयभन्दा बढी किवीका बोट छन्। किवी फलाएरै वर्षमा लाखभन्दा बढी रुपैयाँ भित्र्याउने गरेको कृष्णकमल बताउँछन्। उनका छिमेकी अमृत राना मगरको घरमुनिको बारीमा पनि लटररम्म किवी फलेका छन्। बाँसका थाक्रामा फैलिएको बोटमा किवीका दाना प्रशस्तै देख्न सकिन्छ।
चाँपे गाउँकै दलबहादुर मगरले पनि अढाई रोपनी क्षेत्रफलमा किवी खेती गरेका छन्। किवीका एक सय ४० झाङ (बोट)मध्ये ३५ झ्याङले फल दिन थालेको उनले बताए। अन्य किसान मानबहादुर राना मगर, रामबहादुर दर्लामी मगरजस्ता गाउँका २६ भन्दाबढी घरपरिवारले किवीको व्यावसायिक खेती गरेका छन्। चाँपेगाउँका घरैपिच्छे किवीको खेती रहेको गाउँका अगुवा किसानसमेत रहेका कृष्णकमलले बताए।
फलफूलको राजासमेत भनिने ‘किवी’ खेतीको सुरुवात यस गाउँमा कृष्णकमलले गरेका छन्। पाँच वर्षअघि धनकुटाकै उत्तरपानीबाट पाँच सय रुपैयाँ तिरेर सदस्य बनेर किवीको बिरुवा ल्याएका थिए उनले। ‘प्रतिगोटा चार सय ५० रुपैयाँको दरले बिरुवा ल्याएर घरनजिकैको डिलमा रोपेँ’, उनले भने, ‘त्यो बेला गाउँका साथीभाइले के ल्याएर रोप्यो भनेर आत्तिए। तर, अहिले फलेर बिक्री हुन थालेपछि पहिल्यै रोप्नुपथ्र्याे भनेर साथीभाइ पछुताएका छन्।’
उनले हरेक वर्षजसो खेती विस्तार गरेर अहिले ७ रोपनी क्षेत्रमा पु र्याइसकेका छन्। पछिल्लो चार वर्ष उनले मात्रै होइन गाउँका हरेक घरधुरीले किवीको खेती गर्न थालेका छन्। किवी खेती विस्तार भएर चाँपे गाउँ सबै घरधुरीमा किवी खेती हुने गरेको छ। सबैले बाँसको पिल्लर बनाएका थिए। अहिले किवीको थाक्राको रूपमा सिमेन्टको पिल्लर राखेका छन्।
कुनै बेला कोपी, आलु, मटरजस्ता तरकारी उत्पादनको क्षेत्रले नाम कहलिएको चाँपे गाउँ अहिले किवी खेती हुने पकेट क्षेत्रको रूपमा चिनिन थालेको छ। कृषि ज्ञान केन्द्र धनकुटाले पनि यो गाउँलाई जिल्लाकै किवी पकेट क्षेत्रको रूपमा घोषणा गरेको छ। सो कार्यालयले किसानलाई खेती विस्तारमा तीन लाख २५ हजार रुपैयाँ सहयोग गरेको थियो।
अमृत राना मगरको बारीमा फलेको किवी। धनकुटा–२ चाँपेगाउँ।
चाँपे गाउँ मगर समुदायको मात्रै बसोबास रहेको ठाउँ हो। यहाँ २५ घरपरिवारको बसोबास छ। हरेक घरमा किवी खेती भएको छ। हरेक घरले न्यूनतम ३ देखि ७ रोपनी जग्गामा किवी खेती लगाएका छन्। यो ठाउँमा किवी खेतीको सुरुवात भएको करिब ५ वर्ष मात्रै भएको छ। अहिले एउटा बोटले ४० देखि ४५ किलोसम्म फल दिइरहेको छ। पछि एक सय ५० किलोसम्म फल दिने किसानको भनाइ छ। किवीको बोटले रोपेको दुई वर्षपछि फुल्न थाल्छ। तीन वर्षपछि आम्दानी दिने गरी फल्न थाल्ने अर्का किसान अमृतले बताए।
उनका अनुसार किवीको फल प्रतिकिलो दुई सय रुपैयाँले बजारमा बिक्री हुन्छ। हावापानी तथा मौसमको हिसाबले किवी खेती गर्न चापे गाउँ उपयुक्त रहेको उनको दाबी छ। ‘यहाँ फलेको किवी अन्य क्षेत्रमा फल्नेभन्दा स्वादिलो भएका कारण बिक्री गर्न बजारको समस्या छैन’, उनले भने, ‘यस क्षेत्रमा फलेको किवी मंसिरदेखि बजारमा पाइने गर्छ।’ यहाँका किसानले हेवार्ड र रेड प्रजातिका किवी खेती गर्दै आएका छन्।
बिक्रीका लागि बजारको समस्या छैन। किसान आफैंले टिपेर बजारमा बिक्रीका लागि लैजाने गर्छन्। कतिपय व्यापारी त खरिदका लागि चाँपे गाउँनै पुग्ने गर्छन्। किवीको प्रमुख बजार हिले, धनकुटासहित पूर्वी तराईका बजार रहेको उनले बताए।
किवी फल चिसो हावापानीमा फल्ने प्रजाति रहेको कृषि विशेषज्ञ जीवन राईले बताए। समुद्री सतहबाट नौ सयदेखि २७ सय मिटर उचाइमा किवीको खेती हुने उनले बताए। पाकेको किवी फलको स्वाद हल्का अमिलो, गुलियो हुने भएकाले भिटामिन सी, ए र बी बढी मात्रा पाइने उनले बताए।