नेविसंघ नेतृत्वविहीन

नेविसंघ नेतृत्वविहीन

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ ८ महिनादेखि नेतृत्वविहीन छ। प्रतिपक्षी दलको भूमिका प्रभावकारी नभएको भन्दै आलोचना भइरहेका बेला कांग्रेसको नर्सरी मानिने नेविसंघ नै लामो समयदेखि विघटित अवस्थामा छ।

थपिएको समयमा पनि महाधिवेशन गर्न नसकेको भन्दै नेविसंघका तत्कालीन अध्यक्ष नैनसिंह महरलाई राजीनामा दिन लगाए पनि पार्टीले अहिलेसम्म केन्द्रीय समिति गठन गर्न सकेको छैन। महरले गत माघ २८ गते पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका थिए। तत्काल नयाँ नेतृत्वसहित केन्द्रीय समिति ल्याउने भने पनि अझै नयाँ कमिटी आउन सकेको छैन। ‘नेविसंघबारे छलफल भइरहेको छ, पार्टी सभापतिलाई यसको अधिकार दिइएको छ,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘नेविसंघबारे उहाँले चाँडै निर्णय गर्नुुहुन्छ होला।’

केन्द्रीय समितिले नेविसंघ गठनको अधिकार सभापति देउवालाई दिइसकेको छ। देउवाले नेविसंघ गठनबारे पार्टीका शीर्ष नेतासँग छलफल गरे पनि निर्णय गरिसकेका छैनन्। दोस्रो जागरण अभियानअघि नै नेविसंघ गठन गरिसक्ने दाबी गरिएको थियो। तर देउवानिकट स्रोतका अनुसार नयाँ नेतृत्व आउन अझै समय लाग्ने देखिन्छ।

नेविसंघको विधानमा ३२ वर्षको उमेरहद व्यवस्था गरिएको छ। नयाँ गठन हुने नेविसंघमा उमेरहदका विषयमा पनि कांग्रेसमा मतान्तर छ। केही नेताले विधानको व्यवस्थाअनुसार गठन गर्न जोड दिएका छन् भने संस्थापन पक्षका अधिकांश नेता विधानको व्यवस्था महाधिवेशनमा लागू हुने भन्दै तदर्थ समितिमा उमेरहद लगाउन नहुने पक्षमा छन्।

‘समझदारीमा यथासक्य चाँडो नेविसंघ गठन गरिनुपर्छ, पार्टीलाई सशक्त र प्रभावकारी बनाउन पनि गठनमा ढिलाइ गरिनुहुन्न,’ कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने, ‘पुरानो संरचनाअनुसार पार्टीले नेविसंघ गठन गर्नुपर्छ।’

आफूनिकटलाई नेतृत्वमा ल्याउन पार्टी नेताबीच कुरा नमिल्दा गठनमा ढिलाइ भएको टिप्पणी कांग्रेसभित्रकै नेताहरूको छ। तत्काल नेतृत्वमात्र ल्याउने कि पूरा कमिटी गठन गर्ने भन्नेमा पनि पार्टीमा एकमत छैन।

‘मेरो नेतृत्वको कमिटी विघटन गरेर आफूनिकटलाई ल्याउने नियतले नेविसंघ विघटन गरिएको हो,’ नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले भने, ‘नेताहरूबीच भागबन्डा मिलेको छैन, नमिलेसम्म कसरी गठन होला र ? ’ नेविसंघ नेतृत्वविहीन हुँदा मुलुकभरि संगठन निष्क्रिय छ भने कतिपय नेविसंघ नेताले नेविसंघको ब्यानरमा आफूअनुकूल कार्यक्रम गर्दै आएका छन्।

कांग्रेस बैठक १० गते

कांग्रेसले केन्द्रीय समितिको बैठक १० असोजका लागि बोलाएको छ। समसामयीक राजनीतिका साथै दोस्रो जागरण अभियानको समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले केन्द्रीय समिति बैठकमा कांग्रेस उपसभापति विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकसँगको पार्टी एकतापछिको संगठन समायोजनबारे निर्णय लिइने बताए। केन्द्रीय कार्यालयका अनुसार पार्टीले नेपाल तरुण दलमा देखिएको विवादबारे पनि निर्णय गर्ने जनाइएको छ।

तरुण दलको विरोध

नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीको नेतृत्वमा काठमाडौंमा प्रदर्शन गरिएको छ। आइतबार तरुण दलले सरकारविरुद्ध प्रदर्शन गरेको हो। भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको दलका महासचिव शाहीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.