लागूऔषध कारोबार : भारत-नेपाल सञ्जाल
सिरहा : लहान नगरपालिका २३ बाट रामअवतार साह लागूऔषध कारोबारमा पक्राउ भएका छन्। उनको साथबाट बिहीबार प्रहरीले डाइजोपाम ३३ एम्पुल, फेनारगन ३३ एम्पुल र नोफिन ३३ एम्पुल बरामद भएको हो। उनी भारतीय बजारबाट खरिद गरी स९प ४२८ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै थिए।
एक दिनअघि प्रहरीले गोलबजार नगरपालिका १ का २५ वर्षीय महमद कलामलाई सीमावर्ती बरियारपट्टि गाउँपालिका ३ बाट पक्राउ गरे। उनी पनि भारतीय बजारबाटै लागूऔषध लिएर नेपाल आउँदै थिए। उनको साथबाट नाइट्रोभेट ४५ पिस र ५० ग्राम गाँजा बरामद भएका छन्। साह र कलामजस्तै साउन र भदौमा २५ वटा लागूऔषध मुद्दामा २१ जना पक्राउ परेका छन्। पारीको बजारमा लागूऔषध सहजै पाउने साथै सीमाना खुला हुने भएकाले वारीपारी गर्न सहज छ। लागूऔषध सेवनकर्ता र कारोबारी पहाडी जिल्लासमेत पुर्याउँछन्।
भदौ २७ गते प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले काठमाडौंको गोकर्णेश्वर नगरपालिका ५ जम्बुडाँडाबाट चारजनालाई लागूऔषधसहित पक्राउ गर्यो। जसमा सिरहाको गोलबजार नगरपालिका ४ का उत्तिमलाल साह, वडा नम्बर ३ का अशोक तामाङ, उदयपुर त्रियुगा नपा १३ का सुजेन्द्र लोहनी र काभ्रे रोशी गापा ७ का पेमा लामा छन्। उनीहरूको साथबाट ४१० एम्पुल डाइजेपाम, फेनारगन ३७५ एम्पुल र नुर्फिन ४१५ एम्पुल बरामद गरिएको हो।
लागूऔषध कारोबारमा सीमापारीदेखि पहाडी जिल्लासम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी तथ्यांकले देखाउँछ। लागूऔषधका तस्करले भारतीय बजारबाट खरिद गरी मधेस हुँदै पहाडी जिल्लामा पुर्याउने गरेको छ। पहाडी जिल्लामा लागूऔषधको बढी रुपैयाँमा खरिद बिक्री हुने गरेकाले तस्कर यो कारोबार त्यहाँसम्म पुर्याउने गरेका छन्। पारी (भारत), मधेस र पहाडका युवाको त्रिकोणात्मक सञ्जालले लागूऔषधको कारोबार फैलाइरहेको पाइएको छ। एउटा समूह पारीबाट वारीको सहरसम्म पुर्याउने, अर्को समूह यहाँबाट पहाडी जिल्लाको सहरसम्म पुर्याउने र तेस्रो समूह काठमाडौं लगायतका ठूला सहरसम्म लागूऔषध पुर्याउने गरेको प्रहरीको भनाइ छ।
उदयपुरको कटारी, गाइघाटदेखि ओखलढुंगासम्मका युवा लागूऔषध सेवन गर्न सीमापारीको बजारसम्म धाउन थालेको प्रहरी रेकर्डबाट देखिन्छ। उनीहरू बन्दीपुरको कमला बाँध हुँदै भारतको सीमावर्ती जयनगर, चोहर्वा–सिरहा–माडर हुँदै भारतको सीमावर्ती जयनगर, लहान–भगवानपुर–ठाडी हुँदै भारतको सीमावर्ती लौकाहा, जिरोमाइल–सुखीपुर–बरियारपट्टी हुँदै भारतको सीमावर्ती लदनीया बजार पुगेर लागूऔषध सेवन गर्ने र बोकेर ल्याउने गरेको पाइएको छ।
सिरहा प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहराका अनुसार गत आव ०७५÷०७६ मा लागूऔषधसहित १३८ जना पक्राउ परेका छन्। जसमा १२१ जनामाथि मुद्दा चलाइएको छ। ६० जना कारागार चलान भएका छन्। ‘क्यास कारोबार’ हुने भएकाले यसको सञ्जाल संगठित रूपमै फैलँदै गएको सुरक्षा अधिकारी बताउँछन्। लागूऔषध कारोबारीको सञ्जाल भत्काउन प्रहरी लागि परेको बोहराले बताए। ‘सिरहा प्रहरीले अहिले सेवनकर्ताको प्रोफाइल तयार गर्दैछ’, उनले भने, ‘४०÷५० जना पुगेपछि अभिभावक र सेवनकर्ताबीच सचेत गराउने कार्य गर्छौं।’