चंगा पाएपछि मात्रै दसैं आए जस्तो लाग्थ्यो
मेरो जन्म काठमाडौंको बत्तीसपुतलीमा भएको हो । हाम्रो पुर्ख्र्यौली थलो पहिले गुल्मी र पछि अर्घाखाँची रहेछ । हाम्रो टण्डन परिवार राणा प्रधानमन्त्री जंगबहादुरकै पालामा काठमाडौं आएको हो । जंगबहादुरले दोस्रो विवाह टण्डनकी छोरी अर्थात् हाम्रै परिवारकी चेलीसँग गरेका रहेछन् । त्यसपछि हाम्रा पुर्खालाई जंगबहादुरले नै यता ल्याएका रहेछन् । बत्तीसपुतलीको राम मन्दिर पनि हाम्र्रै पुर्खाले बनाउनु भएको हो । यहाँको गुठी नेपालकै प्रसिद्धमध्येमा पर्छ ।
पछि हजुरबुवाहरूले अर्घाखाँचीको जग्गा बेचेर हेटौंडामा किन्नुभएछ । हामी अहिले पनि वर्षमा ६, ७ पटक हेटौंडा जान्छौं । त्यहाँको स्थानीय चामल र तामा हाम्रा घरमा पहिल्यैदेखि प्रसिद्ध छ । हामी सानो छँदा धोबीखोलाको सङ्लो पानीमा असला माछा समाउन जान्थ्यौं । पौडिन नजानेर वाग्मतीले झन्डै बगाएको सम्झना आजसम्म पनि ताजै छ । साथीहरू मिलेर गुच्चा खेल्थ्यौं, फुटबल, ब्याडमिन्टन, जिम्न्यास्टिक पनि खेल्थ्यौं । त्यसबेला बत्तीसपुतलीमा जताततै खुला थियो । घरहरू केही मात्र थिए । खेल्नलाई सजिलो थियो । हामी वनकाली, सिफलको चौरतिर पनि पुग्थ्यौं । त्यसबेला डन्डीबियो खेल्दा भाइको निधारमा लागेको खत आज पनि छँदैछ । फलफूल हिजोआज जस्तो पाइँदैनथ्यो । बिरामी हुँदा मात्रै पाइन्थ्यो ।
हाम्रो पालामा स्कुलहरू सीमित मात्र थिए । आजको जस्तो छानीछानी कहाँ पाइन्थ्यो र ? मेरो अक्षरारम्भ श्रीपञ्चमीको साइतमा घरैमा बुवाबाट भयो । त्यसपछि पशुपतिस्थित शारदा माविमा केही महिना पढेँ । अनि रत्नराज्यमा एक वर्ष जति पढेर डिल्लीबजारस्थित विजय स्मारक माविबाट सात कक्षा पास
गरेँ । त्यसपछि पद्मोदय हाइस्कुलबाट एसएलसी पास गरें ।
त्यसबेला होटल लजहरू प्रायः थिएनन् । हाम्रा घरमा साधुसन्तहरू बास बस्न आइरहन्थे । बुवा पनि ज्ञानी सन्तहरूलाई घरमा ल्याउनु हुन्थ्यो । मैले त्यसैबेला स्वामी प्रपन्नाचार्य योगी नरहरिनाथ, आदिसँग भेट गर्ने मौका पाएँ । उहाँहरूबाट मनुष्य जीवनको महत्व थाहा पाएँ ।
बाल्यकालको एउटा घटनाले मेरो जीवनमा धेरै प्रभाव पारेको छ । हाम्रो टोलको एक छाप्रोमा अचानक आगलागी भयो । त्यस घटनापछि सबैजना रमिते मात्रै देखिए । सहयोगमा कोही पनि जुटेनन् । यसैबेला मैले साथीभाइको अगुवाइ गरी चन्दा संकलन गरेँ । करिब ३५ सय बटुलेर पीडित परिवारलाई बाँड्न पाउँदा भएको खुसीको वर्णन यहाँ गर्न सक्दिनँ । त्यही पैसाले पहिलेभन्दा राम्रो छाप्रो तयार भयो । यसले मलाई सामाजिक सेवामा लाग्न प्रेरणा दियो ।
बाल्यकालमा रेडियो नेपालको बालकार्यक्रममा कविता, निबन्ध सुनाउन पाउँदा औधी रमाइलो हुन्थ्यो । त्रिचन्द्र कलेजमा पढ्दाताका सबै कलेजमा ड्रेस अनिवार्य गरिएको थियो तर कतिपयले विरोध गरिरहेका थिए । यहीबेला ‘ड्रेसले विद्यार्थीलाई अनुशासनमा राख्छ, विद्यार्थी बाहिर भएको थाहा हुन्छ’ भन्ने आसयको पत्र गोरखापत्रका सम्पादकलाई लेखेँ । त्यो छापिएपछि झन् खुसीको सीमा रहेन । मैले महेन्द्ररत्न कलेजबाट आईए र त्रिचन्द्रबाट स्नातक गरेँ । त्रिविबाट स्नातकोत्तर नसक्दै सहायक प्राध्यापकको हैसियतमा प्राध्यापन पनि सुरु गरँं । स्नातकोत्तरमा पशुपतिको बारेमा अध्ययन गरेको थिएँ तर खासै चित्त बुझेको थिएन ।
हाम्रो पालामा राष्ट्रिय विकास कार्यक्रम लागू थियो । स्नातकोत्तर गर्दागर्दै काम गर्न गाउँमा जानुपथ्र्यो । मलाई धनकुटा खटाइयो । त्यहाँ महामारी फैलिएकाले हामी सबै फिर्ता आयौं । त्यसपछि केही समय पाल्पा तानसेनको मदनपोखरामा पढाएँ । अनि बराङ्दीमा ६ महिना काम गरें । त्यहाँ मैले गाउँ बुझ्न पाएँ, विकास निर्माणबारे बुझ्न पाएँ । मलाई अहिले पनि नेपालको विकासका लागि उक्त राविसे कार्यक्रम आवश्यक छ भन्ने लागिरहन्छ । त्यहीबेला पाल्पाबाटै पठाएको लेख पनि गोरखापत्रमा छापिएपछि ममा लेख्ने प्रेरणा मिलिरह्यो ।
पशुपतिको अध्ययनमा सन्तुष्टि मिलेको थिएन । त्यही विषयमा पीएचडी गर्न मन थियो तर सहज भने थिएन । आवश्यक अध्ययन सामग्री न त गुठी संस्थानले दिन्थ्यो न त पशुपति प्रांगणमा गएर पढ्नै पाइन्थ्यो । एक दिन राजा वीरेन्द्रसँगको गोकर्णमा भएको सामूहिक भेटमा मैले आफ्नो रुचि बिन्ती गरेँ । तत्कालै उहाँले आफ्ना स्वकीय सचिवलाई सहयोग गर्न आदेश दिनुभयो । त्यसपछि सबैबाट सहयोग पाउन थालेँ । अनि पशुपतिका मूल भट्ट पनि त्यति कठोर भएनन् ।
२०४३ सालमा पशुपति क्षेत्र विकास कोष गठन भएपछि मैले कोषाध्यक्षको नियुक्ति पाएँ । त्यो समय सिकाइका लागि महत्वपूर्ण रह्यो । धेरै कुरा सिक्ने मौका पाएँ । कोषको अध्यक्ष रानी ऐश्वर्य हुनुहुन्थ्यो । उहाँले पनि आफूसँग भएको फाइल पठाइदिनुभयो । यसले मलाई अध्ययनमा ठुलो सहयोग पुग्यो ।
मेरो थेसिस त्रिविमा बुझाइएको आजसम्मकै ठूलोमध्येमा पर्छ । त्यसबेला ए फोर पेपरमा २८ सय पेज बुझाइएको थिएँ । पछि त्यो ‘पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन’ नामबाट २०५३ सालमा पहिलो र २०५६ सालमा दोस्रो खण्ड निस्कियो । यसले पशुपतिकाबारे जान्न खोज्ने जो कसैलाई पनि सहयोग पुगेको छ । यो किताबलाई अंग्रेजीमा अनुवाद गर्ने राजा वीरेन्दको धोको भने अझै पूरा भएको छैन । मेरा संस्कृति विषयमा लेखिएका दर्जनौ कृति प्रकाशित छन् । पछि फेरि अघिल्लो पटक सदस्यसचिव भएको २७ वर्षपछि २०७० सालमा पुनः सोही पदमा नियुक्ति पाएँ । पशुपति क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्छ भन्नेमा मेरो जोड छँदैछ ।
हामीले सफल बन्ने भन्दा पनि असल बन्ने कुरामा जोड दिनुपर्ने रहेछ । जीवनमा धेरै व्यक्ति सफल हुन्छन् तर असल हुँदैनन् । असल व्यक्तिको सफलता मात्रै काम लाग्दो हुने रहेछ । सबै जना असल भएको भए हाम्रो यति सुन्दर देश आज यो अवस्थामा पक्कै रहने थिएन । हामीले कुनै पनि काम फरक ढंगले गर्नुपर्छ । उत्पादनशील काममा मात्रै समय खर्च गर्नुपर्छ ।
सकारात्मक सोचले मात्र मानिसलाई अगाडि बढाउँछ । हाम्रा जीवित देउता भनेकै आमाबुवा हुनुहुन्छ । उहाँहरूलगायत अग्रजहरूका सल्लाह पनि सुन्न अनिवार्य छ । आफैंमा सुख शान्ति ल्याउन सके मात्रै समाज र देशका लागि केही गर्न सकिने रहेछ ।
हामीले सधैं उदाहरणीय बन्न जोड गर्नुपर्छ । कहिलेकाहीँ असफल हुँदैमा चिन्ता गर्नु हुँदैन बरु यसबाट पाठ सिक्नुपर्छ । जीवनमा आरोह अवरोहलाई जित्न सके मात्रै सफलता हात लाग्न सक्छ ।
(संस्कृतिविद् डा. टण्डनसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित ।)