कर्मचारीसँग रुष्ट मन्त्री : बच्चा लिने वहानामा ३ बजे नै हिँड्छन्
काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कुनै पनि कर्मचारीलाई विशेष प्राथमिकता नदिने बताएका छन् ।
ट्रेड युनियनले विषेश सुविधा खोजेको बताउँदै आफूले नदिने जिकिर गरेका छन् । 'ग्रेस कसैलाई हुँदैन, न ट्रेड युनियन न स्कुल लिन जानु छ भनेर कुनै महिला कर्मचारीलाई,' उनले थपे, ‘तीनै बजे स्कुलमा बच्चा लिन जानु छ भनेर हिँड्छन्, त्यो छुट म दिँदै दिन्न ।’
मन्त्री पण्डितले कर्मचारी प्रशासनमा पद्दत्ति बसाउन लागेको बताउँदै आफु कठोर हुने बताएका थिए । उनले भनेका छन्, ‘अनुहार हेर्ने हो भने, सिस्टम चल्दैन, व्यक्ति व्यक्ति अनुहार हेर्न थाल्यो केही काम नै हुँदैन ।’
छुटका नाममा कर्मचारी मनपरी गर्ने गरेको पनि उनको भनाइ छ । कर्मचारीले समायोजनमा जान बहाना गर्दै विरामी भएको 'नाटक' गरेको आरोप पनि मन्त्री पण्डीतको छ । उनले भने, ‘कडा रोग लाग्यो भनेर ८५० कर्मचारीले निवेदन दिए, डाक्टरबाट प्रमाणित गराएर ल्याए, तर यसो समायोजनमा नजानको लागि यसो गरेका हुन् ।'
कर्मचारीको संख्या घटाउने
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डितले निजामति कर्मचारीको सख्या घटाउने बताएका छन् । नेपाल जन प्रशासन संघले आयोजना गरेको छलफलमा मन्त्री पण्डीतले विश्वको परिवेशमा १ : ३.७ कर्मचारी रहेको बताए । 'जनशक्ति छ भनेर कसैले भन्दैन, तर विश्वको अनुपातमा धेरै जनशक्ति हामी कहाँ छ, यो मैले होइन अध्ययनबाट थाहा भएको हो,’ उनले कर्मचारी संख्या आवश्यक साइजमा ल्याउने पनि बताए ।
लगानी अनुसार प्रतिफल नदिएका कारण कर्मचारी संख्या घटाउनुको विकल्प नरहेको उनको भनाइ छ । 'लगानी छ, प्रतिफल छैन, प्रतिफल ल्याउनकै लागि साइजमा ल्याउनु पर्छ,’ उनले भने ।