म्यान पावर व्यवसायीको चुनावमा सत्तापक्ष-प्रतिपक्ष भिडन्त
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । मंगलबार हुने २७औं साधारणसभा नयाँ नेतृत्व चयन गर्नेछ । संघको नयाँ नेतृत्वका लागि नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका तर्फबाट सरोजकुमार पोखरेल नेतृत्वको प्यानल र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट विष्णुप्रसाद गैरेको 'प्यानल चुनावी मैदानमा छन् ।
नेकपा समर्थक पोखरेल र नेपाली कांग्रेस समर्थक गैरे समूह प्यानल बनाएर चुनावी मैदानमा होमिएका हुन् । दुवै पक्षबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।६५८ जना वैदेशिक रोजगार व्यवसायीले मतदान गर्नेछन् ।
नेतृत्व आफ्नो पक्षमा पार्नका लागि पोखरेल र गैरे समूह व्यवयारीलाई आफ्नो पक्षमा पार्न सक्दो प्रयास गरिरहेका छन् । दुवै समूहले अब वैदेशिक रोजगार व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाई सम्पूर्ण व्यवसायीको पेशागत हकहितको सुरक्षाका साथै कामदारको हकहितमा सरकारसँग सहकार्य गर्ने प्रतिवद्वता जनाएका छन् ।
नेपाली कांग्रेस समर्थक गैरे समूह
सरकारले पछिल्लो समय मेनपावर कम्पनीको धरौटी रकम बढाएर मर्जरको प्रक्रियामा गएपछि ८५४ मेनपावर कम्पनी छन् । ती मध्ये पनि १९६ कम्पनीले मतदाता प्रतिनिधिका नाम नपठाएको निर्वाचन परिचालन समितिले जनाएको छ । झण्डै १५ सयको हारहारीमा रहेका म्यानपावर धरौटी वृद्विसँगै साढे ८ सयको हारहारीमा झरेका हुन् । प्रमुख निर्वाचन अधिकृत टंक राउतका अनुसार उद्घाटन सत्रपछि नेतृत्व चयनका लागि चुनाव हुनेछ । अध्यक्षका प्रत्यासी उम्मेदवार पोखरेल नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव तथा प्रगतिशिल मञ्चका संस्थापक अध्यक्ष हुन भने उनका प्रत्यासी अध्यक्षका उम्मेदवार गैरे फोरमका अध्यक्ष हुन् ।
पोखरेल समूहबाट संघको प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिवमा रामचन्द्र गिरी, सचिवमा सञ्जु गुरूङ र कोषाध्यक्षमा तेजमाया लिम्बु (तेजु)ले उम्मेदवारी दिएका छन् । त्यसैगरी सदस्यमा होमप्रसाद तिमिल्सिना, दलवीर भण्डारी, ओमबहादुर न्यौपाने, सरिता घले, सोमबहादुर तामाङ, बाबुराम खड्का, नुर महोम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी र वीरेन्द्रकुमार यादवले उम्मेदवारी दिएका छन् ।
गैरे समूहबाट प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङले उम्मेदवारी दिएका छन् । अन्य सदस्यहरूमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जंगबहादुर इजम र लक्ष्मण पौडेलले उम्मेदवारी दिएका छन् ।