आमा बचाइदिन छोरीको हारगुहार
मुगु : छाँयानाथा रारा नगरपालिका १२ की सरिता बुढाले मृगौला पीडित आफ्नी आमालाई बचाइन सहयोगको अपिल गरेकी छिन्।दुवै मृगौला फेल भएर चार वर्षदेखि सरिताकी आमा ४६ वर्षीया जानदेवी बुढा उपचाररत छिन्।
उनले आर्थिक अभावमा मृगौला प्रत्यारोपण गर्न नसक्दा सहयोग गरी आमाको ज्यान बचाई दिन आग्रह गरेकी हुन्। विगत चार वर्षदेखि उनी काठमाडौंको बनस्थलीमा रहेको मृगौला केन्द्रमा डायलसिस गर्दै आएकी छिन।
उनले हप्तामा तीन पटक डायलसिस गर्नुपर्छ। एकपटकको तीन हजार रुपैयाँ तिर्नुपर्छ। एक वर्षदेखि अस्पतालले निशुल्क डायललिस गर्दै आएको भएपनि औषधिलगायत अन्य सामग्री किन्नुपर्दा रकम अभाव भएको छ।
अहिलेसम्म उपचारका क्रममा ३० देखि ३५ लाख खर्च भइसकेको छ। कहिलेकाही एउटा सिरिन्ज किन्ने पैसा समेत नहुने सरिताले बताइन्।उनले भनिन्,' कमाउने कोही छैन। गाउँ घरको जग्गाजमिन राखेर ऋण सापटी लिने ठाउँ छैन।'
उपचारका लागि उनी काठमाडौंमा भाडाको कोठामा बस्दै आएकी छिन्। महिनाको ६ हजार कोठाभाडा तिर्नुपर्छ। बाबाले आफ्नो मृगौला दिन तयार भएपनि अस्पतालमा लाग्ने खर्च नहुँदा आमाको उपचार हुन नसकेको जानदेवीकी छोरी सरिता बुढाले दुखेसो पोखिइन्।
पत्नीलाई मृगौला दिन तयार भएपनि अस्पतालमा मृगौला प्रत्यारोपण गर्दा लाग्ने खर्च अभावका कारण थप उपचार गर्न नसकिएको बुढाका श्रीमान जंगबहादुर बुढाले दुखेसो पोखे। उनले उनले भने,' पत्नीको ज्यान मृत्युको दोसाधमा रहेकाले आर्थिक सहयोग गरी ज्यान बचाइदिनुहोला।'