मुस्ताङमा भीरबाट लडेर १३ च्याङ्ग्रा मरे, २२ च्याङ्ग्रा घाइते
जोमसोम : दसैंका लागि बिक्री गर्न जोमसोमतर्फ झारिएका १३ च्याङ्ग्रा मंगलबार साँझ भीरबाट लडेर मरेको छ। २२ च्याङ्ग्रासमेत घाइते भएको गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले जानकारी दिए।
च्याङ्ग्राका धनी मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ४ घाराका हुन्। गाउँबाट जोमसोम ल्याउने क्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पान्डाखोला नजिकको पाखो भीरबाट खसेर लडी मरेको सांसद बिष्टले बताए।
वारागुङको पान्डा खोलास्थित उक्त पाखोमा दिनभरी चरनक्षेत्रमा चराएर सदरमुकाम जोमसोमतर्फ ल्याउने क्रममा भीरको नजिक खोच परेकाले फर्काउने क्रममा च्याङ्ग्रा दच्किएर मर्न पुगेको हो। सांसद बिष्टका अनुसार व्यापारीलाई करिव २ सय ४० गोटा रहेको च्याङ्गा हुलबाट च्याङ्ग्रा लडेर मर्दा करिब ४ लाख बराबरको क्षति भएको उनले बताए।
मुस्ताङकै स्थानीय व्यापारीको च्याङ्गा मरेकोमा सांसद विष्टले दुःख व्यक्त गरे। व्यापारीले क्षतिपूर्तिको राहत उपलब्ध गराइदिनसमेत माग गरेका छन्। चाड पर्वलाई लक्षित गरी नाफा कमाउने आशामा च्याङ्ग्रा व्यापार गर्न जोमसोमतर्फ आउन लागेका थिए। स्थानीय व्यापारीले ल्याएका च्याङ्ग्रा जिल्ला बाहिरका व्यापारीलाई जोमसोममा बिक्री गर्ने गर्छन्।