कानुन मन्त्रालयमा थन्किएका ९ वटा गाडी प्रहरीलाई हस्तान्तरण
धनगढी : सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरीलाई गाडी हस्तान्तरण गरेको छ । प्रदेश प्रहरी ऐन नबन्दै खरिद गरेका गाडी बुधबार आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणिप्रसाद लम्साललाई गाडी हस्तान्तरण गरेका हुन्।
उनले प्रदेशका ९ जिल्ला प्रहरीका लागि ९ वटा गाडीको साँचो हस्तान्तरण गरे। हतारमा खरिद गरेका गाडी अघिल्लो आर्थिक वर्षमै खरिद गरेपनि प्रदेश प्रहरी ऐन नबन्दा थन्किएका थिए।
असोज ७ गते मन्त्रीपरिषद् बैठकले प्रदेश प्रहरीलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो।आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७५÷०७६ मा ३ करोड ३२ लाख ९१ हजारका टाटा कम्पनीका ९ गाडी खरिद गरेको थियो । प्रतिगाडी ३६ लाख ९९ हजारका दरले खरिद गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश प्रहरीको लागि भनेर खरिद गरिएको गाडी प्रदेश प्रहरी गठन हुन ढिलाइ हुने भएपछि ९ वटै जिल्लामा हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले बताए ।'प्रहरीलाई अपराध अनुसन्धान गर्न थप मजबुत पार्न गाडी खरिद गरेको हो,' मन्त्री शाहले भने, 'केही कानुनी अड्चनका कारण गाडी हस्तान्तरणमा ढिलाई भएको हो।'