चाडपर्व लक्षित सुरक्षा योजना : ललितपुरमा हजार सुरक्षाकर्मी तयार
ललितपुर : चाडपर्वलाई लक्षित गर्दै ललितपुरमा करिब हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। महानगरीय प्रहरी परिसर जाउलाखेलले आफ्ना क्षेत्रमा कुनै अप्रिय घटना नघटोस् भनेर प्रहरी खटाइसकेको जानकारी दिएको छ।
परिसरका प्रमुख टेकप्रसाद राईका अनुसार यो बेला अन्य समयमाभन्दा चुस्त सेवा दिने योजना रहेको छ। जसका लागि विभिन्न तरिकाले सुरक्षाकर्मी खटाइएका छन्।
‘काठमाडौं र भक्तपुरसँग जोडिएका सीमामा सुरक्षा कडाई गर्ने योजना छ। जसका लागि ९५ जना प्रहरी खटिएका छन्’, राईले भने, ‘कुनै घटना घटेमा पाँचदेखि दश मिनेटभित्र प्रहरी पुर्याउने योजना छ।’
प्रहरी प्रभाग, इकाई, वृत्तमा आफ्ना कार्यक्षेत्रभित्र के–के छन् सम्पूर्ण जानकारी राखेर सुरक्षा दिन निर्देशन गरिसकेको छ। शहरी क्षेत्रमा मात्र होइन चापागाउँ, सुनाकोठी, लेले, टीका–भैरवलगायत दक्षिण भेगमा पनि चनाखो भएर सुरक्षा दिने प्रहरीको योजना रहेको राईको भनाइ छ।
जसका लागि पैदल गस्ती, मोबाइल गस्ती, साइकल गस्ती तथा मोटरसाइकल गस्ती हुनेछन्। चुस्त सेवाका लागि क्षेत्र विभाजन गरेर कामको बाँडफाँड भइसकेको राईले जनाए।
‘कसले कहाँ ड्युटी गर्ने निर्देशन भइसकेकोे छ’, उनले भने, ‘चोरी, लुटपाट, बढी भाडा असुल्ने, जुवातास, आतिसवाजी, मापसे गर्न नदिने प्रहरीको योजनामा छ। सादा पोशाकमा प्रहरी सुराकी परिचालन गरेर सम्भावित घटनाहरुको पूर्वजानकारी लिने प्रयास गरिरहेको छ।
विषेशगरी बजार, वित्तीय संस्था, एटीएम रहेका स्थान, सार्वजनिक स्थल, पाटीपौवा, मठमन्दिर, पार्क, खेलमैदान, बाटोघाटो सबैतिर सुरक्षा चुस्त बनाइनेछ।
निर्वाध सवारी आवागमन तथा दुर्घटना नहोस् भनेर चक्रपथ तथा अन्य सडकलगायत सबै ठाउँमा आकस्मिक चेकजाँच हुने प्रहरीले जनाएको छ।
प्रहरी र नागरिकको सहज पहुँचका लागि नागरिक सहायता कक्ष खडा गरिनेछ।