‘हजारीमल धर्मशालाको जग्गा कब्जा गर्ने चलखेल’
वीरगन्ज : वीरगन्ज महानगरको मुख्य व्यापारिक केन्द्र आदर्शनगर चोकमै अवस्थित हजारीमल धर्मशालाको जग्गा, भूमाफियाले कब्जा गरी विक्री गर्ने चलखेल भइरहेको राजपा नेपालले आरोप लगाएको छ।
सार्वजनिक सम्पतिका रूपमा रहेको सय वर्षभन्दा पुरानो हजारीमल धर्मशालाको ६ कठ्ठा जग्गा, भूमाफियाले विक्री गर्ने चलेखेल गरेको र त्यसमा महानगरका प्रमुख र स्थानीय प्रशासनले पनि साथ दिएको राजपाको आरोप छ।
बुधबार हजारीमल धर्मशाला अगाडि नै पत्रकार सम्मेलन गरेर राजपाका नेताले यस्तो आरोप लगाएका हुन्। झण्डै ६० करोड रुपैयाँ मूल्य पर्ने जग्गा कब्जा गर्ने नियतले भूमाफियाले गत माघमा धर्मशालाको जीर्ण भवन भत्काउन सुरु गरे लगत्तै कांग्रेसले धर्मशालाको जग्गा संरक्षणको माग गर्दै वीरगन्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको थियो।
त्यसपछि गत जेठ २९ गते कांग्रेस , नेकपा , राजपा र समाजवादी पार्टीले पनि संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै जग्गाको संरक्षणका लागि आग्रह गरेका थिए।
धर्मशालाको जग्गा संरक्षणमा महानगरपालिका र स्थानीय प्रशासन दुवैले ध्यान नदिएको भन्दै राजपाले बुधबार फेरि पत्रकार सम्मेलन गरेर सार्वजनिक सम्पत्ति संरक्षणको लागि सम्बन्धित निकायसँग आग्रह गरेको हो।
‘नगर प्रमुखकै चलखेल’
पत्रकार सम्मेलनमा राजपा महासचिव राजेशमान सिंहले झण्डै ६० करोड रुपैयाँ मूल्य पर्ने हजारीमल धर्मशालाको जग्गा, वीरगन्ज महानगरका नगर प्रमुख विजय सरावगीले आफ्ना नातेदार रामकृष्ण अग्रवाल अध्यक्ष रहेको ट्रष्टको नाममा गराएर त्यहाँ व्यपारिक केन्द्र (मल) निर्माण गर्ने चलखेल गरिरहेको आरोप लगाए।
व्यपारिक मल निर्माण गर्नकै लागि धर्मशालाको जीर्ण भवन भत्काएर जग्गा खाली गराइएको सिंहले बताए।
राणाकालमा नेपालमा रेशमको धागोको व्यपार गर्ने भारतीय नागरिक हजारीमल माडवारीले आफ्नै नाममा हजारीमल धर्मशालाको निर्माण गरेका थिए।
त्यसबेला तत्कालीन राणा शासकले हजारीमल माडवारी र उनका जेठा छोरा बोइतराम माडवारी दुवैलाई देश निकाला गरेका थिए।
बाउ छोरा दुवैलाई हजारीमल माडवारीको नाममा रहेको धर्मशाला सहितको जायजेथा स्वतः नेपाल सरकारको स्वामित्वमा आउनुपर्ने देखिए पनि उक्त जग्गा अझैसम्म नेपाल सरकारको स्वामित्वमा आएको छैन। हजारीमल धर्मशालाको जग्गा हडप्न २०४३ सालदेखि चलखेल भएको भन्दै पत्रकार सम्मेलनमा महासचिव सिंहले त्यससँग सम्बन्धित विभिन्न प्रमाण भएका कागजातहरू सार्वजनिक पनि गरे।
सिंहका अनुसार , बोइतराम मारवाडीका जेठा छोरा ईश्वरीप्रसादले २०३४ सालमै आफ्ना बुबाको मृत्यु भएको र आफनो अरू कोही दाजुभाइ नरहेका दाबी गर्दै आफू एक जना मात्रै बोइतरामको वारिस भएको दाबी गर्दै २०५८ साउन ७ गते तत्कालीन वीरगन्ज नगरपालिकाबाट नाता प्रमाणित गराई अदालत र मालपोतमा मुद्दा प्रकृया अगाडि बढाएर हजारीमल धर्मशालाको जग्गा कब्जा गर्ने जालसाजी सुरु गरेका थिए।
जबकी बोइतरामका दुई छोरा छन्। जेठा छोरा ईश्वरीप्रसाद र कान्छा छोरा लक्ष्मणप्रसाद। तर, जेठा छोरा ईश्वरीप्रसादले २०३४ सालमै बुबा बोइतरामको मृत्युको प्रमाणित गराएका थिए।
तर, बोइतराम स्वयंमले २०४६ मंसिर २६ गते मालपोत कार्यालय वीरगन्जमा उपस्थित भई अच्छेलाल साह कानुलाई हजारीमल धर्मशालाको नाममा भएको जग्गा राजीनामा पास गरिदिएपछि , जग्गा कब्जा गर्ने बोइतरामको जालसाजीको रहस्य त्यस बेला नै उजागर भएको राजपाका महासचिव सिंहले बताए।
जग्गा हत्याउन हजारीमलका दुई सन्तानले एकअर्कोलाई मुद्दा दिने र भित्रि रूपमा जग्गा हत्याउँने योजना निरन्तर चलिरहेका बेला, हजारीमलका नाता पर्ने नगर प्रमुख सरावगीका आफन्त रामकृष्ण अग्रवालको नाममा २०६४ सालमा हजारीमल सेवा ट्रष्ट खडा गरी त्यही ट्रष्टकै अधिनमा हजारीमलको जग्गा ल्याइएको प्रमाण पनि पत्रकार सम्मेलनमा सिंहले सार्वजनिक गरे।
रामकृष्ण अग्रवाल भारतीय नागरिक हुन्। तत्कालीन अवस्थामा अग्रवालले कलकत्तास्थित भारतीय दुतावास मार्फत् आफू भारतीय नागरिक भएको प्रमाण सिफारिस गराई नेपाल सरकारको विभिन्न निकायमा बुझाएका थिए। उनको २०७० सालमा मृत्यु भएको थियो।
बुधबारको पत्रकार सम्मेलनमा प्रश्न गर्दै राजपा महासचिव सिंहले भने ,‘ अग्रवाल भारतीय नागरिक हुदाँ–हँुदै पनि जिल्ला प्रशासन कार्यालय पर्सामा कसरी उनको नाममा ट्रष्ट दर्ता गरियो ? अनि अध्यक्ष भनिएका अग्रवालको २०७० सालमा मृत्यु भइसकेपछि पनि जिल्ला प्रशासन कार्यालयबाट ट्रष्टको नविकरण भइरहेको छ, यदि ट्रष्टकै जग्गा हो भने आजसम्म उक्त जग्गाको मालपोत कर किन तिरिएको छैन ?’
नगर प्रमुख भन्छन्– मलाई मतलब छैन
वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय सरावगीले भने हजारीमल धर्मशालाको विषयलाइ लिएर आफूमाथि लगाइएको आरोप निराधार रहेको बताए।
उनले भने ,‘ हजारीमल धर्मशालासँग व्याक्तिगत रूपमा मेरो कुनै लेनदेन छैन , जसले जे आरोप लगाए पनि मलाई त्यसमा भन्नु केही छैन , हजारी मल धर्मशालाको जग्गााको प्रमाण खोज्नेहरूले अदालत गए हुन्छ।’