अभियुक्त पक्राउको माग गर्दै अदालत अगाडि प्रदर्शन
विराटनगर : कुटपिटबाट मृत्यु भएको घटनामा फरार अभियुक्तलाई कानुनी दायरमा ल्याउनुपर्ने माग गर्दै मोरङ जिल्ला अदालत अगाडी प्रर्दशन भएको छ । जनप्रतिनिधिको रहोवरमा भएको कुटपिटबाट विराटनगर १४ का सेमानन्द यादवको मृत्यु भएको थियो।
यादवको मृत्यु भएपछि हत्या आरोपमा फरार रहेका तीनजना वडाध्यक्षसहित १० जना अभियुक्त पक्राउको माग गर्दै पीडितले जिल्ला अदालत मोरङ अगाडि प्रर्दशन गरेका हुन् । पीडितले जनप्रतिनिधि गुण्डागर्दी अन्त्य गर , दोषीलाई कारवाही गर लगायतका नारा लगाएर दिनभर प्रदर्शन गरे।प्ले कार्डसहित बोकेका उनीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
विवाहको विषयमा भएको कुटपिटमा घाइते भएका व्यक्तिको मृत्यु भएपछि फारार भएका विराटनगर महानगरपालिकाका २ जना र जहदा गाउँपालिकाका १ जना वडाअध्यक्षसहित १० जना फरार अभियुक्तमध्ये भदौ १८ गते एकजनाले प्रहरीसमक्ष आत्मसम्र्पण गरेका थिए।
जोगीलाल यादवका २७ वर्षीय छोरा दीपेश कुमार यादवले जिल्ला प्रहरी कार्यालय मोरङमा आत्मसम्र्पण गरेका हुन्। दिपेशले आत्मसम्र्पण गरेपछि मोरङ प्रहरीले आवश्यक अनुसन्धान गरेर बिहीबार सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको छ ।
प्रहरीले मिसिल बुझाउने वित्तिकै आत्मसम्पर्ण गरेका यादव छुट्ने आशंकामा पीडितपक्षले प्रदर्शन गरेको बताए। मृतका छोरा राजेश यादवले गाउँभरी बिहीबार छुट्दैछ भनेर हाल्ला फैलाएपछि आफूहरु न्यायका लागि प्रदर्शन गरेको बताए।
विवाहको विषयलाई लिएर गत जेठ ३२ गते भएको छलफलका क्रममा कुटपिट हुँदा घाइते भएका विराटनगर-१४ का ५५ वर्षीय सेमानन्द यादवको उपचारका क्रममा २७ असार बिहान विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको थियो ।
यादवको मृत्युपछि विराटनगर महानगरपालिका १४ का वडाध्यक्ष बलदेव यादव, १८ का अध्यक्ष सञ्जय शाह र जहदा गाउँपालिका-१ का वडाध्यक्ष प्रदीपचन्द यादवसहित १० जना आरोपीविरुद्ध मोरङ प्रहरीले कर्तव्य ज्यान अपराधमा मुद्दा दर्ता गराएको छ।
मुद्दा दर्ता भएलगत्तै फरार रहेका उनीहरू अझै फेला परेका छैनन् ।फरार रहनेमा अध्यक्ष बलदेवका छोरा रवीन, भतिज दीपेश, विराटनगर-१८ का भोला यादव, विन्धेश्वर यादव, विरेशकुमार यादव, भोलु यादव, प्रदीप यादव, विराटनगर १४ का विजय भनिने शम्भु , विरेश कुमार यादव, दिनेशप्रसाद साहलगायत छन् ।