थन्किएका जहाजको पार्किङ शुल्क करोडौं

थन्किएका जहाजको पार्किङ शुल्क करोडौं

काठमाडौं : नेपाल वायुसेवा निगमका १४ मध्ये ८ जहाज ‘ग्राउन्डेड’ छन्। तिनको प्रयोगहीनता त छँदैछ, विमानस्थलमा थन्किएबापत तिर्नुपर्ने शुल्क निकै महँगो पर्छ। वाइडबडी जहाज थन्किँदा पार्किङ शुल्क मात्र दिनको करिब दुई लाख रुपैयाँ तिर्नुपर्छ। एक साताभन्दा लामो समयदेखि एउटा वाइडबडी विमानस्थलमा छ।

त्यसले दैनिक १६ सय ९८ अमेरिकी डलर भाडा तिर्नुपर्छ। हालको विदेशी विनिमय दर ११३ रुपैयाँअनुसार यसले दैनिक १ लाख ९१ हजार ८७४ रुपैयाँ तिर्छ। ‘विमानस्थल सेवा शुल्क विनियमावली २०६७’ अनुसार कुनै पनि जहाजलाई तीन घण्टासम्म पार्किङ निःशुल्क गरिएको छ। त्यसपछि हरेक ६ घण्टामा एक पार्किङ हुन्छ। एक दिनलाई चार पार्किङ हिसाब गरेर नागरिक उड्डयन प्राधिकरणले दैनिक पार्किङ शुल्क तोक्छ। यो जहाजको तौलअनुसार लाग्छ।

निगमसँग एक वर्षदेखि ग्राउन्डेड एउटा बोइङ छ। १९० सिट क्षमताको बी७५७ एसीबी नामको यो जहाज २०७५ मंसिरदेखि ग्राउन्डेड छ। यसले पार्किङ शुल्क दैनिक ५५९.२० अमेरिकी डलर (६३ हजार १८९ रुपैयाँ) तिर्छ। यो मासिक करिब १८ लाख ९५ हजार हुन्छ। मंसिरयता १० महिनामा यसले १ करोड ८९ लाख ५६ हजार ८ सय ८० रुपैयाँ तिरिसकेको छ।

प्राधिकरणका अनुसार उडान अनुमति सकिएको जहाजका लागि २५ प्रतिशत मात्रै शुल्क लाग्छ। उडानयोग्य नभएको तथा निगमले बीबी एयरबेजलाई बिक्री गरेको अर्को बोइङ बी७५७ एसीएले भने त्यो सुविधा पाएको छ। यो जहाज चार वर्षदेखि ग्राउन्डेड छ। बीबीले किनेको यो जहाजको नामसारी भइसकेको छैन। निगमले यो जहाजको हाल दैनिक १७५ डलर (१७ हजार ७ सय ४१ रुपैयाँ) तिर्दै आएको छ। यस्तो शुल्क मासिक पाँच लाख ३२ हजार २३० रुपैयाँ हुने गरेको छ।

निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार हालसालै यो जहाजको डि रजिस्टे«सन भइसकेको छ। ‘अब यसको सम्पूर्ण दायित्व बीबीमै गएको छ। पार्किङ शुल्क पनि उसैले तिर्नेछ’, उनले भने।

प्राधिकरणले सम्बन्धित वायुसेवालाई बिल पठाएको ३० दिनभित्र यस्तो शुल्क तिर्नुपर्ने व्यवस्था नियमावलीले गरेको छ। शुल्क तिर्न विलम्ब गर्ने वायुसेवाको हकमा ४५ दिनसम्म पाँच प्रतिशत, ६० दिनसम्म १५ प्रतिशत र ९० दिनभन्दा ढिलो गर्ने कम्पनीबाट ३० प्रतिशत जरिबाना लाग्छ।

निगमको आन्तरिक उडानमा रहेको ट्विन अटरको भने प्रतिदिन २७.१२ डलर अर्थात् दैनिक ३ हजार ६४ रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्छ। यस्तो शुल्क जहाजको तौलअनुसार हुन्छ। निगमको चिनियाँ जहाज वाई १२ ट्विन अटरसरह प्रतिजहाज ६ हजार केजी छ। यो जहाज भूमिस्थ हुँदा दैनिक तीन हजार ६४ रुपैयाँ तिर्नुपर्ने हुन्छ। यस्तै निगमको एमए ६० नामक २२ केजीको चिनियाँ जहाजले भने प्रतिपार्किङ शुल्क २४.८७ डलरका दरले दैनिक ९९.४९ डलर (११ हजार २४१ रुपैयाँ) तिर्ने गरेको विमानस्थल कार्यालयको भनाइ छ।

ग्राउन्डेड जहाजको प्रतिदिन पार्किङ शुल्क

वाइडबडी – एक लाख ९१ हजार ८७४ रुपैयाँ

बोइङ – ६३ हजार १८९ रुपैयाँ

एमए ६०– ११ हजार २४१ रुपैयाँ

ट्विन अटर– तीन हजार ६४ रुपैयाँ

वाई १२– तीन हजार ६४ रुपैयाँ

स्रोत : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.