दुर्घटनामा ११९ वन्यजन्तु मारिए

दुर्घटनामा ११९ वन्यजन्तु मारिए

काठमाडौं : विगत एक वर्षमा संरक्षित क्षेत्रमा एक सय १९ वन्यजन्तु मारिएका छन्। राजमार्ग ओहोरदोहोर गर्दा सवारीसाधनको ठक्करबाट ती वन्यजन्तु मारिएका हुन्। अधिकांश वन्यजन्तु बाटो काट्ने क्रममा मारिने गरेको छ। आर्थिक वर्ष ०७४/७५ मा एक सय २४ वन्यजन्तुको सडक दुर्घटनामा मारिएका थिए। दैनिक हजारौं सवारीसाधन गुड्ने राजमार्ग क्षेत्र जनावर मैत्री नहुँदा बर्सेनि सयौं वन्यजन्तु मारिँदै आएका छन्। 

संरक्षित क्षेत्रमा पर्ने राजमार्गमा दुर्घटना कम गराउन टाइम कार्ड लागू गराए पनि दुर्घटनामा वन्यजन्तु मारिन भने कम हुन सकेको छैन। दुर्घटना मुख्य कारण सवारीचालकले तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए।

संरक्षित क्षेत्रमा दुर्घटना कम गराउन प्रतिघण्टा ४० किलोमिटर गती सवारी चलाउनुपर्ने कानुनी व्यवस्था छ। सवारी दुर्घटनाबाट वन्यजन्तुको मृत्यु हुन नदिन सुरक्षित सडक बनाउन ध्यान पुग्न सकेको छैन। रातको समयमा तीव्र गतिमा सवारी गुड्ने र रातको समयमा वन्यजन्तु सडक वारपार गर्ने भएकाले धेरै दुर्घटना हुने गरेको विज्ञहरुको भनाइ छ। 

पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा कोसीटप्पु वन्यजन्तु आरक्षणसँगै पूर्वपश्चिम राजमार्ग जोडिएको छ। यसबाहेक अन्य क्षेत्रमा साना सडक छन्। 

‘अधिकांश दुर्घटना तीव्र गतिमा सवारी चलाउँदा भएका छन्’, भण्डारीले भने, ‘दुर्घटना कम गराउन टाइम कार्ड लागू गरिएको छ। जनचेतनाको कार्यक्रम पनि गरिरहेका छौं। यति हुँदा पनि कम हुन सकेको छैन। ’ सवारी चालक सचेत भएर सवारी हाँक्दा दुर्घटना कम हुने भण्डारीको भनाइ छ। टाइम कार्डअनुसार सवारी नहाँक्ने चालकलाई कारबाहीसमेत गरिँदै आएको भण्डारीको भनाइ छ। 

सवारीचालककै लापरबाहीले गर्दा मानव र वन्यजन्तु दुवैको क्षति भइरहेको संरक्षणकर्मीको भनाइ छ। 

दुर्घटनाको प्रकृति हेरेर सवारीचालकलाई कारबाही गरिँदै आएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। सवारीसाधनसँग ठोक्किएर दुर्घटनामा चित्तल, बँदेल, बाँदर, स्याल, जरायो, नीर बिरालो धेरै संख्यामा मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष ०७५/७६ मा सबैभन्दा बढी चित्तल मारिएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार चित्तल २९, बँदेल २४, स्याल ६, दुम्सी ५, नीर बिरालो ४, जरायो ४ मारिएका छन्। त्यस्तै चितुवा २, बाघ १, रतुवा १, नीलगाई २, चौका ३, लोखर्के १, अजिङ्गर १, गोहोरो २, न्याउरी मुसा २, खरायो २ र अन्य ९ वन्यजन्तु एक वर्षको अवधिमा मारिएको विभागका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। 

कतिपय अवस्थामा वन्यजन्तु आफैँ सवारीमा आएर ठोक्किएर मर्ने समेत गरेको छ। कानुनअनुसार वन्यजन्तु मारे वा घाइते बनाएमा २० हजार रुपैयाँदेखि पाँच लाखसम्म जरिबाना तथा ६ महिनादेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.