मिथेन सोस्ने जीवाणु
काठमाण्डौं : जलवायु परिवर्तन र ग्लोबल वार्मिङ विश्वव्यापी समस्या बनेको छ। यसका लागि विश्वभरिका वैज्ञानिक र वातावरणविद् चिन्तित छन्। ग्लोबल वार्मिङका लागि पृथ्वीबाट प्राकृतिक रूपमा उत्पत्ति भएका र मानवद्वारा उत्सर्जित कार्बन डाइअक्साइड, मिथेन, क्लोरो–फ्लोरो कार्बन, नाइट्रस अक्साइड, हाइड्रोफ्लोरो कार्बन आदि ग्यास मुख्य कारक तत्त्व हुन्।
सामान्यतः ग्लोबल वार्मिङको मुख्य कारक तत्त्व कार्बन डाइअक्साइडलाई नै मानिन्छ। तर, मिथेन ग्यासले पनि यो पक्रियामा सहयोग गर्छ। विभिन्न स्रोतबाट उत्सर्जन हुने मिथेन ग्यास १५.२० प्रतिशत ग्लोबल वार्मिङ बढाउनमा सक्रिय हुन्छ।
मिथेन उत्सर्जन
मिथेन मुख्यतः प्राकृतिक एवं मानवकृत स्रोतबाट उत्सर्जन हुन्छ। यसको व्यवस्थापनमा असन्तुलनका कारण प्रतिवर्ष यो ग्यास २२ मेट्रिकटनको हिसाबले उत्सर्जन भइरहेको छ। प्राकृतिक रूपमा मिथेन आद्रभूमि, महासागर, हाइड्रेट्स आदिबाट उत्पादन हुन्छ। मानवले उत्पादन गर्ने श्रोतमा धानको खेती, कोइला खानी, प्राकृतिक ग्यास, कृषि पशुधन आदि मुख्य हुन्। प्राकृतिक स्रोतमा सबैभन्दा बढी मिथेन ग्यास उत्पादन गर्ने कारक तत्त्व आद्रभूमि नै हो।
मिथेन उत्सर्जक जीवाणु (मिथानोजेन ब्याक्टेरिया)
प्राकृतिक रूपमा मिथेनको उत्सर्जन मिथेन उत्सर्जक जीवाणुहरूद्वारा हुन्छ। मिथेन उत्सर्जक जीवाणु आर्किब्याक्टेरिया ग्रुपमा पर्छन्। मिथेनोकोकस, मिथेनोक्युलियस, मिथेनोसार्सिना, मिथेनोप्लेनस, मिथेनोस्पाइरिलम आदि मिथेन उत्सर्जक जीवाणु ओसिलो ठाउँमा रहेर रासायनिक प्रतिक्रियाद्वारा मिथेन उत्सर्जन गर्ने गर्छन्।
यसबाहेक मिथेन उत्सर्जक ग्रुपका अन्य सदस्य चर्ने जनावरको आमाशयमा पनि बसेका हुन्छन्। यिनीहरूले त्यहाँ रहेका अन्य जीवाणुबाट मुक्त हाइड्रोजन तथा कार्बन डाइअक्साइडद्वारा मिथेन उत्पादन गर्ने गर्छन्।
मिथेन शोषक जीवाणु (मिथानोट्रफिक ब्याक्टेरिया)
मिथेन शोषक एक जीवाणु हो। यसले मिथेनलाई आफ्नो क्रियाको सञ्चालनको लागि प्रयोग गर्छ। केही स्रोतका अनुसार संसारमा मिथेन शोषक मात्र एउटा यस्तो जैविक एकाइ हो जसले ग्रिन हाउस ग्यासलाई आफ्नो ऊर्जाको रूपमा उपयोग गर्छ। मिथेन शोषकहरूद्वारा विश्वमा प्रतिवर्ष १०.४० टेराग्राम मिथेन कम हुन्छ।
मिथेन शोषक यो धर्तीमा सर्वव्यापी हुन्छन्। यी ओसिलो जमिन, धानको खेत, समुद्री जल, गोबर आदि सामान्य ठाउँलगायत तातो जलस्रोत, उष्ण प्रदेश आदि क्षेत्रमा पनि रहेका हुन्छन्। वैज्ञानिकहरूका अनुसार मिथेन शोषकहरूलाई प्रयोगशालामा खेती गर्न कठिन हुन्छ, अहिलेसम्म केही प्रजातिको मात्र सफलतापूर्वक कल्टिभेसन गर्न सकिएको छ।