दुर्घटना हुन नदिन चालकलाई फूलको माला
ताप्लेजुङ : सवारी दुर्घटना न्युनिकरणका लागि नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ । आइतबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सवारी चालकलाई माला र अबिर लगाएर कार्यक्रमको सुरुवात गरियो ।
फुङलिङबाट पाथीभराका साथै जिल्ला बाहिर र अन्य ग्रामीण क्षेत्रमा चल्ने सवारीका चालकलाई माला र अबिर लगाइएको हो । दसैं तिहारजस्ता चाडपर्वमा यात्रुको चाप बढी हुने र दुर्घटनाको जोखिम पनि धेरै हुने भएकाले चालक र यात्रुलाई सचेत बनाउने अभियान सुरु गरिएको प्रहरीले जनाएको छ ।
घटस्थापनासँगै प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्री आउने सिजन सुरु गएको छ । सोही अवसर पारेर चालक र यात्रुलाई सडक सुरक्षाको विषयमा जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।
प्रहरीले पाथीभरातर्फ गाडी छुट्ने तोक्मेडाँडामा यात्रु सहायता कक्ष स्थापना गरेको छ । नवरात्रभर यात्रुको भीड हुने भएकाले सहजताका लागि सहायता कक्षा स्थापना गरेर प्रहरी खटाएको उनले बताए ।