२१ नम्बर वडा, जहाँ दुर्गा पूजा गरिँदैन

२१ नम्बर वडा, जहाँ दुर्गा पूजा गरिँदैन

ललितपुर :‘खोकना’ को वडा नम्बर २१ मा करिब ६ सय घरधुरी संख्या छ। २५ घरजति शाही छन्। दुई-तीन घर बज्राचार्य र शाक्य छन् भने बाँकी महर्जन र डंगोलको बसोवास छ।

वडा २१ का अध्यक्ष रवीन्द्र महर्जनले खोकनाका डंगोल र महर्जनले दसैं नमनाउने गरेको बताए। यसका पछाडि कुनै ठोस कारण नभए पनि विभिन्न किंवदन्ती रहेको उनले सुनाए। महर्जनले भने, ‘परापूर्वकालमा खोकना एक बौद्धधर्मावलम्बी बस्ने ठाउँ थियो। उनीहरू हिंसा तथा काटमार नगर्ने भएकाले दसैं नमनाएको भनाइ छ।’ तर, यसमा कत्तिको सत्यता छ यकिन नभएको उनले बताए।

उनका अनुसार दसैंको बेला सम्पूर्ण शक्तिपीठमा काटमार गरिने भएकाले काटमार नगर्ने ठाउँ खोज्दै देवीदेवताहरू खोकनामा आउँछन् भन्ने मान्यता छ। १५७० सालतिर बनेको रुद्रायणी मन्दिरमा पूजाआजा गरिन्छ। ‘खोकनावासी जमरा राख्ने, टीका थाप्ने गर्दैनन्’ महर्जनले भने, ‘दसैंभरि सिकालीजात्रा मनाउने चलन छ।’

खोकनाका ८२ वर्षीय नन्दलाल शाहीले भने, ‘बाउबाजेले पनि दसैं मानेनन् भन्थे।’ खोकनावासीले टीका–जमरा नलगाए पनि खोकनाभन्दा बाहिर रहेका आफ्ना मान्यजनको घरमा दही लिएर भेट्न जाने गरिन्छ। पञ्चमीदेखि सप्तमीसम्म पाहुना बोलाएर भोज खुवाउने गरिन्छ। खोकनामा दुर्गा पूजा गरिन्न। तर, नवमीको दिन परम्परागत बाजाको पूजा गरिन्छ।

६९ वर्षीय बुद्धि महर्जनले भने अलि भिन्न किंवदन्ती सुनाए। उनका अनुसार खोकनाका किसान खेतीपातीको काम फत्ते गरिसकेपछि जनै पूर्णिमाका दिन जात्रा मनाउँथे। तर, त्यो समयमा कुनै पनि खानेकुरा पाइएन। त्यसपछि जनैपूर्णिमामा मनाइने जात्रा दसैंमा मनाउन थालियो। जुन जात्रालाई सिकाली जात्राका रूपमा मनाउँदै आइएको छ। खोकनाका तीन वटा गुठी र सबै स्थानीय मिलेर सिकाली जात्रा धुमधामसँग मनाउँछन्। यस वर्ष वडाले भोजका लागि करिब एक लाख रुपैयाँ रकम छुट्याएको छ। विगतमा सिकाली जात्राका लागि अर्थ मन्त्रालयले बजेट छुट्याए पनि हाल बजेट निकासा नभएको वडाको भनाइ छ।

खोकनाको रुद्रायणी मन्दिरमा होम गर्ने, परम्परागत नाच देखाउने, सामूहिक भोज खाने प्रचलन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.