सीमामा घर फर्किनेको लर्को
धनगढी : दसैं सुरु भएसँगै कैलाली र कञ्चनपुरका भारतीय नाकामा भारतबाट घर फर्किनेको लर्को सुरु भएको छ। रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका सुदूरपश्चिमवासी दसैं मनाउन घर फर्कने गरेका हुन्।
अछाम साँफेबगर नगरपालिका–१३ बाबलाका शेरसिंह एक वर्षअघि गहुँ खेती लगाएर परिवारसहित रोजगारीका लागि भारत गएका थिए। उनी अहिले दसैं मनाउन घर फर्किएका छन्। उनी मात्र होइन रोजगारका लागि भारतलगायत अन्य मुलुक गएका सुदूरपश्चिमेली अहिले घर फर्किन थालेका छन्।
सीमा नाकामा विगत वर्षभन्दा सास्ती केही कम रहेको यात्रुहरूले प्रतिक्रिया दिएका छन्। भारतको उत्तराखन्डबाट फर्किएका बझाङका पुरन रोकायाले विगतका वर्षमा सीमामा निकै सास्ती खेप्नु परेको भए पनि यसवर्ष भने अलिक सहज रहेको बताए।
अछाम साँफेनगरका धनबहादुर कुँवर वली पनि दसैं मनाउन फर्केका छन्। वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दसैंमा भने सधैँ घर फर्किने उनले बताए। प्रहरीका अनुसार दैनिक दुई÷तीन सय नेपाली कैलालीका त्रिनगर नाका हुँदै दसैं मनाउन घर फर्किने गरेका छन्। आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारि श्रमिकमा काम गर्नुपर्ने, औषधिसमेत राम्रो नपाइने भएपछि सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि भारत जानेको संख्या दिनप्रतिदिन बढ्दो छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले भारतबाट घर फर्किँदै गरेका नेपालीहरूलाई सीमामा सास्ती नहोस् भन्नका लागि त्रिनगर नाकामा चाडपर्व लक्षित सीमा सहायता कक्ष स्थापना गरेको छ। नेपालीलाई घर फर्किंदा सीमामा कुनै पनि समस्या नहोस् भनेर सहायता कक्ष राखिएको कैलालीका सीडीओ यज्ञराज बोहराले बताए। दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कैलालीको गौरीफन्टामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले संयुक्त रूपमा गौरीफन्टामा सहायता कक्ष स्थापना गरेका हुन्।