करणी आरोपले उब्जाएका आशंका

करणी आरोपले उब्जाएका आशंका

देशको उच्च पदमा आसीन व्यक्तिहरू आदर्शवान् हुन्छन्। उनीहरूको हाउभाउ, व्यक्तिगत आचरण र अभिव्यक्ति अनुकरणीय हुन्छ। त्यसैले त लाखौं जनता र कार्यकर्ता तिनीहरूले स्थापित गरेका मूल्यमान्यताको अनुसरण गर्छन्। यो त एक आदर्श परिकल्पना भयो। यथार्थमा संसारमै विरलै घटित हुने घटनामध्ये परेको छ सभामुख कृष्णबहादुर महरामाथि लागेको करणी आरोप। यस आरोपसँगै आम मानिसले गर्ने परिकल्पना खण्डित हुन पुगेको छ। तर, उक्त आरोपपछि घटनाको अनुसन्धान जेजसरी अगाडि बढ्नुपर्ने हो, त्यसरी नबढ्दा ठूलो संशय पनि पैदा भएको छ। यसले राज्यका निकायहरू केकसरी उच्च ओहोदामा बस्ने मानिसहरूको छायामा हुन्छन् भन्ने देखाएको छ।

वर्षौं जेलनेल बसेर, लडेर ल्याएको लोकतन्त्र भनेर सधैं भाषण गरेको उनै नेताहरूका मुखबाट सुनिन्छ। यथार्थमा नेपालमा अझै आम जनताको चेतनाको स्तर, नेताहरूको चरित्र र मानसिकता तथा साँचो अर्थमा सोचमा परिवर्तन आएको छैन भन्ने कुरा पछिल्लो घटनाक्रमले यसको पुष्टि गर्छ। सबैभन्दा पहिला राजनीति के हो अपराध के हो छुट्ट्याउनु आवश्यक छ। ओहोदामा बसेकाहरूले अपराध कर्मलाई नै राजनीतिसँग जोडेर उन्मुक्ति लिने गरेको पाइन्छ।

सर्वसाधारणलाई आफूले नगरेको दोषको पनि भागीदार गराउने तर आफ्ना नेता–कार्यकर्तालाई गरेको अपराधमा छुटकारा दिलाउन बहस पैरवी चलाउने यो शृंखला नेपालमा यथावतै छ। पहिलेजस्तो राजा–महाराजाले गर्ने आपराधिक कर्म र आफ्नो अपराधलाई ढाकछोप गर्न गरिने परिपञ्च लोकतन्त्रपछिका शासकहरूमा देखिएको छ। यसको पछिल्लो उदाहरण हो– महरा प्रकरण। आपराधिक क्रियाकलापलाई अलग र राजनीतिलाई अलग बनाउन नसक्दा राजनीतिका नाममा हुने गैरराजनीतिक क्रियाकलाप पनि समेटिएका छन्। यो आफैंमा दुर्भाग्यपूर्ण हो।

सभामुखमाथिको आरोप

आमसञ्चारमा आएको कुरालाई आधार मान्दा सभामुख महरा आइतबार साँझ आफ्नै कार्यलयमा रहेकी एक महिला कर्मचारी बस्ने डेरामा पुग्छन्। त्यहाँ उनी आफूसँगै मदिराको बोतल, पेस्ता र बदाम लिएर जान्छन्। उनी महिलाको डेरामा पुग्नुपहिल्यै मदिराले मातिसकेको अवस्थामा हुन्छन्। त्यहाँ पुगिसकेपछि पनि उक्त महिला र सभामुख महराले सँगै मदिरा पिउँछन्।

मदिराको उन्मादमा सभामुख महराले ती महिलालाई जबर्जस्ती करणी गर्छन्। त्यसैक्रममा उनले ती महिलामाथि कुटपिट पनि गर्छन्। त्यसपछि सभामुख महरा त्यहाँबाट निस्कन्छन्। यसरी उनीमाथि ती महिलाले गम्भीर अपराध गरेको आरोप लगाउँछिन्। पुलिसलाई गुहार्छिन्। अन्य महिला सांसदहरूलाई पनि फोन गर्छिन्। म्यासेज पठाउँछिन्। यति गर्दा मध्यरात भइसकेको हुन्छ।

महिला सांसद र प्रहरीमाथिको आशंका

सभामुख महरा संलग्न भएका पार्टीका प्रभावशाली महिला सांसद र विपक्षी दलकी सांसदले आफूले पाएको सूचनालाई गम्भीर रूपमा लिँदैनन्। यद्यपि आफ्नै पार्टीका सांसदले आफूलाई कुनै म्यासेज नै नआएको दाबी गर्छन्। प्रहरी घटना भएको ठाउँमा पुग्छ केही तस्बिर लिन्छ। अनि त्यत्तिकै फर्किन्छ। यो अर्को दिन सोमबार एक अनलाइनमा समाचार आइसकेपछि मात्र बाहिर आउँछ।

सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो रोटी सेक्ने कोसिस गरे भने देश गम्भीर दुर्घटनामा जानेछ।

पहिलो कुरा, प्रहरीले आफूले गर्नुपर्ने दायित्व पूरा गरेको देखिँदैन भने महिला सांसदहरूले पनि जनप्रनिधिका रूपमा गर्नुपर्ने दायित्व निर्वाह गरेको देखिँदैन। उनीहरूको भूमिका शंकास्पद देखिन्छ। पहिलो यो घटना भएकै थिएन र महिलाले निराधार रूपमा सभामुख महरामाथि आरोप लगाएकी थिइन् भने तत्काल ती महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपथ्र्यो। घटना भएको हो भने सूचना प्राप्त भइसकेपछि तत्कालै घटनास्थललाई सिल गर्ने, सभामुख महरालाई नियन्त्रणमा लिने र अनुसन्धान प्रक्रिया अगाडि बढाउने काम गर्नुपथ्र्यो। यो नेपालको कानुनले दिएको प्रस्ट बाटो हो। नेपाल प्रहरीको तर्फबाट भएको स्पष्ट देखिने त्रुटि पनि हो।

आमसञ्चार र नदेखिएको पाटो

खासगरी नेपालमा आमसञ्चारको प्रयोग र दुरुपयोग दुवै भएको पाइन्छ। सभामुख महराको आरोपमा पनि दुवैथरी प्रयोग भए। पीडित महिलाले एक अनलाइनलाई आफू बलात्कृत भएको सूचना दिइन्। त्यहाँ भएका सम्पूर्ण घटनालाई बेलिविस्तार लगाइन्। अघिल्लो दिन आफूले कुन–कुन महिला सांसदलाई के–कस्तो सन्देश पठाइन् र सहयोगको याचना गरिन् यी सबै कुरा उनले दिएको अभिव्यक्तिमा प्रस्टसँग छ। साथै पत्रकारसँगको कुराकानीकै क्रममा सभामुख महराले फोन गरेर पटकपटक ती महिलालाई विषयवस्तु बाहिर नल्याउन दिएको अभिव्यक्ति पनि त्यहाँ उल्लेख छ। यो कुरा सार्वजनिक भएपछि महराले बाध्य भएर राजीनामा दिए। घटना झनै सनसनीपूर्ण भयो। त्यसमा पीडित महिलाले आफू असुरक्षित हुनसक्ने बताएकी छन्। यसरी एउटा कुरा बाहिर आएपछि अर्को पक्ष सक्रिय भयो।

सञ्चार क्षेत्रकै उपयोग गरेर पहिला दिएको अभिव्यक्तिलाई खण्डित गर्ने गरी उनले आफ्नो भनाइ राखिन्। सभामुख महरा निर्दोष सावित होलान् पछिको कुरा भयो। तर, ती महिलाको सुरुको अभिव्यक्तिले सभामुख महरालाई धेरै ठूलो क्षति भयो। उनले आफ्नो पदबाट राजीनामा दिनुपर्नेसम्मको अवस्था आयो। राजनीतिक करिअरमा ठूलो दाग लाग्यो भने नेपालका राजनीतिकर्मीमाथि प्रश्न खडा गरिदियो। यसरी आफ्नो पक्ष र कसैको विपक्षमा भ्रामक तथ्य बाहिर ल्याउन जसरी नेपाली मिडिया क्षेत्र प्रयोग भएको छ, यसको नमुना यहाँ पनि देख्न पाइयो। यसले आमसञ्चारकर्मी र सञ्चारमाध्यमको चरित्रलाई उदांगो पारिदियो।

सभामुखको राजीनामा

सभामुखले आफूमाथि करणीको आरोप लागिसकेपछि पार्टीभित्र र बाहिर पनि परामर्श गरेर राजीनामा दिए, तर शर्तसहित। उनले के कारणले शर्त तेस्र्याएका रहिछन् भन्ने कुरा लगत्तै ती महिलाले राखेको फरक अभिव्यक्तिबाट पनि पुष्टि हुन्छ। नेपालको संविधानमा सभामुखले शर्तसहित राजीनामा दिने भन्ने व्यवस्था नै छैन। उनले आफूले दिएको राजीनामापत्रमा संविधान र कानुनको कुनै पनि धारा या दफा उल्लेख गरेका छैनन्। राजीनामा आइसकेपछि उनी सभामुख पदमा रहेनन्। पुनः फर्किएर उनी सभामुखमा आउन सक्ने व्यवस्था नेपालको संविधानले गरेको छैन।

प्रहरीको अनुसन्धान र अन्तर्राष्ट्रिय चासो

यो घटनामा प्रहरीले पीडितको जाहेरी कुर्नुपर्ने अवस्था हुँदैन। यस घटनामा प्रहरीले लिखित, मौखिक र कुनै पनि विद्युतीय माध्यमबाट आएको सूचनालाई जाहेरीका रूपमा स्वीकार गरी अनुसन्धान अगाडि बढाउनुपर्ने देखिन्छ। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा कसुरको सूचना र अनुसन्धानसम्बन्धी व्यवस्था छ। त्यसको दफा ४ को उपदफा ३ मा कुनै व्यक्तिले लिखित, मौखिक वा विद्युतीय माध्यमबाट सूचना प्राप्त भएमा त्यसलाई जाहेरीका रूपमा स्वीकार गरी अनुसन्धान अगाडि बढाउनुपर्ने भन्ने व्यवस्था भइसकेपछि प्रहरीले महिलाको जाहेरी कुरिरहनुपर्ने अवस्था छैन।

पीडित महिलाले अघिल्लो दिनै प्रहरीको हटलाइन नम्बर एक सयमा खबर गरी घटनाबारे सूचना दिइसकेपछि त्यसैलाई आधार मानेर अनुसन्धान अगाडि बढाउनुपर्ने देखिन्छ। कुनै पनि बाहनामा अनुसन्धानलाई प्रभाव पार्ने काम गरिनु हुन्न। महिलाले दिएका फरक–फरक अभिव्यक्ति, सञ्चारमाध्यममा आएका समाचार र सभामुख महरामाथिको करणीको आरोप यी सबै पक्षको निरपेक्ष रूपमा अनुसन्धान हुनुपर्छ।

यो हाई प्रोफाइल संलग्न रहेको केस हो। नेपाल प्रहरीले निर्मला प्रकरणमा जस्तो अनुसन्धानका क्रममा त्रुटि दोहो¥याएमा नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामाथि नै गम्भीर प्रश्न खडा हुन्छ। कुनै पनि अनुसन्धानमा अन्तर्राष्ट्रिय समुदायले नेपाल प्रहरीको अनुसन्धानलाई स्वीकार नगर्ने वातावरण बन्छ। हिजोको गिरेको साख जोगाउन र जनविश्वास कायम राख्न प्रहरीले अनुसन्धानलाई विश्वासिलो र भरपर्दो बनाउनुपर्छ। शंकारहित तरिकाले अनुसन्धानलाई टुंगाउनु र अभियोजन पत्र दर्ता गर्नु प्रमुख दायित्व हो।

राजनीतिक संलग्नता

यो केसलाई नेकपाले आफ्नो जीवन मरणको सबाल बनाउने पक्का छ भने प्रतिपक्षले यसै मेसोमा राजनीतिक दाउपेच गर्छ। सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो रोटी सेक्ने कोसिस गरे भने देश गम्भीर दुर्घटनामा जानेछ।

अपराधलाई राजनीति गर्ने हतियार बनाए दलहरू आपराधिक झुण्ड हुनेछन्। ती दलको बहिस्कार गर्नु सबैको कर्तव्य हुनेछ। यसमा नेकपाले सुझबुझका साथ अनुसन्धानमा सघायो भने दीर्घकालमा पार्टीलाई पर्न जाने क्षतिबाट नेकपा जोगिन सक्छ। अन्यथा नेकपाले विधिवत् रूपमा अपराधलाई पार्टीमा प्र श्रय दिएको ठहरिनेछ। पीडित महिलाले फेरेको अभिव्यक्ति पार्टी या संबद्ध पक्षबाट दिएको दबाबले हो भन्ने आशंका उब्जिएको छ।

अनुसन्धान कसरी गर्ने ?

सर्वप्रथम प्रहरीले महरा त्यस समय कहाँ थिए भन्ने खोज्नुपर्ने हुन्छ। उनले प्रयोग गर्ने मोबाइल र त्यसमा देखिएको लोकेसन सिग्नल यसका लागि काफी हुन्छ। महिलाले पछि के बोलिन् भन्ने गौण हो। उनको आरोप प्रमुख कुरा हो। त्यस समय उक्त क्षेत्रवरिपरि राखिएका सीसीटीभी क्यामराबाट पनि थप कुरा थाहा हुन्छ। महराले मदिरा कहिले लिएका थिए रगत परीक्षणबाट पनि तत्कालै पत्ता लाग्ने कुरा हो। पछिल्लो कुराकानीमा महिलाको अनुहारमा नीलडाम प्रस्ट देखिन्छ।

महिलाले आरोप लगाएअनुसार कुटपिट भएको प्रमाणको लागि त्यो काफी छ। त्यो कसले गरेको थियो अनुसन्धानको पाटो हो। भेजाइनल परीक्षणबाट पनि थप प्रमाण हात लाग्न सक्छ। यसरी महरा आफैंले उक्त महिला भएको ठाउँमा गएको स्वीकार गरिसकेका छन्।

प्रहरीले अनुसन्धानका क्रममा यथोचित सावधानी अपनाएन भने दोस्रो निर्मला प्रकरण हुन बेर लाग्दैन र यसले नेकपालाई थप क्षति पु¥याउने निश्चित छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.