दसैं : पहिले र अहिले
चाडपर्व वर्षैपिच्छे आउँछ। एउटै महत्त्व र सान्दर्भिकता बोकेर आउँछ तर मानिसको मनमा हरेकपटक फरक–फरक अनुभूति र परिस्थिति उत्पन्न गराउँछ। चाडपर्वविशेषको मौलिकता, सांस्कृतिक विविधता, गरिने गतिविधि र मनाउने क्रियाकलाप उस्तैउस्तै हुन्छन्। तर ती चाड विशेषले प्रत्येक व्यक्तिको मानसिक भावना, सामाजिक विचारधारा, चाडले दिने उत्साह र उमंगमा भने विल्कुलै फरक स्मृति समेटेको हुन्छ। बाल्यवस्थामा मनाउँदाको चाडपर्व, युवावस्थामा मनाउँदाको चाडपर्व, प्रौढ र वृद्धावस्थाका चाडपर्व सबैमा छुट्टै किसिमको अनुभव र स्मृतिले छाप छोडेका हुन्छन्।
हामी बालक हुँदा दसैंमा नयाँ लुगा लगाउनु, पिङ खेल्नु, मासु–चिउरा खानु र टीका थाप्दै दक्षिणा बटुल्नु दसैंको विशेषता थियो। त्यसमा उत्कृष्ट खुसी र सन्तुष्टि मिल्थ्यो। यसकै प्रतीक्षामा दसैं आउनु महिनौंअघिदेखि मनमा उत्साह र उमंगले डेरा जमाउन थाल्थ्यो। घर आँगनीका छेउमा कुचिकारका बूढाबूढीले सिलाइदिएको घाँगर र सुरुवाल लगाउन पाउँदा दंग परिन्थ्यो। आफ्नो कपडा सिलाउञ्जेल छेउमा कुरेर बसिन्थ्यो। नयाँ कपडाको बास्ना मीठो मान्दै सुँघिन्थ्यो। दसैंका लागि चिउरा कुट्न भनेर छुट्टै धान खेतको एउटा गह्रामा लगाइन्थ्यो। चिउरा चलाउन जाने निहुँले लुसुक्क हजुरआमाका आँखा छलेर गइन्थ्यो र दुईचार मुठ्ठी चिउरा खल्ती भए खल्तीमा नभए घाँगरको फेरमा पोको पारेर बाहिर चौरमा गएर खाइन्थ्यो। नवदुर्गालाई नचढाई खानु हुँदैन भन्थे। त्यसैले चढाउनुपहिल्यै चिउरा खान आँखा छल्नैपथ्र्यो।
विवाहपश्चात् त चाडपर्वको महŒव अझ बढ्न पुग्यो। दसैं आउने महिनौं अघिदेखि कसरी र कुन तरिकाले सहज बनाउने भन्नेमा ध्यान जान थाल्यो। खुसीको ठाउँमा जिम्मेवारी र कर्तव्यको भूमिका हावी भयो। हाम्रो संस्कृति र परम्परा जगेर्नाका लागि पनि मनाउनुपर्छ भन्ने सामाजिक भावना विकास भयो। आफ्नो खुसीका लागिभन्दा परिवार र समाजमा समान अस्तित्व स्थापनाका लागि पनि मनाउनुपर्छ। साथै आफूलाई व्यावहारिकतामा सफल पार्न पनि। यतिखेर दुईजनाको सरसल्लाह, समझदारी र सहयोगले परिवारलाई कसरी खुसी र सन्तुष्टि दिनेमा विशेष जोड हुन्थ्यो। एकले अर्काको आवश्यकता र महŒव बुझेर समय र परिस्थितिलाई सहज र सरल बनाउन कुनै कुराको कसर नछोडी लागिन्थ्यो। जतिसुकै दुःख र अभाव हुँदाहुँदै पनि दाम्पत्य जीवन बीचका दसैं कहिले पनि बोझिलो लागेन। परिवारको अनुहारमा खुसी छर्दै दुईजनाको माया र विश्वासले उमंग र सन्तुष्टिमा नै बिते ती वर्ष पनि।
तडकभडक नभई आफ्नो क्षमता र दक्षताका आधारमा मनाइने चाडपर्वमा सन्तुष्ट रहन सकियो भने आफूलाई कमजोर र निरीह सम्झनु पर्दैन र जिम्मेवारीलाई बोझिलो मान्नुपर्दैन। परिवारका सबै सदस्य सँगै बसेर हाँसीखुसी मनाइन्छ भने त्यो नै सबैभन्दा ठूलो खुसी हो, अन्यथा मनमा रिसराग पालेर दिनको तीन छाक मासुभात खाएर र ब्रान्डेड कपडा पहिरिएर आत्मामा शान्ति दिलाउन सकिँदैन। भौतिक शरीरलाई देखाउन हामी अनेकांै उपक्रमको उपयोग गर्छौं तर आफूभित्रको आत्मा बुझ्न एउटै मनलाई शान्त पार्न खोज्दैनौं यही नै हाम्रो कमजोरी र दुःखको जड हो।
यसपालिको दसैंको स्मृति अरूभन्दा विल्कुल फरक बनेर आएको छ। जिम्मेवारी र कर्तत्वबोधका बीच निसास्सिएर आएको छ। माया र सद्भाव थाँती राखेर आएको छ। साथ र सल्लाह दिने आत्मालाई जलाएर आएको छ। खुसी र उमंगलाई डाँडो कटाएर आएको छ। आयो आयो भन्छन् के आयो आफ्नै मनलाई सोध्न मन लाग्छ। कहाँ आयो ? केका लागि आयो ? के दिन आयो ? के गर्न आयो ? प्रश्न मात्र छ, जवाफ छैन। मोबाइलमा नोटिफिकेसन आउँछ झल्याँस्स हुन्छु। नोटिफिकेसन हेर्छु– ओहो कति राम्रो शुभकामना सन्देश रहेछ विजया दशमीको। जसले पठायो राम्रो सम्झेर शुभेच्छासहित पठायो मनले आनन्द मान्छ।
मसँग पनि धेरै शुभेच्छाका शब्दहरू छन्। लेख्नलाई दिने मन पनि छ तर दिन सक्दिनँ। शुभेच्छाका मेसेजहरूले भरिएका छन्। मेरा मेसेज बक्स तर मनले भन्छ– मलाई कसैले नपठाए पनि हुने नि किन पठाएका होलान्। शुभेच्छा लेनदेन गर्नसमेत नसक्ने मानसिकताको बीच पनि दसैं आएको छ। उही दसैं आएको छ तर मेरो समय र परिस्थिति फेरिएर आएको छ एउटै दसैं पनि कति फरक फरक मानसिकतामा घुम्दो रहेछ आज बुझ्दै छु। समयको दासी हामी समयसँग चल्नैपर्छ नत्र समयले नै पाता फर्काउँछ आत्मिक शक्ति सञ्चार हुन्छ। अब बाँच्नका लागि र अन्तिम सत्य पर्खिन पनि क्षमताले भ्याएसम्म र सकेका सम्पूर्ण जिम्मेवारी, कर्तव्य पूरा गर्नुपर्छ। मभित्रको मानवले निर्देशन दिइरहेको हुन्छ। आत्माको शान्ति र निर्देशन नै जीवनको सन्तुष्टि हो जीवनमा प्राप्त गरेको ज्ञान र शिक्षा नै बाँच्ने ऊर्जा हो।