दसैंमा विदेश सयर

दसैंमा विदेश सयर

काठमाडौं : विज्ञापन एजेन्सी सिटी एक्सप्रेस मिडियाका सञ्चालक अमृत पन्थी बर्सेनि दसैंको समय पारेर पर्यटक भिसामा विदेश सयर गर्छन्। अस्टे«लिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, चीन, थाइल्यान्डसहितका मुलुक घुमिसकेका पन्थी अहिले जापान भ्रमणमा छन्। सुमेघ ट्राभलको चार्टर्ड उडानबाट बिहीबार जापान गएका पन्थी १० दिन पछि मात्रै फर्कंनेछन्। यसपटक जापानको टोकियो र ओसाका घुम्ने, साथीभाइसँग भेटघाट गर्ने र केही नयाँ सिक्ने उद्देश्यले विदेश भ्रमणमा निस्किएको पन्थीले अन्नपूर्णसँगको कुराकानीमा बताए।

विगत पाँच वर्षदेखि पर्यटक भिसामा विदेश घुम्न थालेका उनलाई स्वतःस्फूर्त रूपमा एक्लै घुम्न मन पर्छ। विगतका वर्षमा साथीसँग घुमेको भए पनि यसपटक भने एक्लै यात्रामा निस्किएको उनले बताए। हरेक वर्ष एउटा देशमा पुग्ने उनको चाहना बनाएर पछिल्ला वर्षमा विदेश सयर गर्न थालेको पन्थीले बताए। विदेश घुम्ने, नयाँ योजना बनाउने, अनुसन्धान तथा बाहिर सिकेका कुराले लाभ गर्छ भन्ने लागेकाले पनि उनी घुम्न निस्कने गर्छन्।

पन्थीसहित वायुसेवा निगमको वाइडबडी चार्टरमा घुम्नकै पर्यटक भिसामा जापान जाने नेपाली मात्रै बिहीबारको उडानमा २० जनाभन्दा बढी थिए। सुमेघ ट्राभलका अनुसार उक्त उडानमा पर्यटक भिसामा र आफन्त भेटघाटसहितका यात्रु थिए। जापान घुम्ने नेपाली पर्यटक, आफन्त भेट्ने र बाहिर बसेका नेपालीलाई दसैं मनाउन ल्याउने उद्दश्यले सुमेघले चार्टर्ड उडान गरेको हो। जहाजमा नेपालबाट बाहिर घुम्न जाने र बाहिरबाट दसैं मनाउन आउने नेपालीलाई दृष्टिगत गरेर सेवा दिइएको सुमेघ टुर्स एन्ड ट्राभलका बिक्री प्रबन्धक सञ्जिव पन्थीले बताए।

बिना प्याकेज आफैं घुम्न जाने नेपालीले दसैंको बिदा सुरु भएपछि एकै दिन एक सय ५० जनासम्मले टिकेट लिएका छन्। बैंकक, सिंगापुर, मलेसिया, इन्डोनेसिया, अजरबैजान, टर्कीसहितका देशमा घुम्न स्वतःस्फूर्त रूपमा टिकेट लिने नेपालीको संख्या दसैं बिदादेखि तिहार अगाडिसम्म उल्लेख्य नै हुने गरको छ।

दसैंमा विदेशी घुम्न र छुट्टी मनाउन ट्रालभ एजेन्सीबाट प्याकेज लिएर जानेको संख्या पनि बर्सेनि बढिरहेको एस ट्राभलको होलिडे डिपार्टमेन्र्टका लाइन म्यानेजर अनिल धरेल बताउँछन्। उनका अनुसार एस ट्राभलले मात्रै यो वर्ष दसैंका लागि २५ सय जनालाई टुर प्याकेज बिक्री गरेको छ। यस्तो प्याकेज अघिल्लो वर्ष दुई हजारलाई बिक्री गरिएको उनको भनाइ छ।

विभिन्न देशका लागि एसले यो वर्ष पाँच दिनदेखि १३ दिनसम्मको टुर प्याकेज बनाएको छ। यस्तो प्याकेजमा अधिकांश सकिएको र अब केही मुलुकमा जान करिब पाँच प्रतिशत मात्रै बाँकी रहेको धरेलले बताए। बर्सेनि आउटबाउन्ड टुरमा नेपालीको क्रेज बढ्दै गएकोले टुर प्याकेज दसैं नलाग्दै सकिने गरेको उनले बताए। एसका अनुसार पाँच दिनको थाइल्यान्ड ५२ हजारमा, ६ दिनको मलेसिया–सिंगापुर ९० हजारमा, १० दिनको थाइल्यान्ड मलेसिया सिंगापुर एक लाख १५ हजारमा, पाँच दिनको दुवई–अवुधाबी ८० हजारमा, सात दिनको चीन एक लाख १५ हजारमा घुम्ने प्याकेज बनाएको हो। आठ दिनको जापान कोरिया तीन लाखमा, १३ दिनको मलेसिया, थाइल्यान्ड, सिंगापुर इन्डोनेसिया एक लाख ५० हजारमा, सात दिनको अमेरिका तीन लाखको प्याकेज बनाएको छ। यो ट्राभलल कम्पनीले विभिन्न देशमा गरी २० वटाभन्दा बढी प्याकेज बनाएको छ।

मध्यम वर्गीय तथा कर्पोरेट हाउसमा काम गर्ने नेपाली वर्षभरीको कामको बोझ कम गर्न, परिवारलाई रिपे्रmसमेन्ट दिन, लामो बिदाको सदुपयोग गर्न र पारिवारिक घुमघाम हुने भएकोले दसैंलाई लक्ष्य गरेर योजना बनाउने गरेको टुर व्यवसायी बताउँछन्। अरु बेला कामको चापले फुर्सद नहुने र घुम्ने वातावरण पनि नहुने भएकोले यो बेला घुम्न रुचाउने गरेको उल्लेख छ।

नेपालबाट पर्यटक बनेर विदेश घुम्न जानेको व्यवसाय पनि घुम्ने संस्कृतिकै कारण बर्सेनि बढिरहेको एरोलिना ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्का बनाउँछन्। नेपालमा आउने विदेशी वायुसेवा बढ्दै जाँदा भएको प्रतिस्पर्धाले सस्तो टिकेट पाइनु, नेपालीको खर्च गर्ने क्षमता बढ्दै जानु, नेपालीको पनि घुम्ने संस्कृतिको सचेतना हुनु, अघिपछि लामो बिदा नपाइनु, कर्पोरेट हाउसका कर्मचारीले घुम्ने योजना नै दसैंको लागि बनाउनुले विदेश यात्रा गर्ने नेपाली बढिरहेको खड्का बताउँछन्।

पछिल्लो समय प्याकेज बिक्री गर्नेले जहाजको अग्रिम टिकट खरिद गर्ने गरेका छन्। यसका कारण प्याकेज टुरलाई सस्तो र व्यक्तिगत रूपमा टिकेट काट्नेलाई भने महँगो पर्ने गरेको छ। प्याकेज टुरकै कारण काठमाडौंमा दसैं आसपासमा विदेशीने वायुसेवा भरिभराउ हुने गरेको छ। घुम्न जाने नेपालीको चापकै कारण दसैंको बेला सस्ता टिकेट नपाउने र सीमित महँगा टिकेटमात्रै बाँकी रहेको ट्राभल एजेन्सी बताउँछन्।

नेपालबाट हरेक वर्ष आउटबाउन्ड टुरमा जाने नेपालीको संख्या बर्सेनि १५ प्रतिशसम्मले बढेको अनुमान छ। नेपालीको विदेश घुम्न सोधपुछ गर्ने, प्याकेज खोज्ने, टिकेटमात्रै लिनेदेखि भिसा प्रक्रियाका बारेमा पनि जानकारी लिने क्रम बढिरहेको खड्का बताउँछन्। उनको आफ्नै कम्पनीबाट विदेश घुम्न जानेको संख्या हेर्ने हो भने पनि वार्षिक १० प्रतिशतभन्दा बढीले बढेको छ। एरोलिनाले यूएई, थाइल्यान्ड, मलेसिया, सिंगापुर, टर्की, इन्डोनेसिया, अस्ट्रेलिया, अमेरिकासहितका मुलुकमा नेपाली पठाउने गर्छ।

ट्राभल कम्पनीलाई ग्राहकको चाहना अनुसारकै मुलुकमा पठाउन पनि समस्या नभएको खड्काले बताए। पछिल्लो समय नेपालीको रोजाइ अमेरिका, युरोप तथा अफ्रिकी मुलुकसम्म नै हुन थालेको छ। भिसा प्रक्रिया सहज हुने थाइल्यान्ड, मलेसिया, सिंगापुर, इन्डोनेसिया, टर्कीसहितको मुलुक मध्यमवर्र्गीय नेपालीको आकर्षक गन्तव्य परिरहेको छ। एकपटक घुमेको देशमा सकभर नजाने र नयाँ गन्तव्य खोज्ने नेपालीको सोखले पनि बर्सेनि फरकङफरक देशको डिमान्ड आउँदा ट्राभल एजेन्सीमा नयाँ गन्तव्यको माग हुन थालेको पनि उल्लेख छ।

नेपालबाट बाहिर जाँदा अधिकांश नेपाली सहजताका कारण ट्राभल व्यवसायीको प्याकेजमा नै भएको बुझाइ एरोलिना ट्राभलको छ। प्योजमा प्याकेजमा भिसा शुल्क, सम्बन्धित देशका पर्यटकीय गन्तव्यको टुर, होटलमा खानेबस्ने सुविधा र दुईतर्फी हवाई टिकटसहित हुन्छ। यस्तो प्याकेज भने घुमघामको गन्तव्य र घुम्ने समयमा निर्धारण हुने गरेको छ। एकपटक घुमिसकेका र आफैं भ्रमण व्यवस्थापन गर्न सक्नेले भने सीधै भिसा प्रक्रिया पूरा गर्ने र स्वेच्छाले टिकेट काटेर जाने पनि गर्न थालेका छन्।

भ्रमण वर्षले आन्तरिकमा पनि आकर्षण

सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर यसको तयारीलाई बढाएको छ। भ्रमण वर्षसँगै आन्तरिक गन्तव्य घुम्ने, होमस्टेमा बस्ने, सामाजिक सञ्जालमा पोटो पोस्ट्याउने, पारिवारिक तथा साथिसँगको रमाइलोका कारण पछिल्लो समय आन्तरिक पर्यटकको घुम्ने संस्कृति बढेको छ। आन्तरिक पर्यटकीय गन्तव्यमा पुग्ने नेपाली पर्यटकको संख्या तथ्यांकमा यति नै भन्ने नभए पनि टे«न्ड भने बढेको नेपाल पर्यटन बोर्डको भनाइ छ।

बिदाको समयमा विभिन्न आन्तरिक पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटकसँगै दसैं बिदामा स्वादेशमै रमाउने नेपालीको चाहनाले पनि आन्तरिक गन्तव्यप्रतिको घुम्ने संस्कृति बढेको हो। नेपालभित्रै विभिन्न पर्यटकीय गन्तव्यमा टुर एजेन्सीले ल्याउने आकर्षक प्याकेज, नेपालीमा बढ्दै गएको घुम्ने संस्कृति र खर्च गर्न सक्ने क्षमता पनि बढेका कारण नेपालीको घुमघामममा पहुँच बढेको बोर्डको भनाइ छ।

पर्यटन बोर्डले यस अघि सुरु गरेको घुमफिर वर्ष, पर्यटकीय गन्तव्यमा पुग्ने सहज सुविधा, सामाजिक सञ्जालको प्रभाव तथा सचेतना बढाउने अभियानका कारण पनि आन्तरिक पर्यटकको घुम्न संस्कृति विकास हुँदै गएको उल्लेख छ। नेपालमा पछिल्लो समय विभिन्न ग्रामीण भेगसम्म स्थापना भएका होमस्टेले पनि आन्तरिक पर्यटका तान्न थालेका छन्। कर्पोरेट क्षेत्रमा काम गर्ने कर्मचारी, साथिभाइसँगको जमघटपश्चात बन्ने विभिन्न भ्रमण योजना पनि घुम्ने संस्कृति बढेको हो।

मध्यम वर्गीय आम नेपालीले कामकाजको थकान मेटाउन र मनोरञ्जन गर्न पनि विभिन्न आन्तरिक पर्यटकीय गन्तव्य तथा होमस्टेसम्म पुग्न थालेका छन्।

पछिल्लो समय आन्तरिक गन्तव्यमा पोखरा, चितवन, लुम्बिनी, रारा, बन्दिपुर, लमजुङको घलेगाउँ, बाँकेको गाभरभ्याली, बर्दियाको डल्ला, स्याङ्जाको सिरुवारी, खप्तडसहितका गन्तव्यमा चाप बढेको गाउँ पर्यटन प्रवद्र्धन मञ्चको भनाइ छ। मञ्चले गाउँ पर्यटनको विकास र प्रवद्र्धनका लागि बर्सेनि नयाँ होमस्टेलाई सूचीकृत गर्ने गर्छ। यस्तो गाउँमा पर्यटक पठाउन प्रोत्साहनका कार्यक्रम गर्ने गरेको मञ्चले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.