रेडियोकी देवी

रेडियोकी देवी

दशैँको बेला रेडियो नेपालबाट प्रसारण हुने ‘शुम्भ–निशुम्भ वध’ नामक रेडियो नाटकमा देवीको लामो हाँसो धेरैले सुनेको हुनुपर्छ। मदनदास श्रेष्ठले निर्देशन गरेको रेडियो नाटकमा शुम्भ–निशुम्भको वध गर्नुअघि हाँस्ने ती देवी हुन्, अम्बिका दवाडी। रेडियोमा देवी बनेकी अम्बिका त्यही हाँसोका कारण चर्चित बनिन्। अहिले पनि उनलाई विभिन्न कार्यक्रममा दर्शक-स्रोताले देवी हाँस्न आग्रह गर्छन्। ‘मलाई पुराना स्रोताले रेडियोकी देवी भन्छन्,’ उनी भन्छिन्, ‘अहिले पनि कार्यक्रममा हाँस्न लगाउँछन्।’ 

खासमा दवाडी लोकगायिका हुन्। २०५० सालमा रेडियो नेपालको लोकदोहोरी प्रतियोगितामा विजेता भएपछि २०५२ सालदेखि रेडियो नेपालमा जागिरे भइन्। आठ वर्षसम्म त्यहाँ कार्यक्रम सञ्चालनसमेत गरेकी उनी विवाह भएर धरान आएपछि रेडियोको काम छाडिन्। लामो समय घर व्यवहारमा बिताउँदा उनलाई रेडियोमा काम गर्दाको सम्झना झल्झली आइरहन्थ्यो। रेडियो छाडेको १२ वर्षपछि उनले केही वर्षअघि धरानको विजयपुर एफएममा कार्यक्रम सञ्चालन गर्न थालिन् र अहिले पनि त्यही एफएममा कार्यरत छिन्। एफएममा लोकभाका कार्यक्रम सञ्चालन गर्दै आएकी उनी भन्छिन्, ‘स्रोतासँग बोल्न नपाउँदा मनमा धेरै पीडा हुन्थ्यो। अहिले पुनः उहाँहरूसँग जोडिन पाउँदा आनन्द लाग्छ।’

अम्बिका रेडियोमा कार्यक्रम सञ्चालन मात्र गर्दिनन्। गीत संकलन, विभिन्न भाषाका गीत गायनसँगै स्टेज कार्यक्रमका लागि पनि दौडिरहन्छिन्। स्टेज कार्यक्रममा उनलाई देवीको हाँसो हाँस्न आग्रह गरिहाल्छन्। उनी हाँसिदिन्छिन्। भन्छिन्, ‘धेरै लोकगीत गाए पनि मलाई गीतभन्दा बढी देवीको हाँसोले चिन्नेहरू धेरै छन्।’

अम्बिकाले हालसम्म १० भन्दा बढी भाषाका गीत गाएकी छिन्। नेपालीसँगै लिम्बू, राई, मगर, मैथिली, भोजपुरी, तामाङ, थारूलगायत भाषाका गीत रेकर्ड गराइसकेकी छिन्। अम्बिकाले आफ्नै संकलनमा वासुदेव मुनालसँग गाएको ‘धानै नाचिन्छ कान्छा’, ‘हो होरे होहोहो’ लगायत उनका चर्चित गीत हुन्। हालै संखुवासभाका शेर्पा, तामाङ लगायतले गाउने लोकभाकाको गीत उनले मोतीराज सुनुवारको संकलनमा उनैसँग रेकर्ड गराएकी छिन्। ‘संखुवासभाली लोकभाकाका लागि निकै मेहनत गरेकी छु,’ उनी भन्छिन्।

हाल धरान–८ बरगाछीमा बस्दै आएकी छिन्। ‘रेडियोकर्मी हुनु भनेको कार्यक्रममार्फत स्रोताको माया पाउनुजत्तिको हो,’ उनी भन्छिन्। विवाह भएपछि रेडियो, गीत–संगीत क्षेत्रबाट करिब १२ वर्ष अलग हुँदा समय कटाउन आफूलाई गाह्रो भएको उनी बताउँछिन्। ‘त्यतिबेला कम्ती गाह्रो भएन,’ उनी भन्छिन्, ‘मैले संकलन गरेका र गाएका लोकलयका करिब चार दर्जन गीत विभिन्न एफएम र रेडियो नेपालबाट बज्दा सन्तोष मानेर बसेकी थिएँ। अहिले पुनः रेडियोमा बोल्न पाउँदा पुरानै समयमा छुजस्तो लागेको छ।’

पूर्वका विभिन्न ठाउँमा आयोजना हुने सांगीतिक कार्यक्रममा उनी पुग्छिन्। उनका पुराना फ्यानले बोलाएर सम्मान गर्ने गरेका छन्। तर, आफ्नो एकल एल्बम नहुँदा आफू ओझेलमा परेको उनी बताउँछिन्। सुनाउँछिन्, ‘अरू गीतका भन्दा नेपाली लोकलयका गीतका स्रोता बढी भएकाले मेरो संकलन र स्वरका गीत समेटेर एल्बम निकाल्ने तयारीमा छु। त्यससँगै लोकसंस्कृति झल्काउने गरी म्युजिक भिडियो बनाउनेछु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.