‘नमस्ते’ भन्दै सम्बोधन सुरु गरेका सीले के-के भने ?

‘नमस्ते’ भन्दै सम्बोधन सुरु गरेका सीले के-के भने ?

नमस्ते,

चिनियाँ भाषामा लेखिएको नमस्ते पढेको त्यति राम्रो सुनिएन, बुझिएन होला। त्यति राम्रो छैन होला। शरद ऋतुमा नेपालमा सयौं फूलहरू फुलेका छन्। सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु।

यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो। यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें। नेपालको राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित छु। भविष्यप्रति मेरा आशाहरू जागेका छन्। मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन्।

चीन र नेपालवीच दौत्य सम्बन्ध भएको आधा शताब्दीभन्दा बढीको अवधिमा दुई देशले छिमेकी मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धको विषद् नमूना पेश गरेका छन्। मैले राष्ट्रपतिज्यूलाई के भन्न खोजेको हुँ भने चीन र नेपालबीच कुनै समस्या छैन, मित्रता मात्र छ। सम्माननीय राष्ट्रपति भण्डारी र मैले द्वीपक्षीय चुनौती र कठिनाइ सामना गर्दै साझा हित हुने सहकार्य गरेर विकास र समृद्धितर्फ उन्मुख हुने पुस्तौं पुस्ताको रणनीतिक साझेदारी सम्बन्ध स्थापित गर्ने निर्णय गरेका छौं। मलाई आशा छ, दुई देशबीच अझ सुविधाजनक सम्बन्ध निर्माण हुनेछ।

हामीले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं। अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाइ त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौं। केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्ग परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौं। बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको निर्माण गर्नेछौं। र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं। मलाई आशा छ, दुई देशका जनताबीचको समझदारी बढ्नेछ।

भूकम्पपश्चात्को पुनर्निर्माण परियोजनाहरूलाई हामीले सक्रियताका साथ अगाडि बढाउँदैछौं। सन् २०२० नेपाल भ्रमण वर्षको अवधिमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकहरूलाई नेपाल आउन उत्प्रेरित गर्नेछौं। हामी शिक्षा तथा सांस्कृतिक क्षेत्रका कार्यहरूमा लगानी बढाएर जनताबीचको समझदारी बढाउनेछौं। दुई देशका बढीभन्दा बढी शहरहरूलाई भगिनी सहरका रुपमा प्रस्ताव गर्न पनि उत्पे्ररित गर्नेछौं। जसबाट दुई देशबीचको मित्रताको बीज अंकुरण होओस् भन्ने चाहन्छौं।

भर्खरै राष्ट्रपतिज्यूले उल्लेख गर्नुभयो, लुम्बिनी बुद्धको जन्मस्थल हो। चीनमा बुद्ध धर्म मान्ने मान्छेहरूको संख्या संसारमा सबैभन्दा बढी छ। हुन त भारत र नेपालमा पनि बुद्ध धर्मका अनुहायी बढि नै छन्। नेपालमा जस्तै बुद्ध धर्म अहिले चीनमा पनि स्थानीय धर्म बनेको छ। मेरो विचारमा आगामी दिनमा बढीभन्दा बढी बुद्ध धर्म मान्ने चिनियाँहरूले नेपालमा पर्यटन गर्नेछन् र धर्मको आदानप्रदानका लागि पनि आउनेछन्। मलाई आशा छ, दुई देशले अझ बहुपक्षीय सहकार्य गर्नेछन्।

वर्तमान अवस्थामा आत्मरक्षावाद, एकत्ववाद र प्रभुत्ववाद धेरै व्याप्त छ। हामीले बहुलवाद र आर्थिक उदारीकरणलाई समर्थन गर्नुपर्छ। जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ। जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धताहरूमा नेपाल पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौं। नेपाली पक्षका साथ हामी जलवायु परिवर्तनको सम्बोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाइ हाम्रो हाम्रो साझा, विशेष गरी हिमाल, सगरमाथाको रक्षा गर्न सदा तत्पर रहनेछौं।

मलाई धेरै खुसी लागेको छ, सबै नेपाली नेताहरूसँग हामीले मतैक्य हासिल गरेका छौं। यसपटकको भ्रमणका क्रममा मैले नेपाली नेताहरूसँग मिलेर चीन र नेपालबीचको सम्बन्धका नयाँ खाका र योजनाहरू बनाउन सकेकोमा म अत्यन्तै खुसी छु। भोलि म प्रधानमन्त्री केपी ओलीसँग पनि दुईपक्षीय सम्बन्ध र हाम्रो साझा चासोका बारेमा विचार आदानप्रदान गर्नेछु। म प्रायः भन्ने गर्दछु, हामीले बनाएका र अघि बढाएका योजनाहरुलाई पूरा गरेरै छोडौं। हामीले चीनमा पनि यस्तै गरेका छौं।

भर्खर हामीले जनवादी गणतन्त्र चीनको स्थापना भएको ७० वर्ष बनाएका छौं। र दुई शतवाषिर्कीका दुई लक्ष्य पनि अघि बढाएका छौं। यसको पहिलो लक्ष्य हामी आगामी वर्ष साकार तुल्याउने छौं। दोस्रो लक्ष्य चाहिँ ३० वर्षपछि मात्र पूरा होला। तर, हाम्रो काम गर्ने मार्ग स्पष्ट छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ।

हामी संयुक्त प्रयासद्वारा द्वीपक्षीय सम्बन्धको नयाँ भविष्य पनि निर्माण गरौं। अब म उपस्थित सबैका सामु प्रस्ताव गर्न चाहन्छु। नेपालको समद्धि सुखी जीवनका लागि, चीन र नेपालबीचको पुस्तौंपुस्ताको मित्रताका लागि, राष्ट्रपति विद्यादेवी भण्डारीलगायत यहाँ उपस्थित सबैको सुस्वास्थ्यका लागि चियर्स ! ग्याम्वे।

(नेपाल भ्रमणमा आएका राष्ट्रपति सीले सोल्टी होटलमा आयोजित रात्रिभोजमा गरेको सम्बोधनको अनुवादित र सम्पादित अंश)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.