अस्पताल सुधार गर्दै प्रदेश ३ सरकार

अस्पताल सुधार गर्दै प्रदेश ३ सरकार

हेटौंडा : प्रदेश ३ को सरकार सरकारी अस्पतालको उपचार सेवा चुस्तदुरुस्त बनाउन अघि सरेको छ। प्रदेशभरिका सरकारी अस्पतालको उपचार कमजोर रहेको पाइएपछि प्रदेश सरकारले जिल्ला अस्पतालहरूलाई बिरामीको उपचारमा सक्षम बनाउन सुदृढीकरण अभियान थालेको छ। यसका लागि यस वर्ष ८ जिल्ला अस्पतालको सेवा सुदृढीकरण गर्न सामाजिक विकास मन्त्रालयले ९ करोड ५० लाख रुपैयाँ खर्चिने भएको छ।

‘प्रायःजसो जिल्ला अस्पताल रेफर सेन्टर मात्र भएको विभिन्न अनुगमनको क्रममा देखियो। संघीय सरकारबाट सहयोग नपाएका अस्पताललाई हामीले पहिलो चरणमा सुधार गर्नका लागि बजेट विनियोजन गरेका छौं,’ सामाजिक विकासमन्त्री युवराज दुलालले भने, ‘भौतिक पूर्वाधार वा अस्पताललाई आवश्यक प्रविधि उपलब्ध गराउने तयारी भइरहेको छ।’ उनले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार अस्पतालको सेवा विस्तार एवं सुधार गरी सुविधासम्पन्न बनाउन कार्यविधि बनाइसकेको र सोही आधारमा काम अघि बढाउने बताए।

‘अस्पतालहरूलाई विनियोजन गरिएको बजेट खर्च गर्न कर्मचारीको समेत अभाव देखियो। त्यसकारण कार्यविधि नै बनाएर आवश्यक पु“जीगत खर्च गर्न सक्ने गरी हामी अगाडि बढ्दैछौं’, मन्त्री दुलालले भने। जिल्ला अस्पतालबाट अधिकतम गुणस्तरीय सेवा सुनिश्चित गर्न गत वर्षबाटै यो कार्यक्रम सुरु गरिएको थियो। यस वर्ष भक्तपुर अस्पताललाई १ करोड ५० लाख, हेटौंडा अस्पताललाई १ करोड ५० लाख, त्रिशूली अस्पताल नुवाकोटलाई १ करोड २५ लाख, सिन्धुली अस्पताललाई १ करोड २५ लाख, चौतारा अस्पताल सिन्धुपाल्चोकलाई १ करोड, धादिङ अस्पताललाई १ करोड २५ लाख, रामेछाप अस्पताललाई १ करोड र रसुवा अस्पताललाई ७५ लाख बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

न्यूनतम सेवा मापदण्डअनुसारको निर्देशिका मन्त्रालयबाट पठाएपछि अस्पतालले सेवा थप्ने योजना बनाएपछि काम अगाडि बढ्ने मन्त्रालयले जनाएको छ। गत वर्ष नै जिल्ला अस्पताल सुधार्ने प्रयास गरे तापनि सोचेअनुरूप काम गर्न नसकेको भन्दै यो वर्ष प्रभावकारी तवरबाट काम गर्न मापदण्ड तोकेको मन्त्रालयको नीति तथा जनस्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले जानकारी दिए। ‘अस्पताल सुदृढीकरणका लागि गतवर्षबाटै हामीले काम सुरु गरे तापनि सुरुवाती समय भएर होला सोचे जति सफलता प्राप्त गर्न सकेनौं, यो वर्ष भने योजनाले पूर्णता पाउने मन्त्रालयको अपेक्षा छ’, उनले भने।

विनियोजित रकमको सदुपयोग भए नभएको मन्त्रालयले अनुगमन समेत गर्ने विष्टले बताए। सुदृढीकरण गर्न दिइएको रकमले जिल्ला अस्पतालले आवश्यक औजार, उपकरण खरिद तथा अन्य पूर्वाधार निर्माण, फोहोरमैला व्यवस्थापन तथा संक्रमण रोकथाम कार्यक्रम, भौतिक संरचना र उपकरण मर्मत लगायतका काम गर्न सक्छन्। सामाजिक विकासमन्त्री दुलालले ४ अस्पतालमा छड्के अनुगमन गरिसकेको मन्त्रालयले जनाएको छ। अनुगमन क्रममा उनले अस्पताल नसुधारे कारबाही गर्ने चेतावनी दिएको मन्त्री दुलालको सचिवालयले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.