जापानमा आँधीले २५ को मृत्यु

जापानमा आँधीले २५ को मृत्यु

तोक्यो : जापानको राजधानी तोक्योलगायतका स्थानमा आएको ‘हागिबिस’ आँधीका कारण २५ जनाको मृत्यु भएको छ। आँधीपछि करिब १५ जना हराइरहेका अधिकारीले बताएका छन्।

आँधीसँगै भएको वर्षाका कारण कैयौँ नदीमा बाढी आएको र नदीको पानी बस्तीमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो। ‘आँधीका कारण ३ लाख ७६ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको, १४ हजार घरमा खानेपानीको अभाव भएको छ’, प्रमुख सचिव योशिहिदे सुगाले भने।

उद्धारकर्ताले दिएको जानकारीअनुसार शनिबार साँझ आएको आँधीका कारण कैयौँ स्थानमा बाढी पहिरो गएको र कतिपय बस्ती डुबानमा परेका छन्। सरकारले आँधीपछि २७ हजार स्वयंसेवकलाई उद्धार र राहतका लागि खटाएको जनाएको छ। भू–संरचना, यातायात तथा पर्यटन मन्त्रालयले आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको र २१ नदीमा बाँध फुटेका कारण ठूलो क्षति भएको उल्लेख छ।

हागिबिस आँधी जापानको होन्सु द्वीपमा शनिबार साँझ ७ बजे प्रवेश गरेको थियो। हालैका वर्षमा यो निकै शक्तिशाली आँधी हो। यो आँधी प्रतिघण्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा थियो।

स्थानीयहरूले आँधी विगत ५० वर्षयताकै शक्तिशाली भएको बताएका छन्। आँधीको प्रभाव सबैभन्दा धेरै नागानो राज्यमा परेको छ। अधिकारीले आँधीपछि नागानो र छिमेकी राज्यका शहरहरूका बासिन्दालाई सुरक्षाका लागि अझै सावधानी अपनाउन निर्देशन गरेका छन्। मन्त्रालयका अनुसार कतिपय बस्तीहरूमा बाढीको पानी करिब पाँच मिटरसम्म जमेको बताइएको छ भने त्यहाँका बासिन्दाले उद्धारका लागि घरका तलाबाट हात हल्लाएर अनुरोध गरेका भिडियोहरू टेलिभिजन तथा सामाजिक सञ्जालमा देखिएका छन्।

नागानो क्षेत्रमा चल्ने जापानका बुलेट रेलहरूसमेत डुबानका कारण अवरुद्ध भएका छन्। रेल कम्पनीका अनुसार १० वटा रेलका १२० डब्बामा क्षति पुगेको छ। जापानको मौसम विज्ञानसम्बन्धी निकायले तोक्यो र प्रभावित १२ वटै राज्यमा भारी वर्षा हुने सम्भावना रहेको बताउँदै नदी वरपरका क्षेत्रमा सतर्क बन्न सूचना जारी गरेको छ। आइतबारसम्म तुफानको प्रभाव कम भएको बताइएको छ। -सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.