कांग्रेस चियापान : सहकार्यमा जोड

कांग्रेस चियापान : सहकार्यमा जोड

काठमाडौं : सत्तारुढ र प्रतिपक्षी दलबीचको सम्बन्ध चिसिँदै गएका बेला नेताहरूले भने सहकार्यमा जोड दिएका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसले बर्सेनि कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताले राजनीतिक विमतिबीच पनि सहकार्यको आवश्यकता औंल्याएका हुन्। उनीहरूले विगतमा दलबीच चरम मतभेद हुँदा पनि छलफलबाटै सहमतिमा पुगिने गरेको प्रसंग उल्लेख गरेका थिए।

प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रका लागि सत्तारुढ दल र कांग्रेस प्रतिबद्ध रहेको बताए। उनले कांग्रेसका नेतासँग दशकौं पुरानो मित्रता रहेको भन्दै आगामी दिनमा पनि लोकतन्त्र रक्षार्थ सँगै अगाडि बढ्ने बताए। ‘४५ वर्षदेखि शेरबहादुर देउवाजीसँग मेरो मित्रता छ। हामी सँगै जेल बस्यौं। लोकतन्त्रका लागि सँगै लड्यौं। रामचन्द्र जी, रामशरण महतजीसँग पनि उहिलेदेखिकै सम्बन्ध हो। हामीसँगै जेलदेखि आन्दोलनमा लडेका छौं,’ उनले भने, ‘लोकतन्त्रका लागि सबै लड्न र यसलाई तल–माथि हुन नदिन हामी प्रतिबद्ध छौं।’ उनले कांग्रेसले प्रत्येक वर्ष आयोजना गर्ने चियापान कार्यक्रमको निरन्तरता आवश्यकतामा जोड दिए। ‘कांग्रेसले जे गरेको छ, राम्रो गरेको छ। कांग्रेसका सबै मित्रलाई जय नेपाल,’ नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने।

नेकपाकै अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राजनीतिमा सबै विषय सहमतिकै आधारमा समाधान हुँदै आएको बताए। उनले नेपालको शान्ति प्रक्रियाको एक हस्ताक्षरकर्ताका रूपमा कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको सहकार्यको राजनीतिक प्रसंग उल्लेख गर्दै सहमतिको राजनीतिमा जोड दिए। ‘हेर्दै जाऔं, आगामी दिनमा कसरी राजनीतिले कोल्टे फेर्छ। कांग्रेसको चियापानमा आउँदा सहयात्रीकै आँगनमा आएजस्तो लाग्छ,’ उनले भने, ‘आगामी दिन सहमतिकै रूपमा अगाडि बढाउनेछौं।’ दुई तिहाइ सरकार र कांग्रेसबीचको सम्बन्धबारे पत्रकारले सोधेको प्रश्नमा दाहालले संक्षिप्त जवाफ दिँदै भने, ‘अहिले दुई तिहाइको कुरा नगरौं।’

कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक रूपमा जतिसुकै मतभेद भए पनि छलफल र संवादबाटै सबै विमतिको समाधान निस्किने बताए। उनले दलबीचका मतभेद कम गर्न चियापानजस्ता कार्यक्रमले भूमिका खेल्ने गरेको बताए। ‘यस्ता कार्यक्रम दलका नेताबीच भेटघाट गर्ने, मित्रता बढाउने संस्कृतिका रूपमा विकास भएका छन्,’ उनले भने, ‘दलबीच कुनै विमति भए छलफल र संवादबाटै हुन्छन्। सहकार्यको विकल्प छैन।’

व्यवस्थित चियापान

कांग्रेसले आयोजना गर्ने हरेकजसो कार्यक्रममा एउटा विषय सधैं उठ्ने गर्छ, ‘त्यो हो व्यवस्थापनमा कमजोरी।’ व्यवस्थापन राम्रो नहुँदा कार्यक्रम नै भद्रगोल र फितलो हुने गरेको भन्दै कांग्रेसको आलोचना हुँदै आएको थियो। तर, आइतबारको चियापान कार्यक्रमले भने कांग्रेसमाथि लाग्ने गरेकोे फितलो व्यवस्थापनको आरोप पखालिदिएको छ।

चियापान कार्यक्रममा आउने अतिथिको स्वागतका लागि पार्टी सभापतिसहित सबै पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यहरू लाइन लागेर उभिएका थिए। कांग्रेसको चियापानको व्यवस्थापन चुस्त भएको भन्दै नेकपाका शीर्ष नेताहरूले प्रशंसा गरे।

‘कांग्रेसले अझै व्यवस्थित र अनुशासित रूपमा चियापान कार्यक्रम आयोजना गरेको पाएँ,’ नेकपा अध्यक्ष दाहालले भने, ‘चियापानमा आउँदा कांग्रेसमा उत्साह देखेँ।’ उनले कांग्रेसले सुरु गरेको चियापान कार्यक्रम अहिले राष्ट्रिय सांस्कृतिक कार्यक्रमकै रूपमा स्थापित भइसकेको उल्लेख गरे।

कार्यक्रममै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि व्यवस्थापनको प्रशंसा गरे ‘विगतमा कांग्रेसको चियापान कार्यक्रम अव्यवस्थित हुन्छ भनेर प्रश्न उठ्ने गरेको थियो तर अहिले एकदमै राम्रो व्यवस्थापन भएको पाइयो,’ उनले व्यंग गर्दै भने, ‘व्यवस्थापनको कुरा कम्युनिस्टबाट सिक्नुपर्छ भनिन्थ्यो। राम्रा कुरा जोबाट सिके पनि हुन्छ।’

चियापान कार्यक्रमको समाचार संकलनका लागि पत्रकारका लागि नेताहरूको मञ्चभन्दा ठीक अगाडि अग्लो मञ्च बनाइएको थियो भने नेताहरूलाई पत्रकारसँग कुरा गर्न छुट्टै पोडियमको व्यवस्था गरिएको थियो। विगतमा चियापानमा माल श्री धुन बजाइने गरिएकोमा यसपटक भने नेवारी पहिरनमै सजिएका कलाकारले माल श्री धुन बजाएका थिए। चियापान कार्यक्रमको सीसीटीभीबाट निगरानी गरिएको थियो। कांग्रेसले सामाजिक सञ्जाल फेसबुकबाट चियापान कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो। कार्यक्रममा नेपाल तरुण दललाई स्वयंसेवी भूमिका खटाइएको थियो।

चियापानमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू, पूर्वप्रधानमन्त्री दाहाल, नेपाल, झलनाथ खनाल, भट्टराई, राप्रपाका अध्यक्ष कमल थापा, राजपाका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलगायत दलका नेता सहभागी थिए। त्यस्तै, सरकारी कर्मचारी, विभिन्न कूटनीतिक नियोगका अधिकारी र सुरक्षा निकायका अधिकारीको कांग्रेस चियापानमा सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.