सीको नेपाल भ्रमण स्वर्णिम तर सुगन्धहीन
चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणले नेपालमा राजनीतिक तथा आर्थिक तरंग सिर्जना गरेको छ। प्रथमतः सी अमेरिकापछिको आर्थिक रूपले शक्तिशाली राष्ट्रका नेता हुन्। दोस्रो उनी भारत भ्रमणलगत्तै नेपाल आउनाले क्षेत्रफलमा सानो भए पनि सामरिक महत्वको कारणले नेपाललाई पनि भारतसरह नै चीनले मान्यता दिएको प्रस्ट भएको छ। तेस्रो, यस्ता व्यस्त व्यक्तित्वको भ्रमणले नेपाललाई चीनले प्रदान गरेको प्राथमिकतालाई प्रतिविम्बित गरेको छ। भारतमा आइसकेपछि सोझै चीन नगई नेपाल आउनुले यसलाई घामजस्तै छर्लंग पारेको छ।
सन् १९९५ मा भएको जियाङ जेमिनको भ्रमणपछि २३ वर्षको अन्तरालमा भएको सीको भ्रमण देशका लागि उपलब्धि हो। यसका लागि सरकार बधाईको पात्र छ। विरोधी दलका नेतालाई पनि भेट्ने व्यवस्था गरेकोमा सरकारले प्रतिक्षारत सरकारलाई पनि महत्व दिएर देश चीनसितको सम्बन्धको मामलामा एक भएको सन्देश प्रवाह भएको छ। यो पनि स्वागतयोग्य हो। मधेसी दलले आफूलाई सहभागी नगराएको भन्दै गुनासो व्यक्त गरेका छन्। हातमा जितेर सरकार बित्तामा किन हारेको हो बुझ्न सकिएन।
राष्ट्रपति सीले भारतमा जुन आतिथ्य प्राप्त गरे, त्यसको तुलनामा नेपालमा दिइएको आतिथ्य त्यति उल्लेखनीय भएन। जब कि नेपालले भारतको समानान्तर अथवा सीमान्त हिसाबले झन् राम्रो व्यवस्था गर्न सक्थ्यो। राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य मन्त्रीको विमानस्थलमा भएको उपस्थितिले नेपालको चीनप्रतिको सौहार्दतालाई त दर्शायो, तर यो पर्याप्त भएन। भारतले ऐतिहासिक परिघटनाका आधारमा योजना गरेर भ्रमणलाई अविस्मरणीय बनाएको थियो। फलस्वरूप सीले भारती आतिथ्यको मुक्तकण्ठले प्रशंसा पनि गरे।
भारतले सीको भ्रमण महाबलिपुरममा आयोजना गरेको थियो। योभन्दा पहिले चीनका प्रधानमन्त्री चाउ एन लाईले पनि सन् १९५६ मा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको निमन्त्रणामा यस स्थानको भ्रमण गरेका थिए। यो सहरको इतिहास सातौं शताब्दीभन्दा अगाडिको छ। महाबलिपुरममा पल्लब वंशका महेन्द्रसिंह बर्मन (सन् ६००-६३०), नरसिंह बर्मन (सन् ६३०-६८०), राजसिंह बर्मन (सन् ७००-७२८) आदि राजाले राज्य गरेका थिए। यहाँका रथ मन्दिर, गुफा मन्दिर तथा संरचनात्मक मन्दिर अति नै लोकप्रिय छन्। संरचनात्मक मन्दिरमा यहाँको सुप्रसिद्ध सोर मन्दिर राजा राजसिंह बर्मनको राज्यकालमा बनेको थियो। ढुंगाजस्तो जर्जर वस्तुबाट पनि कसरी सौन्दर्य सिर्जना गर्न सकिन्छ भन्ने सम्बन्धमा यी सम्पदाले पर्याप्त रूपमा उजागर गरेका छन्। चिनियाँ यात्री हुएन साङले यो सहरको सातौं शताब्दीमा भ्रमण गरेका थिए। यसरी महाबलिपुरमको सातौं शताब्दीका परिघटनालाई आधार बनाएर गरिएको भ्रमण आयोजनामा राष्ट्रपति सी मुग्ध भएका थिए।
राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य मन्त्रीको विमानस्थलमा भएको उपस्थितिले नेपालको चीनप्रतिको सौहार्दतालाई त दर्शायो, तर यो पर्याप्त भएन।
नेपालमा पनि चीनसित सम्बद्ध यस्ता स्थानको कमी छैन। मिथकीय युगको कुरा गर्ने हो भने मञ्जु श्रीले चीनबाट नेपाल आएर चोभारबाट उपत्यकाको पानीको बहिर्गमन गराएका थिए। यो स्थान अहिले पनि विद्यमान छ। यसको नजिकै जलविनायक गणेशको भव्य मन्दिरपरिसर पनि रहेको छ। महाबलिपुरममा पल्लबराजाको राज्यकालमा हु एन साङ गएका थिए भने उनी नेपालमा पनि अंशुबर्माका (सन् ६०४-६२१) पालामा आएका थिए। त्यतिबेला चीनमा टाङ वंशले राज्य गरेको थियो। उनले नेपालको विभिन्न विषयमा वर्णन गरेका छन्। त्यतिबेला रहेको कैलाशकूट भवनका बारेमा पनि उनले लेखेका छन्। लिच्छविकालीन राजधानी हाँडीगाउँमा अहिले कैलाशकूट भवनको प्रारम्भिक उत्खनन हुँदै छ। यो स्थानमा पनि राष्ट्रपति सीलाई लैजान सकिन्थ्यो। सी बेइजिङमा जन्मेका र यस सहरमा नेपालका तेह्रौं शताब्दीका स्थापत्य शास्त्री अनिकोले बनाएको श्वेत सत्तल अथवा ह्वाइट पागोडाले उनलाई प्रभावित बनाएको हुनुपर्छ। यो अर्काे अभिरुचिपूर्ण सन्दर्भ हो।
हुन त यस विषयमा सी अनभिज्ञ छन् भन्न खोजेको होइन। उनको लेखमा यी विषयमा यथेष्ट चर्चा गरिएको छ। तर सुनेको या पढेका आधारमा लेख्नु र प्रत्यक्ष रूपमा देख्नुमा आकाश-जमिनको फरक पर्छ। यस्ता स्थानमा सीलाई लैजान नसक्नु हाम्रो कमजोरी हो। योभन्दा पनि महत्वपूर्ण कुरा त के भने भारतमा राजधानी दिल्लीभन्दा बाहिर महाबलिपुरममा भ्रमण गराएजस्तै सीलाई लुम्बिनीमा पदार्पण गराउन सकिन्थ्यो। यो बुद्धको जन्मस्थल हुनुका अतिरिक्त यहाँ हुएन साङभन्दा पनि पहिले सेङ साइ सन ३७५ मा, फा हेन सन् ३९९ मा र पछि बाङ हुएन त्से सन् ६५६ मा आएका थिए।
महाबलिपुरमको समानान्तर र अझ ऐतिहासिक रूपले भन्ने हो भने महाबलिपुरमभन्दा पनि पहिलेको स्थान अवलोकन गराउन सकिन्थ्यो। सरकारमा कल्पनाशीलता तथा सिर्जनशीलताको कमीले यो सुवर्ण अवसरबाट नेपाल वञ्चित भयो। जसरी तमिलनाडु सरकारले सक्रियताका साथ सीको भ्रमणको व्यवस्थापन गरेका थिए र जसरी उनीहरूले गौरवानुभूति गरेका थिए, ५ नं प्रदेशले पनि जोस तथा जाँगरका साथ सहभागिता प्रदर्शन गर्ने थियो। काठमाडौंमा भएको भ्रमणमा ३ नं प्रदेशका मुख्यमन्त्रीको विमानस्थलमा स्वागत गर्न गएको बाहेक कमसेकम सर्वसाधारण जनताले कतै पनि उल्लेख्य रूपमा उपस्थिति देख्न सकेनन्।
अहिले संघीय सरकारले प्रान्तीय सरकारलाई महत्व नदिएको गुनासो व्यापक भएको छ। यसलाई पनि यस भ्रमणले अलिक मत्थर पार्न सकिने थियो। काठमाडौंमा भ्रमण गराउन सुरक्षाको दृष्टिले सहज भएको तर्क दिन सकिन्छ, तर यो तर्कको अर्थ छैन। किनभने काठमाडौंमा पनि चीनले सुरक्षाको अभिभारा बहन गरेको थियो। नेपाली सुरक्षा हात्तीको देखाउने दाँतजस्तो परिपूरक मात्र थियो। लुम्बिनी भ्रमण तय भएको भए त्यहाँ पनि चीनले सुरक्षाको जिम्मेवारी लिने थियो।
यस्तो हुँदाहुँदै पनि नेपालका लागि सीको भ्रमण अति नै उपलब्धिपूर्ण भयो। बीसवटा विषयमा हस्ताक्षर भयो। सी नेपालको भूमिमा अवतरण गरेदेखि बेइजिङ अभिमुख विमानमा पदार्पण गरुन्जेल सधैं प्रफुल्ल मुद्रामा देखिए। यस हिसाबले यो भ्रमणलाई नेपालको कूटनीतिक इतिहासको एक स्वर्णिम परिघटनाका रूपमा चित्रण गर्न सकिन्छ। तर, यसलाई अझ सुगन्धमय पनि बनाउन सकिन्थ्यो। त्यस हिसाबले यसलाई एक गुमेको अवसरका रूपमा पनि लिन सकिन्छ। एक प्रकारले भन्ने हो भने भारतले पिठो बेचेर चामलको श्रेय लियो तर हामीले चामल हुँदाहुँदै पनि पिठोको भाउमा पनि बेच्न सकेनौं।
भारत र चीनका शीर्षस्थ नेताको भविष्यमा पनि भ्रमण हुने छ। नेपालले भविष्यमा कसरी भ्रमणलाई अविस्मरणीय बनाउने भन्ने सम्बन्धमा अहिल्यै गृहकार्य गर्न आरम्भ गर्नुपर्छ। नत्र अन्तिम क्षणविना पर्याप्त तयारी भएको भ्रमणबाट चाहेजति फाइदा लिन सकिँदैन। नेपालले अहिलेसम्म पनि शास्त्रीय अथवा परम्परागत रूपमा विदेशी पाहुनाको भ्रमणको आयोजना गर्ने गरेको छ। यस विषयमा पनि अनुसन्धान, अध्ययन तथा नवप्रवर्तनको आवश्यकता छ।
अनुसन्धान, अध्ययन र नवप्रवर्तनलाई विगतमा राज्यले महत्व दिन सकेन। दुईतिहाइको शक्तिशाली सरकारबाट यस सम्बन्धमा धेरै आशा गरिएको थियो। तर जुन जोगी आए पनि कान चिरेका भनेजस्तै यो सरकारले पनि यस क्षेत्रमा सिन्कोसमेत भाँच्न सकेन। अनुसन्धान, अध्ययन तथा नवप्रवर्तनका केन्द्र विश्वविद्यालयमा उपकुलपति तथा अन्य पदाधिकारीको स्थान महिनैाँदेखि रिक्त रहेर पनि अहिलेसम्म पूर्ति नहुनुले यसलाई प्रस्टताका साथ प्रतिविम्बित गरेको छ। यो दुर्भाग्यपूर्ण तथा लज्जापूर्ण पनि हो।