प्रेम र आर्थिक लेनदेनमा कुरा नमिलेपछि हत्या
फिदिम : माइक्रो फाइनान्सको किस्ता तिर्ने मिति नजिकिदै थियो । तर, पाँचथरको हिलिहाङ ६ का १९ वर्षीय घनेन्द्र लावती र उनको परिवारसँग किस्ता तिर्ने रकम जुटेको थिएन । रकम अभावमा उनी र उनको परिवार निकै छटपटिएको थियो ।
मंगलबार गाउँमा एनएमबी माइक्रो फाइनान्सको लगानी भएका दुईवटा समूहको फाइनान्सले बैठक बोलाएको थियो । उक्त बैठकमा एनएमबी माइक्रो फाइनान्स गोपेटार शाखाकी कर्मचारी सुजता तामाङ रकम संकलनका लागि गएकी थिइन् । समूहबाट उनले रकम संकलन गरेर कार्यालय फर्कदै गर्दा उनको हत्या भयो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार रकम बोकेर कार्यालय फर्कने क्रममा हिलिहाङ ६ स्थित जंगलको बीचमा पर्ने एउटा खोल्सामा उनको हत्या भएको थियो ।
हत्यापछि उनीसँग भएको ८१ हजार ७० रुपैयाँ लुटिएको थियो । सुजताले रकम बोकेर कार्यालय फर्कदै गरेको थाहा पाएका लावतीले रकम लुट्ने उद्देश्यले धारिलो हतियार बोकेर बाटो ढुकेको खुल्नमा आएको छ । 'रकमकै लागि सुजताको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,' कुँवर भन्छन्, 'सुजताले रकम बोकेको लावतीले थाहा नपाएको भए उनको हत्या नहुन सक्थ्यो ।'
बैशाख २९ गते हिलिहाङ ४ कात्तिकेकी १५ वर्षीय किशोरी सीतल योङहाङको धारिलो हतियार प्रयोग गरी हत्या भयो । हत्यामा संलग्न फाग्गुनन्द गाउँपालिकाका पदम तामाङलाई २० दिनपछि प्रहरीले झापाको दमकबाट पक्राउ गरेको थियो । पक्राउ परेपछि प्रहरीसँगको बयानमा तामाङले प्रेममा धोका खाएपछि सीतलको हत्या गरेको बताएका थिए ।
'प्रेममा खटपट भएपछि पदम तामाङले सीतलको हत्या गर्ने योजना बनाएको पाइयो,' कुँवर भन्छन्, 'हत्या हुनुभन्दा एक महिना अघिदेखि सीतल र पदमको प्रेममा खटपट सुरु भएको रहेछ । उनीहरु एक महिना अघिदेखि सम्पर्कबिहीन भएका रहेछन् ।'
जेठ ६ गते राति मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा एउटै परिवारका नाताभित्रका ९जनाको कारुणिक हत्या भयो । बमबहादुर फियाकका छोरी ज्वाई र नातिनीहरुको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । प्रहरीको अनुसन्धानले फियाककै कान्छा ज्वाँइ मानबहादुर माखिमले ९ जनाको हत्या गरेको पुष्टि गरेको छ ।
अनुसन्धानको क्रममा ससुरा बमबहादुर र कान्छा ज्वाइँ मानबहादुरबीच आर्थिक लेनदेनमा कुरा नमिलेपछि किचलो सुरु भएको खुल्नमा आएको थियो । ससूरा बमबहादुरले मानबहादुरलाई विदेश जान दिएको रकम ज्वाइँ मनबहादुरले सहज रुपमा फिर्ता नगरेपछि ससूरा ज्वाइँको परिवारमा तित्तता बढेको पाइएको प्रहरीले जनाएको छ ।
'आर्थिक किचलोकै कारण ससूरा ज्वाइँको परिवारमा किचलो सुरु भएको पाइयो,' पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तिले भने, 'द्वन्द्व बढ्दै मानबहादुरकी श्रीमती मनकुमारी फियाकले सम्बन्ध विच्छेदको मुद्धा अदालतमा दर्ता गरेको पाइयो । उक्त हत्याकाण्डमा अन्य प्रमाण फेला नपरेमा रकम कारण ससूराली र श्रीमतीसँगको प्रेमिल सम्बन्ध बिग्रिपछि माखिमले हत्याकाण्ड मच्चाएको देखिएको छ ।
जिल्लामा घटेका तीनवटा हत्या अनुसन्धानबाट अधुरो प्रेम र रकमका कारण हत्या भएको पाइएको हो । हत्यामा संलग्नहरुको बयानको आधारमा उक्त कुरा पुष्टि भएको छ।