उपल्लो मुस्ताङको मराङमा सामुदायिक होम-स्टे संचालनमा
जोमसोम : उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ मराङमा पर्यटक लक्षित होम-स्टे संञ्चालनमा आएको छ । सामान्यतया कृषि र पशुपालन व्यवसायमा आश्रित स्थानीयवासी होम-स्टे संञ्चालनसँगै पर्यटन व्यवसायमा जोडिएका हुन् ।
स्थानीय तहको सिफारिसमा गण्डकी प्रदेशले मुस्ताङमा ३ वटा होम-स्टे सुचिकृत गरेको हो । जसमध्ये उपल्लो मुस्ताङको लोमान्थाङ चुमजुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको मराङ छन् भने तल्लो मुस्ताङको घरपझोङ-५ ठिनी होम-स्टे प्रदेशको छनौटमा परेको हो ।
प्रदेश सरकारले गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष र भिजिट नेपाल २०२० लाई लक्ष्य गरेर होमस्टे विस्तार गरेको सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए ।
प्रादेशिक सरकारको होम-स्टे सुचिकृतसँगै विकट गाउँ मराङका ५ घरधुरीले प्रारम्भिक होम-स्टे संञ्चालन गरेका हुन् । आर्थिक वर्ष २०७५/०७६ मा विनियोजित होम-स्टे १० लाख बजेटको सहयोगमा होम-स्टे पूर्वाधार निर्माणमा जोड दिइएको हो ।
यस्तै ,लोघेकर दामोदरकुण्ड गाउपालिकाले समेत होम-स्टेका लागि सहयोग गरेको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । होम-स्टेका लागि प्राप्त बजेटले शौचालय ,बाथरुम, बेडरुम साजसज्जालगायतको पूर्वाधार निर्माण भएको अध्यक्ष बिष्टले बताए ।
यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले मराङका ५ घरधुरीलाई होम-स्टे कुकिङ र पर्यटन आतिथ्यता सम्बन्धी तालिम प्रदान गरेको होम-स्टे संञ्चालन धावा गुरुङले जानकारी दिए ।
उनका अनुसार नया संञ्चालनमा रहेको होम-स्टेलाई पालिका र एक्यापमा दर्ता प्रक्रिया अघि बढेको उल्लेख गरे । राष्ट्रिय गौरवको आयोजना जोमसोम÷कोरला सडकको चराङ गाउँदेखि पञ्चिमतर्फ मराङ गाउँ पर्छ ।
मुख्य राजमार्गदेखि पैदल २० मिनेटको दुरीमा रहेको मराङमा ४६ घरधुरी छन् । होम-स्टे संञ्चालक धावा गुरुङले बिस्तारै होम-स्टे संख्या बढाउँदै लैजाने बताए । उपल्लो मुस्ताङको फरक भूगोल र मनोरम दृष्यहरुले त्यहाँ पुग्ने जोकोही पर्यटक मोहित हुने गर्छन् । नेपालकै सबैभन्दा पुरानो मानिएको लोघेकर ( घर गुम्बा ) मराङमा छ ।
यस्तै मराङमा पुग्ने पर्यटकले लाङबुछे भ्यु प्वाईन्ट,गोलाखा गुफा,ट्रेसर गुफा,ङ्ग्री पेनचेन फुट प्रिन्ट एण्ड गुफा ,स्याउ बगैचा र गासे फु अवलोकन गर्न सक्छन् । मराङ होम-स्टे पुग्ने पर्यटकले स्थानीय अर्गानिक खानाका परिकारसँगै स्थानीय कला संस्कृतिको अध्ययन गर्न पाइने जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिइन् ।
उनका अनुसार होम-स्टे व्यवस्थाककै सहयोगमा लोछेदिन टुर एण्ड ट्राभल्स र घोडाको व्यवस्था समेत गरिएको छ । उपल्लो मुस्ताङको कोरलानाका तथा लोमान्थाङ दरबार हेर्न आउने पर्यटक मराङ घुम्न आउने गरेको गुरुङले बताइन् ।