अर्थशास्त्रको नोबेल ३ जनालाई
काठमाडौं : यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अभिजीत बनर्जी, एस्थर दुफ्लो र माइकेल क्रेमरले संयुक्त रूपमा पाएका छन्।
बनर्जी भारतीय मूलका अमेरिकी हुन् भने फ्रान्सेली दुफ्नो उनकी पत्नी हुन्। माइकल क्रेमर भने अमेरिकी नागरिक हुन्। उक्त पुरस्कार विश्वस्तरमा गरिबी उन्मूलन गर्न गरिएको कामका लागि प्रदान गरिएको हो। नोबेल समितिले सोमवार उक्त घोषणा गरेको हो।
समितिले भनेको छ, ‘यो वर्षको पुरस्कार विजेताले गरेको शोधले विश्वस्तरमा गरिबीसँग लड्न हाम्रो क्षमतालाई उत्कृष्ट बनाउँछ। उहाँहरूको नयाँ प्रयोगले दुई दशकमा विकास अर्थशास्त्रको दृष्टिकोण नै बदलिदिएको छ। विकास अर्थशास्त्र वर्तमानमा शोधको एक प्रमुख क्षेत्र हो।’
५८ वर्षीय बनर्जी म्यासाच्युसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीमा अर्थशास्त्रका फोर्ड फाउन्डेशन अन्तरराष्ट्रिय प्राध्यापक हुन्।
बनर्जी संयुक्त राष्ट्रसंघ महासचिवको ‘सन् २०१५ पछिका विकासात्मक मुद्दाका विद्वान्हरूको उच्चस्तरीय समिति’ का सदस्य पनि हुन्। उनले सन् २००३ मा दुफ्लो र सेन्दिल मुल्लाइनाथनसँग मिलेर अब्दुल लतीफ जमील पोभर्टी एक्शन ल्याब (जे–पाल) स्थापना गरेका छन्।