बेनी–जोमसोम सडकमा सधैं सास्ती

बेनी–जोमसोम सडकमा सधैं सास्ती

बेनी : एक दशकअघि ट्रयाक खुलेको बेनी–जोमसोम सडक स्तरोन्नतिमा भएको ढिलाइले यात्रुलाई सास्ती भएको छ। ७६ किलोमिटर दूरीको सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिन तीन महिना बाँकी रहँदा ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।

कालोपत्रे गर्ने लक्ष्यसहित सञ्चालित आयोजनामा भएको ढिलाइले म्याग्दीको उत्तरी क्षेत्रका साथै मुस्ताङका बासिन्दा, पर्यटक र तीर्थयात्रीलाई सास्ती भएको हो। साँघुरो, जीर्ण, ग्रेड तथा घुम्ती नमिलेको सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ। विभिन्न ठाउँमा पहिरो खसेर दैनिक तीन÷चार पटक सडक अवरुद्ध हुन्छ। घन्टौंसम्म जाम हुँदा यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्। ठाउँठाउँमा गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्नु परेको यात्रुको गुनासो छ।

सडक विस्तारका क्रममा निस्किएको माटोको व्यवस्थापन नहुँदा कालीगण्डकीमा बाढी आएर तटीय बस्तीमा कटान गरेको छ। दानाको फगाम, गुइँठे र काभ्रेको बस्ती पहिरोको जोखिममा परेको छ। बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा सास्ती भएको सवारी चालक दीपक खड्काले बताए। ‘जीर्ण सडकमा गाडी चलाउन जोखिम र सास्ती छ’, उनले भने ‘सामान्य अवस्था भए तीन घण्टा लाग्ने बेनीदेखि जोमसोम पुग्न पूरै दिन लाग्छ।’

म्याग्दीको गलेश्वरदेखि मुस्ताङको लेतेसम्मको सडक जोखिमयुक्त भएको यातायात व्यवसायी सुमन श्रेष्ठले बताए। ‘यात्रु र गाडीको चाप बढेपनि सडकको अवस्था बेहाल छ’, उनले भने। २०७४ असारमा चारवटा प्याकेज (भाग) मा विभाजन गरिएको सडक स्तरोन्नतिका लागि विभिन्न कम्पनीले दुई अर्ब पचास करोड रुपैयाँमा ठेक्का लिएका थिए। २०७६ मंसिरसम्म काम सक्ने ठेक्का लिएका निर्माण व्यवसायीले हालसम्म करिब ५० प्रतिशत मात्र काम गरेका बेनी–जोमसोम–कोरला आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बताए। शर्मा–गजुरमुखी जेभीले दुईवटा र पप्पु–तामाङ–कोशी–न्यौपाने जेभीले एउटा प्याकेजको ठेक्का लिएको छ।

कोवाङ–टुकुचे खण्डमा ग्राभेल गरिए पनि अन्य ठाउँमा सडक फराकिलो बनाउने र पर्खाल लगाउने बाहेकका काम भएको छैन। शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको गलेश्वर–नारच्याङ पुलसम्मको सडक स्तरोन्नतिको प्रगति सबैभन्दा निराशाजनक छ। ‘निर्माण व्यवसायीलाई ताकेता गरिए पनि तीब्रता दिन नसकेपछि ठेक्का तोड्ने चेतावनी दिएका छौं’, आयोजना प्रमुख अधिकारीले भने, ‘ठेकेदारले पर्याप्त मजदुर, उपकरण परिचालन गर्न सकेको छैन।’

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनी–जोमसोम सडक आयोजनाका ठेकेदारले मजदुरलाई ज्याला र आपूर्तिकर्तालाई भुक्तानी नदिएको विषयमा दैनिक गुनासो आउने गरेको बताए। २०६४ मा नेपाली सेनाले ट्रयाक खालेर २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक कच्ची अवस्थामा छ। आयोजनाका इञ्जिनियर किरण सुवेदीका अनुसार बेनी–घाँसा खण्डमा डीबीएसडी र घाँसा–जोमसोम खण्डमा अस्फाल्ट प्रविधिको कालोपत्रे गरिने भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.