मिनी क्यासिनोलाई हटाउन अल्टिमेटम
काठमाडौं : नेपालगञ्जको होटल स्नेह प्रालि स्तरोन्नति हुने भएको छ। पुरानो र प्रतिष्ठित तारे होटलको रूपमा परिचित स्नेहले निर्माण गरेर भाडामा दिएको भवनमा होटल सञ्चालन गर्ने तयारी गरेको छ ।
होटलले बनाएको घरलाई ह्याप्पीआवर प्रालिलाई भाडामा दिँदै आएकोमा अब आफै सञ्चालन गर्ने भएको हो। सम्झौताअनुसार हलघर खाली गर्न करारमा उल्लेख भएअनुसार अग्रिम ६ महिनाको सूचनाको जानकारी दिनुपर्ने व्यवस्था भए अनुरूप होटल स्नेह प्रालिले २०७४ साउन २४ मै ह्याप्पीआवर प्रालिलाई जानकारी गराइसकेको जनाएको छ। तर, ह्याप्पीआवर प्रालिले भाडामा लिएको हल खाली नगरिदिएकोे होटलले गुनासो गरेको छ।
पटक पटक लिखित र मौखिक जानकारी दिँदै २०७६ साउन १९ मा ३५ दिने सूचना समेत जारी गरी २०७६ भदौ १२ गते संस्कृति, पर्यटन विभागलाई जानकारी गराएको छ। विभागले ह्याप्पीआवर प्रालिलाई सम्झौताको पालनाका साथै सरकारलाई बक्यौताको भुक्तानी गर्न १८ करोड ५५ लाख ९३ हजार सातदिनभित्र जम्मा गर्न निर्देशन जारी गरेको छ।
होटलका अध्यक्ष असित शम्शेर जबराद्वारा जारी विज्ञप्तिमा हाल उपयोग गर्न नपाए प्रालिको स्तरोन्नति समेत हुन नसक्ने उल्लेख छ। ह्याप्पीआवर प्रालिका सञ्चालकलाई सो कुराको लिखित र मौखिक रूपमा पटकपटक जानकारी गराउँदा बेवास्ता गरेकाले होटल स्नेह प्रालिको स्तरोन्नति हुन बाधा पुगी करोडौंको क्षति पुग्न गएको विज्ञप्तिमा जनाइएको छ। होटलले सम्बन्धित सरोकारवालालाई सात दिनभित्र भाडामा लिएको हल घर खाली नगरेमा ताला लगाई बन्द गर्ने चेतावनीसमेत दिएको छ।