लोकसेवाले खोल्दैछ ५०० सहसचिव र उपसचिवका लागि आवेदन
काठमाडौं : लोक सेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन खोल्ने भएको छ । दुई वर्षदेखि अवरुद्ध रहेको लोक सेवा आयोगको भर्ना प्रक्रियालाई सुचार गर्दै बुधबार ५ सयको संख्यामा सहसचिव र उपसचिवको विज्ञापन आह्वान गर्न लागेको हो ।
आयोगका प्रवक्ता किशोरजंग कार्कीले ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन आह्वान हुन लागेको बताए । उनले कार्यतालिका अनुसार बुधबार विज्ञापन आह्वान हुने बताए।
उनका अनुसार दुई वर्षसम्म उक्त पदका लागि विज्ञापन नखुलाएका कारण संख्या बढी देखिएको हो। प्रशासन र प्राविधिक तहमा बराबरको संख्यामा विज्ञापन आह्वान हुन लागेको आयोगले जनाएको छ ।
यसअघि आयोगले स्थानीय तहका लागि ९ हजार १६१ जना कर्मचारीको विज्ञापन खोलेको थियो । यो विज्ञापनको पहिलो र दोस्रो चरणको लिखित परीक्षा सकिसकेको छ।