विश्‍वभर आज : अमेरिकाको आक्रोश, बेलायती राजकुमार दम्पती किन पुगे पाकिस्तान ?

विश्‍वभर आज : अमेरिकाको आक्रोश, बेलायती राजकुमार दम्पती किन पुगे पाकिस्तान ?

काठमाडौँ : मध्यपूर्वमा द्वन्द्व जारी छ । यसको असर अमेरिकासम्मै पुगेको छ । हालै अमेरिकाले टर्कीमाथि प्रतिबन्ध घोषणा गरेको छ । उता बेलायती राजकुमार र उनकी पत्नी पाकिस्तान भ्रमणमा छन् । मेक्सिकोमा एम्बुसमा परी प्रहरी अधिकृतहरुको ज्यान गएको छ । यस्तै प्रस्तुत छ, विश्व राजनीतिलाई तरंगित बनाउने सात समाचार :



टर्कीप्रति अमेरिका आक्रोशित

सिरिया : सिरियामा टर्कीले आक्रमण गरेसँगै अमेरिकाले विरोध जनाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीमा प्रतिबन्ध लगाउन निर्देशन दिएका छन् । टर्कीको गतिविधिप्रति रुष्ट हुँदै अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौता सम्बन्धी वार्ता रोक्ने चेतावनी समेत दिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीप्रति आक्रोशित हुँदै यदी टर्कीका नेताहरुले ध्वंसात्मक बाटो अपनाए त्यहाँको अर्थतन्त्र ध्वस्त पार्न आफू तयार रहेको प्रतिक्रिया दिएका छन् । ट्रम्पले यसअघि नै टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनलाई टेलिफोन गरेरै युद्धविाम गर्न आग्रह गरिसकेका थिए ।

मेक्सिकोमा एम्बुस आक्रमणबाट १४ प्रहरी अधिकृत मारिए

मेक्सिको सिटी : मेक्सिकोमा १४ जना प्रहरी अधिकृत एम्बुस आक्रमणमा मारिएका छन् । साथै ९ जना घाइते छन् । लागुऔषध तस्करहरुको प्रभावित क्षेत्र पश्चिमी मिकोअकनमा हतियारधारी समूहले राखेको एम्बुसमा उनीहरुको ज्यान गएको हो ।

प्रहरी अधिकृतहरुलाई लक्षित गर्दै हतियारधारीहरुले गोली प्रहार समेत गरेका थिए । रक्षा मन्त्रालयका अनुसार सरकारले घटनाको बारेमा छानविन गरिरहेको छ ।

कोरियाली अभिनेत्री आफ्नै निवासमा मृत भेटिइन्


सोल : दक्षिण कोरियाली पपस्टार तथा अभिनेत्री सुली आफ्नै निवासमा मृत भेटिएकी छन् । २५ वर्षीया सुलीलाई प्रहरीले मृत अवस्थामा फेला पारेको जनाएको छ ।
स्योङनामस्थित सुलीकै निवासमा उनका म्यानेजर पुग्दा उनलाई मृत अवस्थामा भेटिएको हो ।

प्रहरीले भने घटनास्थलमा कुनै ‘सुसाइड नोट’ वा आत्महत्याका कुनै प्रमाण नभेटेको बताएको छ । साथै अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सुलीको वास्तविक नाम चोरी जिन री हो । २००९ देखि गायन तथा अभिनयमा सक्रिय सुली ‘एफ एक्स ब्यान्ड’मा आवद्ध थिइन् । उनले केही फिल्म साथै टेलिभिजन नाटकमा समेत अभिनय गरिसकेकी छिन् ।

बेलायती राजकुमार दम्पती पाकिस्तान भ्रमणमा


इस्लामाबाद : बेलायती राजकुमार विलियम र उनकी पत्नी केट पाकिस्तान भ्रमणमा छन् । हरियो सलवार कमिजमा सजिएकी केट र गाढा कालो सुटमा सजिएका विलियमलाई पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरैसीले फूलका गुच्छासहित स्वागत गरेका थिए ।

रावलपिण्डीस्थित सैनिक क्याम्पमा अवतरण गरेका उनीहरुको सुरक्षाका लागि पाकिस्तान सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ । बेलायती राजकुमारको पहिलो औपचारिक पाकिस्तान भ्रमण पाँच दिनको हुनेछ ।

यसअघि २००६ मा विलियमका बावु चाल्र्स र उनकी पत्नी क्यामिला पाकिस्तान पुगेका थिए । विलियमको जोडी लाहोरमा रहेको पौराणिक मुगल राजधानी साथै अफगान सीमा जोडिने हिमाली क्षेत्रहरु भ्रमण गर्ने कार्यक्रम तय भएको छ । यस्तै उनीहरुले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पनि भेट्ने कार्यतालिका छ । भारतीय मिडियाले भने यो भ्रमणबाट प्रेरित भएको टिप्पणी पनि गरेका छन् ।

‘बुकर प्राइज’ दुई लेखिकालाई


लण्डन : बेलायतको प्रतिष्ठित साहित्यिक पुरस्कार मानिने यस वर्षको ‘बुकर प्राइज’ दुई लेखिकाले पाएका छन् । यससँगै बुकरका निर्णयकले आफ्नो नियम नै तोडेका छन् ।

दुईजनाले यसरी बुकर प्राइज बाँडेको यो पहिलो घटना हो । मार्गरेट एटवुड र बेर्नार्डिने एबारिस्टोले संयुक्त रुपमा बुकर पाएका हुन् । एटवुड र एबारिस्टोले अब ५० हजार पाउण्ड रकम बाँड्नेछन् । यससँगै ७९ वर्षीया एटवुड बुकर पाउने अहिलेसम्मकै बृद्धा हुन् भने ३० वर्षीया एबारिस्टो पहिलो अस्वेत महिला हुन् ।

जापानमा मृत्यु हुनेको संख्या ६४


टोक्यो : जापानमा आएको शक्तिशाली आँधी ‘हगिबिस’का कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । जापानी मिडियाले जनाए अनुसार मृतकको संख्या बढ्न सक्नेछ ।
अरु कैयौं हराइरहेका छन् । साथै हजारौं मानिस पानी, बिजुली जस्ता दैनिक उपभोग्य वस्तुको अभावमा बाँचिरहेका छन् ।

यद्यपि सरकारले दशौं हजारको संख्यामा उद्धारकर्मी खटाएको छ । ‘हगिबिस’ नाम दिइएको उक्त आँधी जापानमा ६ दशकयताकै शक्तिशाली मानिएको छ ।

स्पेनमा पूर्व उपराष्ट्रपतिसहित ११ नेतालाई जेल सजाय

म्याड्रिड : स्पेनको सर्वोच्च अदालतले एक पूर्व उपराष्ट्रपति सहित ११ नेतालाई जेल सजाय तोकेको छ । पूर्व उपराष्ट्रपति ओरिएल जान्क्वेरस सहित ११ जना नेतालाई १३ वर्षसम्मको जेल सजाय तोकिएको हो ।

२०१७ मा भएको जनमत संग्रहको क्रममा देशद्रोही भूमिका खेलेको अभियोग उनीहरुमाथि छ । स्पेनको क्याटलिन क्षेत्रलाई अलग बनाउने भन्दै पृथकतावादी नेताहरु आन्दोलनमा उत्रिएका थिए । जसमध्ये ११ नेताहरुलाई देशद्रोहको अभियोग लागेको हो ।

यसवाहेक उनीहरुमाथि सरकारी सम्पत्तिको दुरुपयोगको मुद्दा समेत लागेको छ । यस क्रममा पूर्व राष्ट्रपति ओरिएललाई १३ वर्षको जेल सजाय सुनाइएको छ भने अन्य नेताहरुलाई ९ देखि १३ वर्षको जेल सजाय सुनाइएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.