सांसद साहको रिहाइको माग गर्दै राजपा आन्दोलित
जनकपुरधाम : जनकपुर एयरपोर्टस्थित बुद्ध एयरको काउण्टरमा भएको तोडफोट घटनामा पक्राउ परेका सांसदको रिहाइको माग गर्दै सडक जाम गरेका छन् । सर्लाही क्षेत्र नं. १ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रमोद कुमार साहलाई पक्राउ गरेपछि राजपा नेपाल आन्दोलित हुँदै सडक जाम गराएको हो।
बुधबार बिहान ८ बजे देखि ९ बजेसम्म जनकपुरधामस्थित रामानन्द चोकमा टायर बालेर सडक जाम गरेका थिए । सो क्रममा जनकपुरधाम प्रवेश गर्ने सम्पूर्ण सवारी साधनलाई जिरोमाईलस्थित बस स्टेण्ड र पिडारी चोकमा रोकिएको थियो । एक घण्टाको जामपश्चात सवारी साधन आफ्नो गन्तव्यतिर लागेका थिए ।
सांसद साहले सोमबार बिमानस्थलमा दुई घण्टादेखि प्रतिक्षारत किड्नीका बिरामी दिलिप सहगोलको अवस्था बारे जानकारी गराउन काउण्टरमा जाँदा विवाद भएको थियो । विवादको क्रममा सांसद साहले आक्रोशमा लात हान्दा काउण्टरको सिसा फुटेको समाजिक सञ्जालमार्फत स्वीकार गरेका छन्।
सोही अनुसार मंगलबार जिल्ला अदालत धनुषामा जाहेरी दर्ता गरी काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरी एयरबासबाट जनकपुरधाम ल्याइएको थियो । सांसद साहलाई बुधबार जिल्ला अदालत पेश गर्ने तयारी गरिएको प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिए।
यता राजपा नेपाल धनुषाले सांसद साहलाई अविलम्ब रिहाई नगरिए थप आन्दोलनको कार्यक्रम चरणबद्ध अगाडी बढाउने राजपा नेपालका प्रदेश सांसद परमेश्वर साहले जानकारी दिए।