के हो चिनियाँ दृष्टि ?

के हो चिनियाँ दृष्टि ?

चिनियाँ राष्ट्रपति सी भ्रमण पूर्णतः राजनीतिक ‘रिफ्रेस’ भ्रमण हो, यसलाई हामीले बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउन आवश्यक छ


उत्तरी छिमेक चीनबाट भएको राष्ट्रपति सी चिनफिङको भ्रमणलाई गणतन्त्रपछिको पहिलो आदान–प्रदान (रेसिप्रोसिडी) का रूपमा लिनुपर्छ। हाम्रोबाट दक्षिण जस्तै उत्तरतिर पनि भ्रमण भइरहेको थियो, तर उताबाट यो स्तरको भ्रमण लामो समयदेखि भएको थिएन। यतिखेर त्यो ‘ग्याप’ चिर्ने काम चिनियाँ नेतृत्वले गरेको छ। राष्ट्रपति सीको भ्रमणबाट लामो अर्थात् २३ वर्षे विराम चिर्दै परम्परागत सम्बन्धमा नयाँ दृष्टि र भाव प्रस्तुत भएको छ। त्यो भाव राजनीतिक सन्देशका रूपमा आएको छ। नेपालका कमीकमजोरी र विगतमा झैं सम्बन्धमा नदेखिएको मतैक्यतालाई समेत सीले संकेत गरेका छन्। चीनमा उनीअघिको नेतृत्वले नेपाललाई बेवास्ता नगरे पनि थप चासो दिन भ्याएका थिएनन्। तत्कालीन राष्ट्रपति च्याङ चेमिनको सन् १९९६ मा भएको भ्रमणपछि प्रधानमन्त्री चु रोच्ची (सन् २००१) मा नेपाल आए भने हुको शासन सत्ताको अन्त्यमा वेन चियापाओ (सन् २०१२) मा नेपाल आएका थिए।

राष्ट्रपति स्तरमा नभए पनि अन्य उच्च राजनीतिक तहमा १० वर्षको अन्तरालमा भ्रमणहरू भइरहेको देखिन्छ। बीच–बीचमा राजनीतिक नेता, मन्त्रीस्तरको भ्रमण पनि भइरहेका छन्। विश्वकै शक्तिशालीमध्येका राष्ट्रपति सी नेपाल आउनु धेरै कारणबाट अर्थपूर्ण देखिन्छ। उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा पनि शक्तिशाली व्यक्ति हुन्। डोनाल्डको निर्णय कंग्रेसले रोक्न सक्छ तर सी सर्वेसर्वा हुन्। यति शक्तिशाली राष्ट्रपति भ्रमणमा आउनु राम्रो पक्ष हो। त्यसमाथि पनि उनी भारत पुगेर काठमाडौं ओर्लेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ता ममल्लापुरमा गरेर उनी नेपाल आएका हुन्। उनीहरूबीच नेपालबारे पनि कुराकानी भयो होला भन्ने कुतूहल स्वाभाविक हो। हाम्रो नेतृत्वले कति बुझे, के प्रतिक्रिया व्यक्त गरे त्यो समयक्रममा देखिँदै जानेछ।

नेतृत्वले कति बुझ्छन् ?   

वर्तमान नेतृत्व खारिएर आएको बलियो नेतृत्व भन्छौं। भ्रमण सफल पारेको पनि भनिएको छ। तर, भारत पुगेर काठमाडौं आएका शक्तिशाली नेतासँग हाम्रो नेतृत्वले कसरी कुरा गर्‍यो ? एक्लाएक्लै भेटमा के कुरा राखिए, त्यो विस्तारै बाहिर आउला नै तर हाम्रो नेतृत्वले भन्न सक्नुपर्ने थियो, ‘हामीलाई भारतले कसरी हेर्‍यो र यहाँको दृष्टि के छ ? ’ बाहिर आएको धारणाले त्यो कुरा सोधे जस्तो देखाउँदैन। अनि नेपालमा भएको यो स्तरको भ्रमणबारे भारतीय नेताहरूको खासै प्रतिक्रिया देखिएको छैन। हुन त, मोदीलाई सीले आफू नेपाल जान लागेको विषय सुनाएको भनिएको छ। हामीले यसमा विवेक पुर्‍याउन सक्नुपर्छ। कूटनीति भनेको पनि घर चलाए जस्तै हो। सामान्य विषयलाई पनि मनमा लिएर काम गर्न सक्नुपर्छ।

भारत पुगेर काठमाडौं आएका शक्तिशाली नेतासँग हाम्रो नेतृत्वले कसरी कुरा गर्‍यो ?  एक्लाएक्लै भेटमा के कुरा राखिए, त्यो विस्तारै बाहिर आउला नै तर हाम्रो नेतृत्वले भन्न सक्नुपर्ने थियो, ‘हामीलाई भारतले कसरी हेर्‍यो र यहाँको दृष्टि के छ ? ’

हाम्रो पहिलेदेखि नै एउटा छिमेकसँगको सम्बन्धमा प्रशस्त समस्या छन् भने अर्काे छिमेकसँग पनि त्यही समस्या सिर्जना गर्न किन खोज्ने भन्ने हुनसक्छ। हाम्रो असंलग्न कूटनीति नै हो। पञ्चशील, राष्ट्रसंघ बडापत्रलाई आधार बनाएका हामी कतै लहसिँदा नेपाललाई फाइदा हुन्छ कि हुँदैन त्यो नेतृत्वले सोच्ने विषय हो। भारतबाट पनि लामो समय नेपाल भ्रमण भएको थिएन तर त्यो सन् २०१४ मा खुल्यो। सीले पनि त्यही प्रकारको ‘एभेन्यू’ चीनसँग खोलिदिएका छन्। यसबाट स्पष्ट हुन्छ, चीनले हामीलाई बेवास्ता गरे झैं लागे पनि त्यो बुझाइ गलत हो। संसारमा चीनमा जुन प्रकारको स्रोत छ त्यस मानेमा त्यहाँको नेतृत्व यहाँ आउँदा राम्रो हो। आउँदाको फाइदा मुलुक हितमा उपयोग गर्न कति सफल भइयो यो मुख्य पक्ष हो। कताकति हाम्रा नेतृत्वमा रहनेले लेखेका छन्, सी भ्रमणमा अभूतपूर्व राष्ट्रिय एकता देखियो। यस्ता विषय सम्बन्धमा बोलिने छुद्रता हुन्। उसले चाहेको काम गरेको छ तर हामीले के गर्‍यौं यो महत्वपूर्ण पक्ष हो।

 चीनबारे दुई मत

नेपालमा चीनबारे दुई मत पनि देखिएको छ, सहयोगको विषय होस् या सुपुर्दगी सन्धिको। चीनले उसले चाहेको विषय गरेर गएको छ। चिनियाँ राष्ट्रपतिको राजनीतिक ‘वेट’ नै ठूलो छ। ठूलो छिमेक अनि विश्वमै उदाउँदो शक्ति। त्यो स्तरको नेतालाई हाम्रो तर्फबाट भएको ‘हार्डवेयर पार्ट’ को ह्याण्डल राम्रो भएको छ तर यसको भित्री पाटो क्रमैसँग आउला नै। उनी खुसी भएर फर्कनु राम्रो पक्ष हो। हामीले भुल्न नहुने विषय चीन हाम्रो निकटको छिमेक हो। उसको ध्यान विश्वको ठूलो नेतृत्व र मुलुकमा परेको भन्ने भइरहँदा सानो छिमेकी मुलुकमा पनि छ भनेर जानु राम्रो हो।। हाम्रो भूगोल यस्तो स्थानमा छ कि हामीले चीनलाई बिगार गर्ने क्षमता त राख्दैनौं नै, बिगार गर्ने स्थानमा भने छौं। यही भएर यहाँको सामरिक महत्व बुझेर चीन नेपालसँग सहकार्यका लागि तयार भएको हो।

यस्तो अवस्थामा नेपालमा अन्य शक्तिले काम गर्न खोज्छन् तर हामीले छिमेकलाई बिगार गर्ने सोच कदापि बनाउन हुँदैन, चाहे दक्षिण होस् या उत्तर। छिमेकीको घरमा आगो फाल्दा त्यसको खरानी आफ्नैमा आइपुग्छ। परराष्ट्र नीति उपयोग गर्दा सामान्य घर–व्यवहारको पक्ष सिक्दा उत्तम नै हुनेछ। हामीले जसरी घरपरिवारमा छिमेकको ‘मुड’ बुझ्ने र सम्बन्धलाई त्यहीअनुरूप ढाल्ने काम गर्छौं, त्यो मुलुकको हकमा पनि लागू हुन्छ। फरक यति मात्र हो छिमेक मन नपरे घरजग्गा बेचेर अर्को ठाउँमा बसाई सर्न सकिन्छ तर मुलुकलाई त्यो सुविधा छैन, हुँदैन।

यही मर्म बुझेर नेपालले चीनसँग सहकार्य बढाउनुपर्छ। चीनले रणनीतिक साझेदारी भन्ने शब्दावली प्रयोग गरेपछि नेपाल हतासिएको छ। कूटनीतिमा शब्दको अनेकन अर्थ लाग्ने भएकाले शब्द चयनमा ध्यान दिनुपर्छ। बढी ‘जार्गन’ प्रयोग गरेर सुन्दर वक्तव्य बनाउन खोज्दा मुलुकले धेरै समय त्यसमै बिताउनुपर्ने हुन्छ। शब्द प्रयोग त भयो, तर उपयोगमा आएका शब्दबाट मन्त्रीहरू डराउँदै राजनीतिक सन्देश मात्र रहेको बताएका छन्। यसलाई ‘लोयल देन द मास्टर’ (मालिक भन्दा बफादार) चीनलाई ‘गभर्न’ गर्ने विचारधारालाई समेत दुईपक्षीय छलफलमा ल्याउनु बफादारीताको हद हो।

 परिस्थितिअनुसार गियर परिवर्तन

दुईपक्षीय सम्बन्ध सदावहार रहनुपर्छ। यो चलिरहेको मोटर हो, यसलाई एकैपटक ठूलो गियरमा लैजाने होइन परिस्थितिअनुसार गाडीको गियर चेन्ज गर्नुपर्छ। तर हामीले एकैपटक विचार समेत ल्याएर नेपालको संविधान नै भुलेका छौं। सीको विचार नेपालमा होइन, उनको मुलुकका लागि हो। यहाँ त हाम्रो संविधान चल्ने हो। सी विचार सुनिरहँदा चिनियाँले कति असजिलो महसुस गरे होलान् त्यो भने बुझेनौं। मुलुकको सम्बन्ध पनि व्यक्ति व्यक्तिबीचको सम्बन्ध जस्तै हो। यसमा पहिले जस्तो ‘टाइम टेस्टेड’, ‘अल वेदर’ जस्ता विषय हटेका छन्। स्वागत न्यानो हुनुपर्छ, बढी तामझाम पनि सुहाउँदैन। यस्ता विषयमा समेत ध्यान दिनुपर्ने थियो। अरू सबै मुलुकहरू झैं चीन पनि बदलिएको छ। कम्युनिस्ट पार्टीको शासन भएको मुलुक हो, तर चीन विगतदेखि नै ‘सिभिलाइजेसन पावर’ हो। केही हिस्टोरिकल क्यारेक्टर छन्। अंग्रेजीमा त्यसलाई ‘इम्पेरियल पावर’ भनिन्छ। चीनले कसैलाई उपनिवेश बनाएन। तर, भौगोलिक व्यवसायिकता छ।

त्यहाँ विभिन्न ‘डाइनेस्टी’ ले राज गरे तर पनि आफ्नो संस्कृतिको आधारमा विश्वको रंगमञ्चमा रहिरह्यो। रसियाको बिगबिगी रहँदासमेत आफूलाई यस क्षेत्रमा बलियो सहकार्यमा जुटेको चीन कम्युनिस्ट पार्टीले १९४९ मा क्रान्तिपछि फरक ढंगले अघि बढेको हो। शीतयुद्धको समयमा चीन ठूलो शक्तिको रूपमा थिएन। चरम गरिबी थियो, तर पनि चीनले आफूलाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याएको थियो। चीन खासै कसैसँग बढी ‘इन्टरएक्ट’ गर्न चाहँदैन थियो तर भन्थ्यो हामी संसारमा ठूलो ‘सिभिलाइजेसन पावर’ हो। हुन त सानो शक्तिले पनि प्रशस्त परिवर्तन गर्न सक्छ भन्ने उदाहरण जापान हो। यसलाई विश्वव्यापी रूपमा हेर्दा चीन पनि त्यसमा कम थिएन।

चीन बुझ्नुपर्छ

हामी यस्तो मुलुक हौं। हिमाल मुन्तिर भए पनि चीनले लगातार अन्तरसंवाद गरिरहेको छ। ‘मिङ डाइनेस्टी’ होस् या कुनै शासन जतिबेला पनि चीन हामीसँग लगातार छ। विगतमा परिस्थितिले जोडेको थियो नेपाल चीनलाई। अहिले पनि चीनले नेपाललाई बेवास्ता गर्न सक्दैन। सीले शेरबहादुर देउवालाई भेट्दा भनेको विषय स्मरण गर्न आवश्यक छ। ‘चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसको सम्बन्ध अनि त्यतिबेलाको सम्बन्धमा बीपीको भूमिका हामी बिर्सन सक्दैनौं,’ सञ्चारमाध्यममा आएको थियो। यो स्मरण गर्दा परिस्थितिले एक स्थानमा ल्याएको बुझ्नुपर्छ। गिरिजाप्रसाद कोइरालासँग काम गरेको नाताले म भन्न सक्छु, त्यो समयमा चीनमा आर्थिक उदारीकणरको फल आरम्भ हुन थालेको थियो। तेङ स्याओ पिङको सुधारको कार्य अघि बढेको थियो। त्यो युगलाई अहिले फरक ढंगले व्याख्या गर्दै बहुपक्षवादमा चीन अघि बढेको धारणा राखिएको छ। चीन हाम्रो छिमेकी र साथी दुवै हो, भारत पनि छिमेकी र साथी दुवै हो।

अन्य राष्ट्र हाम्रा साथीमात्र। साथी जति नजिक भए पनि भूगोल जोडिँदैन। त्यही विषयलाई ध्यान दिएर हामीले सम्बन्धको कडी अघि बढाउन आवश्यक छ। भूगोलले महत्वपूर्ण भूमिका निर्वाह गर्छ। जोडिएको मुलुकलाई भूजडित भन्ने भाष्य राखेर ‘हाइ साउन्ड’ को अर्थ छैन। कूटनीति भनेको छिमेक र मित्रतालाई सन्तुलन गर्ने हो। त्यसका लागि प्राविधिक विषय र लगानीले मात्र होइन। भारतबाट नै सी नेपाल आएकाले हाम्रो नेतृत्वले मोदीसँग टेलिफोनमै कुरा गरेर नेपालबारेमा भारतमा के विषयमा बहस भयो भनेर छलफल गर्न सक्नुपर्छ। त्यसको कूटनीतिक भाष्यमा हामीले ध्यान दिनुपर्छ। नेपाली नेतृत्वलाई दिएको सन्देश, भारत भएर नेपाल आउँदा उहान एक र दुईको आशंकाको अन्त्य गर्नु र नेपाललाई हामीले महत्व दिएका छौं भन्ने अर्को महत्वपूर्ण सन्देश चीनले एकैपटक दिएको छ। हामीले यही सन्देशमा अडेर ‘टु प्लस– वान’ के हो र त्यहाँ हामी कहाँनेर हो भन्ने विषय केलाउनुपर्छ।

त्रिपक्षमा तीन मुलुक नै सँगै भन्ने हुन्छ। तर प्लस वानले दुई मुलुकको बीचमा एक सहयोगी भन्ने बुझाउँछ। तर, त्यो पाटो हामीले केलाउन सक्नुपर्छ। जुन ‘प्लस वान’ को चर्चा निकै भएको संचार माध्यममा आएका छन। गत वर्ष उहान वार्तामा ‘प्लस वान’ ले प्रवेश पाएको थियो। अहिले पनि उक्त विषयमा छलफल भएको छ। यो विषय राजनीतिक हो। विकास र आर्थिक सहकार्यबारे भएका छलफल पुरानै हुन्। सहमति र सम्झौताका भाषा मात्र फरक देखिएको छ। त्यसैले यो पूर्णतः राजनीतिक ‘रिफ्रेस’ भ्रमण हो। यसलाई हामीले बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउन आवश्यक छ। दुई देशका बीचमा रहेर भूमिका खोज्नेभन्दा पनि सहकार्य बढाउने र कूटनीतिक कौशलता प्रदर्शन गर्दै अघि बढ्न सक्नुपर्छ। यसका लागि सक्रिय कूटनीतिमा जोड दिनुपर्छ।

-राजनीतिशास्त्री शर्मासँग कुराकानीमा आधारित।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.