लामखुट्टेको अर्थ-राजनीति

लामखुट्टेको अर्थ-राजनीति

मानवीय सभ्यतासँगसँगै लामखुट्टेको जीवन चक्र पनि समानान्तर ढंगले विकसित हुँदै आएको वैज्ञानिकहरू पुष्टि गर्छन्। अहिलेको स्थितिमा लामखुट्टेले एक दर्जनभन्दा बढी नै रोग जस्तै– मलेरिया, डेंगु, विभिन्न थरीका इन्सेफालाइटिस, वेस्ट नाइल भाइरस, कालाज्वर, पहेंलो ज्वर, फाइलेरिया, जिंका आदिले संसारका दर्जनौं देशमा एक किसिमले सामाजिक आतंक फैलाइराखेको छ। उदाहरणका निम्ति फिलिपिन्समा यो वर्ष मात्र डेंगु ज्वरोले एघार सयभन्दा बढी मानिसको मृत्यु भएपछि त्यहाँको सरकारले ‘डेंगु संकटकालीन’ घोषण नै गर्नुपर्‍यो।

जे होस्, यी लामखुट्टेजन्य रोगहरू, तिनीहरूको टोकाइमार्फत या त विषाणु (भाइरस) वा ब्याक्टेरिया (जीवाणु) वा एककोषीय जीव (प्रोटोजोन) घुसाउन सफल हुन्छन्। तर ती आफैंचाहिँ सधैं निरोगी नै हुन्छन्। विश्व स्वास्थ्य संघको पछिल्लो आँकडाअनुसार, संसारका कम्तीमा ७० करोड मानिस लामखुट्टेको जोखिममा बाँचिरहेका छन्। त्यसमध्ये मलेरिया (एनोफिलिज), जुन ९० भन्दा बढी देशहरूमा भेटिन्छ, त्यसको टोकाइबाट करिब १० लाख मानिस सालिन्दा मर्छन्। तर, त्यो भन्दा बढी, अर्थात्, करिब एक सय देशमा फैलिएको डेंगुजन्य लामखुट्टे (एडिज प्रजाति) बाट कम्तीमा २० लाख मानिस मरिराखेको तथ्यांकले देखाउँदै छ।

नेपालमा आदिम समयदेखि नै लामखुट्टेको वासस्थान भनेको तराईका चारकोसे जंगलमा आधारित पर्यावरण थियो। सन् १९५८ बाट सुरु भएको औलो (मलेरिया) नियन्त्रण कार्यक्रम, अनि सन् १९६० को नेपाली सत्ता राजनीति बदलिएपछिको भूमिसुधार कार्यक्रम र राजनीतिक ठालूहरूले डीडीटीको सहयोगमा तराईको जंगल फाँड्दै जंगलमा आधारित पर्यावरण करिब–करिब सखापै पार्न महत्वपूर्ण योगदान पुर्‍याएका थिए। सन् असीको दशकमा पुग्दा, औलोबाट पनि करिब ५० हजारसम्म मानिसहरूले ज्यान गुमाएको देखिन्छ। अहिले औलोको नियन्त्रण सँगसँगै तराईका पुराना जंगल अर्थात् चारकोसे जंगल पनि सत्ताधारीको नियन्त्रणमा देखिन्छ। जे होस्, सन् २०२६ लाई ‘मलेरियामुक्त नेपाल’ घोषणा गर्न नेपाल सरकार तयार गर्दै छ।

त्यसरी नै डेंगुको नेपाली इतिहासचाहिँ अलि नौलो नै हो, तर अन्यत्र भने यसको समस्या पुरानै हो। नेपाली अनुसन्धानकर्ताहरू आरपी खेतानलगायतका अन्य ६ जनाले सन् २०१८ मा ‘वियमसी रिसर्च नोटस्’ मा प्रकाशित गरेको तथ्यांकका आधारमा भन्नुपर्दा सबैभन्दा पहिलो डेंगुको प्रकोप सन् २००४ मा भएको थियो। त्यसपछि डेंगुको आतंक चितवन, झापा, रूपन्देही, मकवानपुर, बाँके, बर्दिया, सुर्खेत, कैलालीदेखि काठमाडौं उपत्यकामा फैलिँदै गयो। त्यसो त विगत पाँच वर्षमा डेंगु र मलेरियाजन्य लामखुट्टेको प्रकोपबाट करिब १० हजार मानिस प्रभावित भएको ‘महामारी तथा रोग नियन्त्रण महाशाखा’, टेकुको तथ्यांकले देखाउँछ। तर विगत १५ वर्षमा डेंगुबाट कति मृत्यु भएको थियो, त्यसको यकिन आँकडाका बारेमा भने सरकारी अड्डाको तथ्यांक मौन छ।

त्यसै पृष्ठभूमिमा गएको वर्षा चितवनको जंगलमा संसारका एक सय बढी देशका लामखुट्टेको ‘लामखुट्टे सम्मेलन।’ त्यहाँ मलेरिया (एनोफिलिज) र डेंगु (एडिज) प्रजातिका प्रतिनिधिहरूको संवाद र नेपाली अर्थराजनीतिसँगै प्रत्यक्ष सरोकार राख्ने केही दृष्टान्त प्रस्तुत छ।

मलेरियाका प्रतिनिधिले डेंगुसमक्ष आफ्नो वासस्थान गुम्दै गएको, अनि डेंगु स्वयं अति साम्राज्यवादी भइराखेको वर्तमान अवस्थालाई इंगित गर्दै मलेरियाले डेंगुलाई ‘सहरीमा लामखुट्टे’ भन्दै कटाक्ष गर्न थालेपछि डेंगुले मलेरियालाई सान्त्वना दिन थाल्यो। डेंगु आफू स्वयंले स्विकार्‍यो कि उसलाई वनजंगलभन्दा ‘स्मार्ट सिटी’ मन पर्छ। किनभने त्यो नै डेंगुका लागि यतिखेर उत्तम वासस्थान बन्दै छ। डेंगु, मलेरियालाई सम्झाउँदै थियो– नेपाल भन्ने देशमा कागजमा जे लेखिन्छ, त्यो प्रायः गरिँदैन वा एउटा चुनावमा जे बोल्छन्, त्यो चुनावपछि बिर्सन्छन् ताकि अर्को चुनावमा फेरि त्यही दोहोर्‍याउँछन्। कतिलाई ठूलाठूला कुरा गर्न मन लाग्छ, तर काम भने सिन्को भाँच्नसमेत चाहँदैनन्।

मानिसले आआफ्नो ‘घरेलु/सामुदायिक, पर्यावरण’ मा तात्विका सुधार ल्याउने सम्भावना देखिँदैन, न त तिनीहरूले आफ्नो ‘राष्ट्रिय पर्यावरण’ नै संरक्षित वा सुधार्ने सम्भावना छ।

 त्यसैले त्यहाँ न त सिटी स्मार्ट छ न त सिटीका वासिन्दा वा सिटी चलाउनेहरू। किनभने स्मार्ट सिटीका वासिन्दाले न आफ्नो फोहोरमैला सडक/कुना छेउछाउमा बेवारिसे अवस्थामा राख्छन् न त नदी/खोलामा मिसाउँछन्। संसारमा कुनै त्यस्तो स्मार्ट सिटी छैन जसले आफ्नो ढल सीधै नजिकको खोला/नदीमा मिसाउनेबाहेकका कुनै अर्को विकल्प सोच्नसमेत सक्दैनन्। अब यी कथित स्मार्ट सिटीहरूमा यतिविघ्न प्लास्टिकको अराजकता छ कि त्यो नै हाम्रो ‘भूमिगत वासस्थान’ भइराखेको छ। तर स्मार्ट फोनमा रमाउनेहरूलाई हाम्रो स्मार्ट वासस्थानहरूको कुनै पत्तो नै छैन। तैपनि तिनीहरू मोटरसाइकल चढेर हाम्राविरुद्ध र्‍याली/जागरण (?) समेत गर्छन्।

डेंगुले मलेरियालाई ढाढस दिँदै भन्दै गयो– हेर मलेरिया, तिम्रो वंश/गोत्र नाश गर्न सन् साठीको दशकदेखि डीडीटी प्रयोग गर्नुसम्म गरे तर पनि बाँचेकै छौ। बरु तिमीहरूले डीडीटी नै पचाइसक्यौ। विचरा अरू चराचुरुंगी, माकुरादेखि नदी खोलाका माछासम्म मर्न पुगे। अब अहिले फेरि स्मार्ट सिटीहरूमा नयाँनयाँ विषादीको धुवाँ छर्दै गरेका नाटकहरू पनि देखाउँछन्। अब त्यस्तो विषादीले हामीलाई एड्ढया पनि हुँदैन, बरु तरकारीको विषादीले नपुगेका स्मार्ट सिटीका उपभोक्ताहरूले नयाँ विषादीको थप गन्ध सित्तैमा लिँदैछन्।

मलेरियाले आफ्नो विगत सम्झेर रुन थालेपछि डेंगु फेरि थप सान्त्वना दिँदै थियो, ‘तिम्रो र हाम्रो पुर्खाहरू एउटै त हुन्। पचास वर्षअगाडि जति डीडीटी प्रयोग गर्थे, अहिले त्योभन्दा कैयौं गुणा बढी डरलाग्दा विषादी प्रयोग गर्ने नेपाली मनुवाहरूले वास्तवमा आफ्नो जीवनचक्र आफैं नाश गर्दैछन्। तसर्थ, तिनीहरूलाई अहिले पैसा भए पुग्छ। त्यसैले तिमीले झुक्किएर पनि नेपालका केही कथित ठूला मान्छेहरूलाई नटोक। किनभने तिनीहरू अहिले हाम्रा मित्रशक्ति बन्दैछन्।’

मलेरियाले सोध्यो कि अब कस्ता मानिसहरूलाई टोक्ने ?  डेंगुले पृष्ठभूमि बाँध्दै भन्यो, ‘अहिले नेपालमा कामरेडहरूको सरकार छ। त्यसैले त्यहाँका ठूलाठूला कामरेडहरूको सुरक्षा गस्ती काटेर र वातानुकूलित अवस्थामा रमाउनेहरूलाई तिमीले भेट्न सक्दैनौ। भेटिहाल्यौ भने पनि तिमीलाई तिनीहरूलाई टोक्न समय लाग्छ। किनभने अहिले ठूलाठूला कामरेडहरूको पहिलेका जस्ता होइनन्, अहिले तिनीहरू रातापिरा, चिल्ला एवं मोटाघाटा, अरिंगालजस्ता छन्। त्यस्तालाई टोक्ने समयमा तिमीले अरू दसजना दरिद्रलाई टोक्यो भने हाम्रो लक्ष्य पूरा हुन्छ।

 त्यसबाहेक, तिमीहामीले बिचौलिया वर्ग अनि ठेकेदारहरूलाई पनि हत्तपत्त टोक्नु हुँदैन किनभने ठेकेदार एवं बिचौलिया वर्ग कामरेडहरूको जस्तै हाम्रा पनि मित्रशक्तिहरू हुन्। कुरा यसरी बुझ्ने कोसिस गर्न मलेरिया कि अब सडकका बिचौलियाले हरेक एक किलोमिटरको दूरीमा कम्तीमा एक सयवटा ठूला/साना खाल्डा राखिदिन्छन् र त्यहाँ बाह्रै महिना पानी त जमिरहन्छ। अब तिमी हाम्रो ८/१० घन्टाजति एक चम्चा जमेको पानी भए पुग्ने जातलाई ती स्मार्ट खाल्डाहरू त समुद्र नै भइहाल्यो। त्यसैले म डेंगुलाई ‘स्मार्ट सिटी’ अनि त्यहाँका बिचौलिया औधि मन पर्न थालेको हो।

त्यसो त, तिमी मलेरिया पनि विस्तारै पहाडतिर उक्लिँदै गएका छौ। वैशाख/जेठदेखि कात्तिकसम्म त तिमीहरूलाई पहाड पनि राम्रै हुँदै गएको छ। पहाडतिर पनि सकेसम्म सत्तावाला कामरेडहरूलाई टोक्न हुँदैन। किनभने तिनीहरूको जीवनको मूल्य अरू सामान्यको भन्दा बढी तोकिएको छ। किनकि अहिले सत्ताको दलाली गर्नेहरूले सजिलैसँगै नाम, दाम र काम पाउन सक्छन् र हाम्रो टोकाइले तिनीहरूलाई खासै फरक पर्दैन। त्यसरी नै अहिले पहाडतिर ‘डोजर आतंक’ गजबको छ। तर यसले हामीलाई फाइदा हुन्छ। किनभने सत्ताका स्थानीय बिचौलिया/ठेकेदारहरूले विना मापदण्ड ‘डाँडाडाँडामा डोजर’ लगाएपछि अधिकांश पानीका स्रोत सुक्न थालिसक्यो र पहाडी जंगलको ‘रैथाने पर्यावरण’ त पूरै तहसनहस हुने भइहाल्यो। 

फलस्वरूप पहाडका सुक्खाग्रस्त वातावरण र खोल्साखोल्सी अब तिम्रा सन्तानका लागि उपयुक्त स्थान बन्दै छ। मेरा लागि पहाडका कथित नगरपालिकाको दुर्गन्धमय वातावरण नै स्वर्णमय हुँदै छ। किनभने त्यहाँका ती कथित् नगरपालिकामा प्लास्टिकको साम्राज्य छ र त्यसमा पनि पानी नजमेका घर नै छैनन्। तसर्थ चुरे भावरदेखि चारकोसे जंगल सकिएपछि पहाड हाम्रा लागि नयाँ वासस्थानमा परिणत हुँदै छ। 

उता चुरको विनाशले तराई विस्तारै मरुभूमीकरणतर्फ लम्कँदै गएपछि ढिलोचाँडो पहाडी पर्यावरणको ‘समशीतोष्ण हावापानी’ पनि ‘उष्णता उन्मुख’ हुँदै छ। एवंरीतले सरकारी संरक्षणमा चुरे/भावरदेखि समग्र पहाडी पर्यावरणमा जसरी विज्याइँ र अतिक्रमण बढ्दै छ, सायद अबको ५० वर्षमा तिमी हामी सबैथरीका हाम्रा वर्गीय बन्धुहरूले सगरमाथाको आधारशिलामा गएर अरू कार्यशाला गोष्ठी गर्न सक्ने सम्भावना बढ्दै छ। हाम्रा लागि त्यो ठूलो उपलब्धि हो, डेंगुले घोषण गर्‍यो।

उष्ण एवं आर्द्र हावापानी र जंगल मन पराउने मलेरियालाई सहरिया डेंगुको भाषा मन पर्न छाडिसकेको थियो। किनभने मलेरियालाई कसलार्ई टोक्ने, कसलाई नटोक्ने डेंगुको वर्गीकरण ठीक लागेन। त्यसो त यतिखेर नेपालमा छानीछानीकन टोक्न/ठोक्न त अरिंगाल नै छँदै छ। मलेरियाले डेंगुलाई प्रतिउत्तर दिँदै भन्न थाल्यो, ‘नेपालमा अहिले तिमी डेंगुभन्दा शक्तिशाली अरिंगालका गोलाहरू छन्, जसले नेपालगन्जदेखि सर्लाही, चितवन एवं काठमाडौंमा गरेको आक्रमणको उदाहरण दिँदै थियो।

 त्यसमा पनि भाले अरिंगालहरूको गोलो त सिंहदरबारमा जमेर बसेको रहेछ, त्यस्ता गोलाहरूलाई पुलिसले देख्ने कुरा भएन, बरु विदेशी दूतावासले देखेका रहेछन्। अब रानी अरिंगालको बस्ने घर ‘बालुवाटार’ रहेको यथार्थबाट सबै बारुला, बिच्छी, छेपाराहरू परिचित छन्। पहिले पहिले त्यस्ता अरिंगालहरूलाई नेपालका मानिसहरू मण्डले भन्ने गर्दथे क्यारे। तर अहिले जे होस्, व्यक्ति र शब्दहरू बदलिए पनि बानी र प्रकृति त खास बदलिएको छैन।’

त्यसपछि सो भेलाका उपस्थित एक दर्जन लामखुट्टेका प्रजातिहरूले ‘चितवन घोषणापत्र’ जारी गर्दै ऐक्यबद्धता जलाए। जसअनुसार लामखुट्टेका सम्पूर्ण जाति/प्रजातिहरूले नयाँनयाँ वासस्थान खोज्दै जाने चाहे रेलकै डिब्बा खोजेर नै किन नहोस्। यद्यपि मानिसले आआफ्नो ‘घरेलु/सामुदायिक, पर्यावरण’ मा तात्विका सुधार ल्याउने सम्भावना देखिँदैन, न त तिनीहरूले आफ्नो ‘राष्ट्रिय पर्यावरण’ नै संरक्षित वा सुधार्ने सम्भावना छ।

हुन त सरकारले केके मुक्त भएको घोषणा गर्दै जाला, तर त्यो फोस्रो नारा मात्रै हो भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। हामीले हाम्रो ‘जीवनचक्र’ जसरी पनि धान्नैपर्छ। किनभने एक चम्चा पानीदेखि पृथ्वीको समग्र बढ्दै गएको तापक्रम हामीलाई अनुकूल हुन्छ। त्यसो त हामी लामखुट्टेलाई भारत, पाकिस्तान, चीन र उत्तर कोरियाका परमाणु भट्टीहरू पनि खतरा नै हुन्छ। तैपनि नेपाल हाम्रो मुख्यालय नै भइरहन्छ।

 शौचालय सफा राख्न नसक्ने ‘स्मार्ट सिटी’ का वासिन्दाले अब हिमालय कसरी संरक्षण गर्लान् ?    त्यसैले नेपाल अब लामखुट्टेलगायतका कीरा फट्याङ्ग्राहरूको गणराज्य हुनेछ। अरिंगाल बिच्छीहरू हाम्रा जातीय एवं वर्गीय शत्रु हुन्, तिनीहरूलाई निर्मूल गर्नुपर्ने थप दायित्व रहेको छ। मलेरियाले सो घोषणापत्र पढ्दै सभा अन्त्य गर्‍यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.