सधैं मैदान अभाव

सधैं मैदान अभाव

चितवन : नारायणगढको क्याम्पाचौरको स्वरूप केही दिनदेखि बेग्लै छ। चौरमा उमारिएको दुबोलाई हरियो बनाउन दिनहुँ पानी हालिन्छ। लामो भएका दुबो मेसिनले काटेर एकैनासको बनाइएको छ। सामान्यदेखि ठूला कार्यक्रमका लागि रोजाइ स्थलको रूपमा चिनिएको क्याम्पाचौर अहिले सिँगारिएको छ। असोज ३० देखि सुरु हुन लागेको जेसिज विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताका लागि तीन महिनादेखि चौर बनाउन आयोजक नारायणगढ जेसिज लागिपरेको छ।

अहिले दैनिक पाँच जना कामदार मैदान बनाउन खटिएका छन्। खेल अवलोकन गर्न करिब सत्र सय जना अट्ने प्यारापिट निर्माण गरिएको छ। स्तरीय प्रतियोगिता गर्न पनि मैदान बनाउनु आयोजकलाई बाध्यता हुने गर्छ। जिल्लामा स्तरीय फुटबल मैदान छैन। फुटबल मैदान नहुँदा क्याम्पाचौरलाई हरेक पटक मर्मत गरेर प्रतियोगिता आयोजना गरिने गरेको छ। ‘हरेक पटक मैदानकै लागि रकम छुट्याउनुपर्छ’, जेसिज विकास रनिङ सिल्ड प्रतियोगिताका प्रचार संयोजक सूर्यभक्त अधिकारीले भने, ‘स्थायी संरचना नहुँदा हरेक पटक समस्या झेल्नु परेको छ।’

जिल्लामा स्तरीय फुटबल मैदान नहुँदा प्रतियोगिता आयोजना गर्न आयोजकलाई विद्यालय, क्याम्पस र प्रहरीको मैदान माग्नुपर्ने बाध्यता छ। पछिल्लो समय जिल्लामा ठूलो धनराशि राखेर फुटबल आयोजना गर्न प्रतिस्पर्धा चले पनि मैदान नहुनुको पीडा सबैलाई खड्किने गरेको छ। हरेक पटक प्रतियोगिताको बखत क्याम्पाचौरलाई मर्मत गर्नुपर्छ। चौर बनाउन मात्रै चार/पाँच लाख रुपियाँसम्म खर्च हुने गरेको छ। पाँच दशकदेखि क्याम्पाचौरको स्वरूप उस्तै छ। २०१६ सालदेखि फुटबल खेलेका कलाकार ऋद्धिचरण श्रेष्ठले ‘कुरो’को झाडी उखलेर खेलेको स्मरण गरे। देशका विभिन्न स्थानमा राष्ट्रिय प्रतियोगिता खेलेका श्रेष्ठले त्यति बेलादेखिको मैदान अभाव अहिलेसम्म पनि उस्तै रहेको दुःखेसो पोखे। ‘चौर संरक्षण भएको छ तर स्वरूप भने फेर्न सकेन’, उनले भने, ‘सामान्य मर्मतसम्भारबाहेक अरू काम हुन सकेन।’ पछिल्लो समय चौर जोगाउन माटो लिन आउनेलाई रोक लगाएको उनले बताए।

सामूहिक प्रयास नहुँदा रंगशाला निर्माणको काम अगाडि बढ्न सकेको छैन। रत्ननगर नगरपालिकास्थित टिकौलीचौरमा ०६७ सालमा प्रस्तावित क्षेत्रीय रंगशालाको शिलान्यास गरिएको थियो। तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डे र खेलकुदमन्त्री गणेश नेपालीले चौरमा खनिएको खाल्डोमा पूजापाठ गरेर शिलान्यास गरेका थिए। तर, निर्माणको काम भने अगाडि बढ्न सकेन। वन विभागले फाइल नै अघि नसारिदिएपछि टिकौलाीमा रंगशाला निर्माण गर्ने काम अलपत्र परेको छ। जैविक मार्गमा पर्ने भएकाले वन विभागले उक्त ठाउँमा रंगशाला बनाउन स्वीकृति दिएन।

त्यसमा चितवन राष्ट्रिय निकुञ्जले विरोध जनाएको थियो। अहिले पश्चिम चितवनको नयाँबजारमा फुटबल मैदानको काम सुरु गरिएको छ। पाँच वर्षअघि साविकको चित्रवन नगरपालिकाको खेलकुद विकास समितिको अग्रसरतामा काम सुरु गरिएको हो। पर्याप्त बजेट अभावले सोचेअनुसार कामले गति लिन नसकेको चित्रवन रंगशाला निर्माण समितिका कोषाध्यक्ष विजय घलेले बताए। अहिले त्यहाँ पर्खाल मात्र लगाइएको छ। ‘डीपीआर तयार भएर पनि बजेट अभावमा टेन्डर हुन सकेको छैन’, घलेले भने, ‘मन्त्रालयमा फाइल पुगे पनि बजेट निकास नहुँदा समस्या भएको छ।’

गाउँमा स्थानीयस्तरका प्रतियोगिता आयोजना भए पनि ठूला खेल सञ्चालनमा कठिनाइ भइरहेको छ। क्याम्पाचौरलाई फुटबल मैदानका रूपमा विकास गर्ने विषय उठे पनि त्यसले सार्थकता पाउन सकेको छैन। क्याम्पाचौरमै अन्य बेला क्रिकेट खेल्दा पनि चौरको स्वरूप बिग्रने गरेको छ। पूर्वखेलाडी मञ्जुल प्रधानले मैदान अभाव अझै उस्तै रहेको गुनासो गरे। २०४० सालदेखि उनले झन्डै १५ वर्ष फुटबल खेले। उनले फुटबलमा पूर्वाधार नभएको बताए। ‘ठाउँ भएर पनि केही नभएको जस्तो छ’, उनले भने, ‘फुटबल खेल्न ग्राउन्ड छैन भन्नु लाजमर्दो कुरा हो।’

प्रतियोगिताको अवधिमा पानी परे खेल सञ्चालन गर्न गाह्रो हुन्छ। मैदानमा पानी जम्ने गरेका कारण खेलाडी चिप्लिने, हिलाम्मे हुने समस्या छ। मैदान अभावको समस्या पुरानो भए पनि समाधान हुन सकेको छैन। कतिपयले क्याम्पाचौरलाई मिनी स्टेडियमका रूपमा विकास गर्न सुझाव दिएका छन्। जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले मैदान अभावले जिल्लामा फुटबलको विकासमा असर परेको बताए। ‘मैदानको अभावले ‘ए’ डिभिजन खेल खेलाउन सकिएको छैन’, कार्कीले भने, ‘गतिलो ग्राउन्ड नहुँदा प्रतियोगिता गर्न गाह्रो छ।’

क्याम्पाचौर बालकुमारी माध्यमिक विद्यालयको नाममा छ। क्याम्पाचौर संरक्षण समितिले संरक्षणको काम गरेको छ। जिल्ला खेलकुद विकास समितिको बजेटमा तारबार मात्रै गरिएको छ। मिनी स्टेडियम निमार्णको प्रस्तावमा राष्ट्रिय खेलकुद परिषद्ले जग्गाको भोगाधिकार मागेपछि प्रक्रिया अघि बढ्न नसकेको समितिका संयोजक दीपक प्रधानले बताए। ‘हामीले चौर जोगाउने काम मात्रै गरेका छौं’, उनले भने, ‘बजेट र योजना नहुँदा विकासले गति लिन सकेको छैन।’

टुबोर्ग जेसिज रनिङ बिहीबारदेखि

बिहीबारदेखि नारायणगढमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको टुबोर्ग जेसिज विकास रनिङ सिल्ड फुटबल प्रतियोगिता सुरु हुने भएको छ। क्याम्पाचौरमा नारायणगढ जेसिजको आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। दर्शकको सुविधाका लागि अस्थायी प्यारापिट निर्माण गरिएको छ। मंगलबार पत्रकार सम्मेलन गरेर आयोजकले तयारी पूरा भएको जनाएको छ। प्रतियोगिता कात्तिक ९ सम्म चल्नेछ। यसअघि जेसिजले आयोजना गरेको ‘जेसिजकप’ र विकास सिल्ड समितिले आयोजना गर्दै आइरहेको ‘विकास रनिङ सिल्ड’लाई मर्ज गरिएको हो। प्रतियोगितालाई स्तरीय बनाउन लागेको नारायणगढ जेसिजका अध्यक्ष विकासमान श्रेष्ठले बताए।

यसपटकको प्रतियोगितामा ‘ए’ डिभिजनका आठ क्लब र आयोजकसहितको दुई क्षेत्रीय क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा मनाङ मस्र्याङ्दी, एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, जावलाखेल, सरस्वती, फ्रेन्ड्स, संकटा, चितवन-११ र मकवानपुर-११ बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विजेताले ६ लाख ६ हजार ६६ रुपैयाँ र उपविजेताले तीन लाख तीन हजार ३३ रुपैयाँ पाउने छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.