हात्ती धपाउँदै सकियो दसैं

हात्ती धपाउँदै सकियो दसैं

चितवन : देशैभर चाडवाडको माहोल भएको बखत ठोरीवासीको दसैं भने हात्ती धपाउँदै बित्यो। दसंैको बेला पनि उनीहरूलाई हात्ती धपाउने चटारो थियो। वर्षभरी खाने धान सखाप पार्न थालेपछि उनीहरूलाई चाडवाडले खासै छोएन। दशैभन्दा ठूलो उनीहरूको लागि धान जोगाउनु थियो।

दसैंमा हात्ती लखेट्नमै व्यस्त रहे। हात्ती लखेटेर दसंै मनाए ठोरीवासीले। हात्ती गस्ती गर्न मचान निर्माण गरिएको छ। त्यसमा चढेर हात्ती आए नआएको हेरेर एक अर्कालाई खबर गर्छन्। झमक्क साँझ परेपछि ठोरीको खेतमा बत्ति झिलिमिली हुन्छ। स्थानीय हातमा लाइट बोकेर गस्तिका लागि तयार हुन्छन्। कसैले राँको बाल्ने, कसैले टिन ठोक्ने त कसैले साइरन बजाउँछन्। एक ठाउँबाट हल्ला गरेपछि अर्को ठाउँकाले आवाज दिएर संकेत गर्छन्।

पछिल्लो दुई महिनादेखिको उनीहरूको कार्यतालिका हो। जंगली हात्तीबाट धानबाली जोगाउन उनीहरू दैनिक गस्ती छन्। जब साँझ पर्छ त्यसपछि हात्तीको गस्ती सुरु हुन्छ। हात्ती धपाउनकै लागी रातभर जाग्राम बस्ने गरेको इच्छानगरका शम्भु पन्तले बताए। ‘एक घण्टा मात्रै चर्न पायो भने प्लट नै सखाप बनाउँछ,’ उनले भने ‘हाम्रो दसैं त हात्ती लखेटेर सकियो’। गत महिना हात्ती र मान्छेबीच नै द्वन्द्व चलेको उनी बताउँछन्।

हरेक दिन खेतमा जंगली हात्ती आएर धान खाने, माडेर नष्ट गर्दै आएको छ। भित्र्याउने बेलाको धान हात्तीले नष्ट गर्न थालेपछि स्थानीय हैरान छन्। पर्साको ठोरी गाउँपालिकास्थित वडा नम्बर १, २ र ३ मा हात्तीको आतंक बढी छ। ‘वर्षभरी खाने धान नष्ट हुँदा दसैं भनेर मात्रै मन नरमाउने रैछ’ पन्तले गुनासो गरे। वडा नम्बर ४ र ५ मा भने सोलार फेन्स जडान गरिएको छ।

पर्सा राष्ट्रिय निकुञ्जले करिब २५ किलोमिटर दुरीमा सोलार फेन्स राखेको छ। चितवन राष्ट्रिय निकुञ्जतर्फ भने केही काम भएको छैन। स्थानीयले मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद्ले काम नगरेको गुनासो गरे। ठोरी गाउँपालिकाले आफ्नै बजेटमा काम थालेको छ। वडा नम्बर ३ मा अघिल्ला दुई आर्थिक वर्षमा २५ लाख बजेट विनियोजन गरेको थियो। अहिले ८ लाख रुपैयाँ विनियोजन गरेको छ।

त्यस्तै वडा नम्बर १ र २ मा पनि बजेट छुट्याएको गाउँपालिका प्रमुख पदमलाल श्रेष्ठले बताए। ‘हात्तीले किसानको वर्षभरी खाने अन्नबाली नष्ट गर्दा निकुञ्जले केही गरेन,’ उनले भने, ‘गाउँपालिकाले मात्रै सबै गर्न गाह्रो छ। तै पनि सकेको गरेका छौं।’

जंगली हात्तीको आक्रमणको पीडा ठोरी गाउँपालिकाको बासिन्दाको वर्षौंदेखिको समस्या हो। ठोरी गाउँपालिकामा दैनिक हात्ती खेतमा पस्न थालेपछि धान लगाएका किसानहरु हैरान भएका छन्। पर्सा राष्ट्रिय निकुञ्ज तथा भारतको सिमावर्ती क्षेत्रमा रहेको जंगलबाट दैनिक रूपमा आउने हात्तीले ठोरी गाउँपालिकाका सबैजसो वडाहरुमा लाखौंको क्षति गरिसकेको छन्। बर्सेनि आउने हात्तीको समूहले स्थानीयको बालीनाली, घर आदि नष्ट गर्नुका साथै ज्यानैसमेत लिने गरेको छन् । वन्यजन्तुको आक्रमणको चरम पीडामा रहेका स्थानीयले दिर्घकालीन समाधानको माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.