अव्यवस्थित पार्किङ र होर्डिङ बोर्ड हटाउन घरपझोङ पालिकाको अल्टिमेटम
जोमसोम : मुस्ताङ सदरमुकाम जोमसोम बजार क्षेत्रमा अव्यवस्थित पार्किङ र होर्डिङ बोर्ड हटाउने घरपझोङ गाउँपालिकाले निर्णय गरेको छ । बुधबार बसेको सरोकारवाला सम्मिलित बैठकमा एक साताभित्रै पार्किङ व्यवस्थापन तथा होर्डिङ बोर्ड हटाउने अल्टिमेटम दिएको हो ।
बजारक्षेत्रको सवारी आउजाउ सहज बनाउन सडक छेउछाउका होर्डिङ बोर्ड हटाउने गाउँपालिकाले प्रस्ताव गरेको हो । पछिल्लो समय सडक संञ्जाल सहज भएपछि मुस्ताङमा दिनहुँ सयौं सवारी साधन भित्रिने क्रम बढेको छ ।
सवारी बढेसँगै एयरपोर्ट र जोमसोम क्षेत्र भद्दा देखिएको हो । जहाँपायो त्यही सवारी पार्किङ गर्नाले सवारी आवागमन समेत साँघुरो बनेको अध्यक्ष आशबहादुर थकालीले बताए।' पार्किङ व्यवस्थित गर्दै लैजाने पालिकाको अवधारणा हो,उनले भने,' सवारी विश्राम गर्दा पनि पार्किङ स्थल प्रयोग गर्नुपर्छ, यस्तो भयो भने जोमसोम क्षेत्रको सुन्दरता समेत वृद्धि हुन्छ।'
यस्तै, रातको समयमा पनि अनिवार्य पालिकाले निर्माण गरेको पार्किङ स्थलमा सवारी लगेर व्यवस्थापन गर्न समेत आग्रह गरिएको हो । गाउँपालिकाले पुथाङ एयरपोर्ट तलको ३ सय मिटर पर पार्किङस्थल निर्माण गरेको छ । तर, उक्त पार्किङ स्थल होटल व्यवसायीले अपायक भएको बताएका छन् ।
पालिकाले गत वर्ष ४८ लाख खर्चिएर पार्किङस्थल निर्माण गरेपनि प्रयोगमा आएको थिएन । अध्यक्ष थकालीले जोमसोम क्षेत्रमा सवारी चुस्त राख्न पार्किङ स्थलको उपयोग गर्न व्यवसायी तथा सवारी धनीलाई सुझाएका छन्।
पुथाङ एयरपोर्टका गाउँ मुखिया शेरबहादुर गुरुङले पार्किङस्थलको उपयोग र होर्डिङ बोर्ड हटाउने पालिकाको निर्णयमा आफू सकारात्मक भएको जनाए । उनले यसबारे व्यवसायीसँग छलफल गर्ने बताए । बैठकमा,जनप्रतिनिधि, प्रजिअ वेदप्रसाद अर्याल, सुरक्षा निकाय ,आमा समृह, नागरिक समाज र व्यवसायीको उपस्थित थियो।