ओझेलमा ‘चुङ्सी गुफा’ (फोटो फिचर)
मुस्ताङ: मुस्ताङका विभिन्न क्षेत्रमा दर्जनौ गुफा छन् । गुफा ऐतिहासिक कथासंग पनि सम्बन्धित छन् । उपल्लो मुस्ताङको लोघेकर गाउँपालिका ३ चुङ्सीमा अवस्थित गुफा यस्तो गुफा हो जो धार्मिक दृष्टिकोणले महत्वपूर्ण छ ।
चुङ्सी गुफा सदियौं वर्ष पुरानो मानिएको छ । चीनको स्वशासितक्षेत्र तिब्बतमा बुद्ध धर्मको उदय हुनु अगावै यो गुफा उत्पती भएको स्थानीय बताउछन् । चुङ्सी भन्ने स्थानमा गुफा भएकाले यसलाई चुङ्सी गुफा भनिएको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडाअध्यक्ष सम्तेन धावा गुरुङले जानकारी दिए । चुङ्सीमा धार्मिक महत्वका ३ वटा गुफा अवस्थित छन् ।
प्राकृतिक र धार्मिक महत्वका चमत्कारीक विभिन्न देवी देवताका आकृति र वास्तुकला देख्न सकिन्छ । जुन हिन्दु र बौद्ध धर्मका लागि समेत उक्तिकै महत्व छ । चुङ्सी नजिकको दुईवटा ठुला-ठूला पहाडको खोचको गुफामा उ समय तिब्बती गुरु पद्य संम्भव अर्थात् रिम्र्पोछेले ध्यान गरेर बस्थे ।
पहिलो गुफाको चट्टानी वालमा आफै उत्पती भएको आश्चार्य लाग्दो आकारका चक्कुुन, शङ्ख, गुरु रिम्र्पोछे रुखको छहारी, रिम्र्पोछेको पैतालाको डोब, देवी देवताको खेत, रिम्र्पोछेले लगाउने छेगुम राङ्झेन– कपडा र गुफा भित्रै साना ठूला हिमालय पर्वत जस्तो कलात्मक आकृति छ । पहिलो ग्फाको कडा चट्टाने पहाडबाट निस्केको पहेलो रङको माटो धार्मिक गुम्बामा हुने महाकाल पुजाआजामा प्रयोग हुने वडाअध्यक्ष सम्तेन धावाले बताए ।
चुङ्सीको दोश्रो गुफामा भित्ते ढुङ्गामा कुदिएको जस्तो हात्ती आकारको वस्तु छन् । यस्तै, गुफाभित्रै पाप र धर्म छुट्याउने सानो गुफा छ । पाप गर्ने व्यक्ति गुफाबाट बाहिर आउन नसक्ने र धर्म गर्ने व्यक्ति बाहिर निस्कने सक्ने धार्मिक मान्यता छ । तेश्रो गुफाको भित्तामा जीउ सर्पको जस्तो र टाउको चराको जस्तो आकृति पनि छन् । गुफाका अलावा यसको दाहिनेतर्फ खोला छेउको भित्तामा स–साना छिद्र प्वालहरु छन् जहा नुनिलो पानी छ । यि छिद्रबाट पानी बाहिर निस्कदैन तर गिलासको सहायताले सयौं लिटर नुनिलो पानी यहाबाट निकाल्न सकिन्छ ।
तल्लो भेकका मुस्ताङी समर हुँदै २ घण्टा पैदल हिँडेर चुङ्सी गुफा दर्शन गर्न जान्छन् । यस्तै उपल्लो मुस्ताङीहरु घिलिङ हुँदै यहाँ पुग्छन् । चुङ्सी गुफा आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण धार्मिक केन्द्र भएको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । चुङ्सी गुफा संरक्षण तथा स्तरोन्नतिका लागि पालिकाले बजेट बिनियोजन गर्दै आईरहेको उनले बताए । यस्तै अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप र स्थानीयले समेत गुफा संरक्षणमा योगदान गरेको अध्यक्ष बिष्टको भनाइ छ । हरेक पूर्णिमाका दिन र दसै पर्वमा यहा लामाहरुबाट पूजाआजा गरिन्छ । दसैँमा पशु बलि बढी हुने भएकाले स्थानीयले शान्तिको कामना गर्दै बत्ती बाल्ने गर्छन् ।
धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएपनि प्रचार-प्रसारको अभावमा चुङ्सी गुफा ओझेलमा परेको हो । गुफा राष्ट्रिय गौरवको जोमसोम-कोरला मुख्य सडकको पश्चिम खोलाको खोचमा छ । पछिल्लो समय घिलिङका स्थानीयहरुले गुफाको संरक्षण तथा व्यवस्थापन गर्दै आईरहेको शिक्षक नीमा विवशले जानकारी दिए । पर्यटन प्रर्वधनमा गुफाको विकास गर्न संघीय तथा प्रदेश सरकारले चाँसो दिनुपर्ने बताए ।
फोटो सौजन्य ः नीमा विवस घिलिङ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ स्थित ऐतिहासिक चुङ्सी गुफा भित्रको तस्विरहरु ।