नेकपाको ‘हार्दिकता साटासाट’

नेकपाको ‘हार्दिकता साटासाट’

काठमाडौं : सत्तारुढ दल नेकपाले दसैंतिहार र छठको अवसर पारेर बुधबार काठमाडौंमा चियापान कार्यक्रम आयोजना गरेको छ। राजनीतिक संस्कार र दलहरूबीच एकता सुदृढ गर्ने तथा सत्ता र प्रतिपक्षबीचको सम्बन्ध सहज बनाउन प्रमुख राजनीतिक दलहरूले केही वर्षयता चाडपर्वलक्षित चियापान आयोजना गर्न थालेका छन्।

बुधबार नेकपाले राजनीतिक दलहरूबीच एकता र सहकार्यमा जोड दिन चियापन आयोजना गरेको थियो। पार्टी नेता–कार्यकर्ता तथा सर्वसाधारणका लागि दिउँसो १२ देखि ३ बजेसम्म र त्यसपछि साँझ ५ बजेसम्म अन्य राजनीतिक दलका नेता, कूटनीतिक निकायका प्रतिनिधि, उच्च्पदस्थ कर्मचारीलगायतका लागि नेकपाले चियापान आयोजना गरेको थियो।

नेकपाको चियापान पहिले ‘घोचपेच’ मा र त्यसपछि ‘हार्दिकता साटासाट’ मा परिणत भएको थियो। चियापानको सुरुमै पार्टीका शीर्ष नेताको उपस्थितिमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरेका थिए।

अन्य राजनीतिक दलका नेता अनुपस्थित रहेको पहिलो चरणको चियापानमा प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्न खोज्ने दल तथा नेताको आलोचना गर्दै सरकारको बचाउ गरेका थिए। विगत र अहिलेको सरकारको काम गराइमा फरक नदेखिएको भनी आलोचना गर्नेप्रति असहिष्णु देखिएका प्रधानमन्त्री ओलीले ‘सामन्तवर्ग’ले मात्र सरकारको आलोचना गरेको बताए।

‘लोकतन्त्र आएको छ। विकासको बाटो समातेको छ। नयाँ गतिका साथ देश अघि बढेको छ। तर कतिपय मान्छेहरूले केही भएको छैन भन्छन्। उनीहरूले आँखा खोलेर हेरेर भन्नु पर्‍यो,’ प्रधानमन्त्री ओलीले भने, ‘सामन्त वर्गलाई न पहिले फरक थियो, न अहिले फरक परेको छ। उनीहरूसँग राम्रो गाडी, घर घडेरी, उद्योग छँदै छन्। उनीहरूलाई के मतलब ? ’ उनले नेकपा नेतृत्वको सरकारले के फरक पारेको छ गाउँमा गएर आँखा खोलेर बुझ्न आग्रह गरे। उनले थपे, ‘बूढाबूढीलाई गएर सोध्नुहोस्, कहाँ के कसरी फरक पारेको छ, उनीहरूले बताउँछन्।’

प्रधानमन्त्रीले सरकारले अघि बढाएका कार्ययोजनाको प्रभाव तल्लो तहका जनताबीचमा देखिन थालेकाले चिल्ला गाडी चढ्नेहरूको आँखाबाटभन्दा जनताका बीचबाट हेर्नुपर्ने धारणा राखे। ‘स्वास्थ्य बिमा गरिएको छ। एयरपोर्टहरू बन्दै छन्। चिनियाँ राष्ट्रपति आउँदा रातारात काम गरेर उहाँको स्वागत पनि गरियो,’ प्रधानमन्त्रीले भने, ‘फास्ट ट्र्याक बन्न लागेको छ। पेट्रोलियम पाइपलाइनका कुरा भएका छन्। चतराबाट २० मिनेटमा भोजपुर पुग्न सकिन्छ। त्यहाँ गएर हेर्नुपर्‍यो नि ! सरकारले के फरक पारेको छ भन्ने कुरा।’

यो पनि पढ्नुहोस् - नेकपा चियापान : सेल्फीदेखि बसिबियाँलोसम्म...

अर्का अध्यक्ष दाहालले अहिलेको परिवर्तन दल विशेष, नेता विशेषको मात्र सम्पत्ति नभइ, सात दशक लामो संघर्षको प्रतिफल भएकाले उपलब्धी सबै नेपालीको साझा सम्पत्ति भएको बताए। भारतसँगको पाइपलाइनदेखि सीको सफल ऐतिहासिक भ्रमण र बढेको विश्वास तथा सहकार्यले नेपालको भविष्य नयाँ दिशातिर गएको सन्देश दिएको दाहालको भनाइ थियो। भारत–चीन र नेपालबीच त्रिदेशीय आर्थिक विकासको साझेदारीको आधार चिनियाँ राष्ट्रपतिको भारत र नेपाल भ्रमणले तयार पारेको भन्दै उनले यसबाट नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिए।

‘विशिष्ट राजनीतिक आधार अहिले तयार हुँदै जान थालेको छ। चिनियाँ राष्ट्रपति सी भारतमा गएर मोदीसँग एक दिन छलफल गरेर फेरि नेपाल आएर समझदारी बनेको छ,’ दाहालले भने, ‘म आफैं चीन र भारत भ्रमणमा जाँदा त्रिदेशीय साझेदारीको प्रस्ताव गरेको थिएँ। अहिले सी र मोदीबीचको छलफलमा टु प्लस वन छलफल बढ्न थालेको छ, यसबाट नयाँ उचाइमा अगाडि जानुपर्छ।’ सुरुमै दुई अध्यक्षको मन्तव्यपछि शुभकामना आदानप्रदान सुरु भएको थियो।

दिउँसो ३ बजेपछि भने अन्य राजनीतिक दलका नेता चियापानमा पुगेका थिए। त्यसपछि भने नेकपा र अन्य दलका नेताबीच हार्दिकता साटासाट भएको थियो। चियापानमा विपक्षी पार्टीका तर्फबाट भने सुरुमै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पुगेका थिए। अन्य राजनीतिक दलका नेतादेखि विशिष्ट पाहुनाका लागि छुट्याइएको समयमा प्रधानमन्त्री ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाललगायत नेता मञ्चमा थिए। अर्का अध्यक्ष दाहाल भने सम्बोधनपछि चितवनतर्फ लागेका थिए। उनी विशिष्ट अतिथि सहभागी चियापानमा सहभागी भएनन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँग केहीबेर बसेर चिया पिएका थिए।

केहीबेर प्रधानमन्त्री ओली र नेकपाका अन्य नेतासँग भलाकुसारी गरेर फर्कने बेला देउवाले बीपी कोइरालाका पालादेखि चियापान सुरुवात भएको र अन्य दलले पनि पछ्याउन थालेको बताए। ‘बीपीका पालादेखि चियापान कार्यक्रम सुरु भएको थियो। पछि यसलाई अन्य राजनीतिक दलले पनि पछ्याउनुभएको छ। यो राम्रो कुरा हो। यस्ता कार्यक्रमले भेटघाट बढाउने, राजनीतिक सहकार्य र एकता निर्माणमा सहयोग पुग्ने भएकाले यसले सकारात्मक सन्देश दिएको छ,’ उनले भने।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि दलहरूबीचको सहकार्य र सम्बन्ध यस्ता कार्यक्रमले सुमधुर बनाउन मद्दत गर्ने बताए। उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी, नेकपा माले महासचिव सीपी मैनाली, कांग्रेस नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशर्ण महत, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेललगायत नेता चियापानमा आएका थिए। नेकपाले निम्तो गरे पनि राजपा नेताहरू भने नेकपाको चियापानमा सहभागी भएनन्।

चियापानमा कुनै पनि नेताले अघिपछिको जस्तो राजनीतिक टिप्पणी गरेनन्, बरु हार्दिकता नै साटासाट गरेका थिए। दिनभरि नेकपाका नेताहरू उभिएरै चियापानमा सहभागी हुन आएकाहरूलाई हात मिलाएर स्वागत गरिरहेका थिए। कलाकारहरूले छुट्टै मञ्चमा सांस्कृतिक नाचगान गरिरहेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.