नेकपा चियापान : सेल्फीदेखि बसिबियाँलोसम्म...
‘ओहो, नमस्ते, सञ्चै हुनुहुन्छ ?’ धेरै भयो भेटघाट नभाको ! भेट्न पनि चियापन कार्यक्रम आयोजना हुनुपर्ने रहेछ ।’
जम्माभेटसँगै नमस्ते वा अभिभावदन आदानप्रदानपछि भृकुटीमण्डपको चउरमा दिनभरजसो यस्ता दृष्य र संवाद सुनिएका थिए ।
उनीहरु भेटेपछि ‘दसैँ कस्तो भयो ?, स्वास्थ्य कस्तो छ ?’ जस्ता व्यक्तिगत र पारिवारिक कुराकानी पनि गरेको देखिन्थे । त्यतिले नपुगेर सामूहिक तस्बिर खिचाउन पनि उनीहरु जुटेका देखिन्थे । कोहीकोही पनि शीतल चौतारी खोजेर आराम गर्दै बदाम खाँदै आपसमा गफिँदै थिए । 
चाडपर्व र संस्कृति सम्पन्न नेपालमा राजनीतिक गतिविधि न्यून बनाएका बेला राजनीतिक दलले आयोजना गर्ने शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमले नेता, कार्यकर्ता र सर्वसाधारणमा आपसमा मिलेर देशको विकास र समृद्धिमा लाग्ने नयाँ सन्देश पनि मिल्दै आएको छ ।
दसैंको कोजाग्रत पूर्णिमाको दिन प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले आयोजना गरेको चियापान कार्यक्रमले पनि त्यस्तै प्रकारको राजनीतिक सन्देश दिएको थियो भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको चियापानले त्यसलाई निरन्तरता दिएको छ ।
नेपालको राजनीतिमा बिपी कोइरालाले भारतबाट विसं २०३३ मा स्वदेश फर्केपछि एकता र मेलमिलापका लागि यस्तो चियापानको आरम्भ गरेका थिए भने विसं २०४६ मा बहुदलीय प्रजातन्त्रको स्थापनापछि तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीले दसैंको अवसरमा चियापान कार्यक्रम आयोजना सुरु गरेका थिए ।
तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र) बीच २०७४ जेठ ३ गते एकतापछि नेकपाको यस वर्ष दोस्रो चियापान कार्यक्रम हो ।
नेकपाका नेता तथा पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले चियापानले नेता र कार्यकर्ताबीच भेटघाटको अवसर जुराउनाका साथै आपसी सद्भाव र सहकार्य प्रदान गरेको बताइन् ।
गृहजिल्ला सप्तरीमा काम भए पनि चियापानका लागि काठमाडौँ बस्नुभएका पूर्वसांसद रञ्जुकुमारी झा ठाकुरले चियापान हुनु आफैँमा सकारात्मक भएको बताए।
राष्ट्रिय युवा सङ्घका संयोजक रामप्रसाद सापकोटाले धेरैपछि नेता र कार्यकर्ताबीच यस प्रकारको भेटघाट भएको जनाउँदै चाडपर्वले एकताको सन्देश दिएको प्रतिक्रिया दिए ।
दिउँसो १२ बजेदेखि सुरु हुने निर्धारण भएको चियापान कार्यक्रमका लागि सोभन्दाअगावै नेता कार्यकर्ताको आगमन सुरु भइसकेको थियो । प्रवेशद्वारमा पार्टीका विभिन्न नेता एवं सांसदसहितले सहभागीलाई उभिएर स्वागत गरेका थिए । 
मञ्चमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेतासँगै रहेर स्वागत गरे । अध्यक्षद्वय ओली र दाहालले आरम्भमै सम्बोधन गरी शुभकामना दिँदै विकास र समृद्धिको यात्रामा सामेल हुन सबैमा आग्रह गरेका थिए ।
वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङलगायत साँझ करीब ५ बजेसम्मै थिए ।
कार्यक्रममा मञ्चको पछाडिको चौरमा शुभकामनाको ब्यानरसहित नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र जननेता मदन भण्डारीको ठूलो तस्वीर राखिएको थियो, जहाँ पुगेर तस्वीर खिचाउनेको पनि भीड देखिएको थियो । ठाउँठाउँमा पार्टी अध्यक्षद्वय ओली र प्रचण्डको तस्वीर अङ्कित होर्डिङ बोर्ड र कम्युनिष्टको अन्तर्राष्ट्रिय चिह्न हँसिया हथौडा र नेकपाको चनाव चिह्न सूर्यमा पनि तस्बिर खिचिएको थियो । 
चियापनमा सहभागी हुनेलाई खजुरी, निमकिन, मिठाइ र केराले खुवाइएको थियो । कार्यक्रममा भित्र प्रवेश गर्न र बाहिर निस्कन फरक–फरक द्वारको व्यवस्था गरिएको थियो ।
कार्यक्रममा काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सङ्घीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा माओवादी ९क्रान्तिकारी० का नेता सिपी गजुरेल, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारी, साहित्यकार, कलाकार, पत्रकार र सर्वसाधारणको उपस्थिति थियो ।
चियापानकै मौका पारेर कम्युनिस्ट आन्दोलन र विभिन्न विषयसँग सम्बन्धित पुस्तक पनि बिक्री वितरण गरिएको थियो ।
माओत्सेतुङ, पुष्पलाल, मदन भण्डारी, मोदनाथ प्रश्रितलगायतका पुस्तक सजाइएको थियो । पुस्तक मात्र होइन अल्लोको कपडासमेत बिक्री वितरणका लागि राखिएको थियो । कोट, टोपी, जुहारीलगायतका कपडासमेत नेता कार्यकर्ताले किनेका थिए । -प्रकाश सिलवाल/शरद शर्मा /रासस







प्रतिक्रिया दिनुहोस !