पृथ्वी राजमार्गका होटलमा आकस्मिक अनुगमन, १ लाख १० हजार जरिबाना

पृथ्वी राजमार्गका होटलमा आकस्मिक अनुगमन, १ लाख १० हजार जरिबाना
सुन्नुहोस्

धादिङ : पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने हजारौं यात्रुका लागि सडक किनारका होटल केवल खाना खाने ठाउँमात्र होइनन्, लामो यात्राको थकान मेट्ने भरोसाको विश्रामस्थल पनि हुन्। बिहानको तातो चिया दिउँसोको खाना वा रातको बाससँगै यात्रुले सुरक्षित, स्वच्छ र गुणस्तरीय भोजनको अपेक्षा गरेका हुन्छन्। तर धादिङ खण्डमा गरिएको एउटा आकस्मिक अनुगमनले त्यो विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ।

जिल्ला अनुगमन समितिले पृथ्वी राजमार्गअन्तर्गत सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूमा गरेको अनुगमनका क्रममा कतै बासी खाना बिक्रीका लागि राखिएको भेटियो कतै खानामै किरा परेको थियो। केही होटलमा कुहिएका तरकारी पकाउन तयारी अवस्थामा थिए भने म्याद नाघेका खाद्य सामग्री भण्डारण गरिएको पाइयो। अझ फोहोर र अस्वच्छ भान्सामा खाना पकाइँदै गरेको अवस्था देखिएपछि पाँच होटल तथा व्यवसायलाई कुल १ लाख १० हजार रुपैयाँ जरिबाना गरिएको छ।

कारबाहीमा गजुरी गाउँपालिका–२ बिहानी पम्प क्षेत्रका मन्दिरा होटल एन्ड रेस्टुरेन्ट र शुभलक्ष्मी होटल एन्ड रेस्टुरेन्ट, थाक्रे गाउँपालिका–७ सातकिलोस्थित दिव्यांशी होटल एन्ड लज, गल्छीको गल्छी खुवा पसललाई जनही २५ हजार रुपैयाँ जरिबाना गरिएको छ। त्यसैगरी धुनीबेंसी नगरपालिका–९ नौबिसेस्थित थकाली होटललाई १० हजार रुपैयाँ जरिबाना गरिएको छ।

स्वास्थ्यकर्मीका अनुसार खाद्यजन्य रोग फैलिनुको प्रमुख कारण अस्वच्छ भोजन, गलत भण्डारण र सरसफाइमा हुने लापरबाही हो। विशेषगरी वर्षायाममा तापक्रम र आद्रताका कारण खाना छिट्टै बिग्रिने भएकाले होटल व्यवसायीले खाद्य सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्नुपर्ने आवश्यकता अझ बढेको छ। 

यात्रुले खाने प्रत्येक परिकार प्रत्यक्ष रूपमा उनीहरूको स्वास्थ्यसँग जोडिने भएकाले सानो लापरबाहीले पनि ठूलो जोखिम निम्त्याउन सक्छ। पछिल्लो समय पृथ्वी राजमार्गमा यात्रुको चाप बढेसँगै सडक किनारका होटलको सेवा, सरसफाइ र खाद्य गुणस्तरबारे गुनासा पनि बढिरहेका छन्। यही अवस्थालाई ध्यानमा राख्दै जिल्ला अनुगमन समितिले आकस्मिक अनुगमनलाई तीव्र बनाएको जनाएको छ। 

यसले व्यवसायीलाई जिम्मेवार बनाउनुका साथै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्ने उद्देश्य बोकेको छ। अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम, प्रहरी उपरीक्षक सुमित खड्का, अनुसन्धान कार्यालय प्रमुख उपअनुसन्धान निर्देशक हुमकान्त पाण्डे, पशु सेवा कार्यालय प्रमुख डाक्टर बब्लु ठाकुर, उद्योग तथा वाणिज्य कार्यालय प्रमुख चूडामणि पुरी तथा सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश भट्टराईलगायतको सहभागिता रहेको थियो।

जिल्ला प्रशासनले खाद्य सामग्रीको गुणस्तर, सरसफाइ र भण्डारण व्यवस्थामा लापरबाही गर्ने व्यवसायमाथि आगामी दिनमा पनि नियमित अनुगमन र कडा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ। यो अनुगमनले एउटा सन्देश स्पष्ट दिएको छ राजमार्गमा यात्रुको स्वास्थ्यभन्दा ठूलो कुनै व्यापार हुन सक्दैन। सुरक्षित भोजन उपभोक्ताको अधिकार हो र त्यसको सुनिश्चितता राज्य तथा व्यवसायी दुवैको साझा जिम्मेवारी हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.