काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र एकताको प्रयास तीव्र पारिएको छ।विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला समूहलाई समेट्न संस्थापन पक्षले सक्रियता बढाएको हो
संस्थापनले वार्ता प्रयास जारी राखे पनि देउवा समूह अलग गतिविधिमा सक्रिय छ।आगामी असोजमा हुने नियमित महाधिवेशनलाई लक्षित गरी संस्थापनइतर पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्ने तयारीसमेत गरेको छ।‘आज हामी प्रकाशमान सिंहजी, डा. शशांक कोइरालाजी र म गरी तीनजना बस्यौं।हामी बेलाबखत बस्छौं, आज मैले नै उहाँहरूलाई बोलाएको हुँ,’ नेता विमलेन्द्र निधिले भने, ‘अहिले अन्य दलभन्दा पनि सत्ताधारी दलबाटै संघीयताविरुद्धका कुराहरू आएका छन्।
झन्डै दुईतिहाइ मत प्राप्त दलबाट यस्ता कुरा आउनु खतराको संकेत हो भन्ने हाम्रो विश्लेषण छ।त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै दल एक हुनुपर्छ र यसको नेतृत्व कांग्रेसले लिनुपर्छ।’
निधिले आफ्नो समूहले पूर्णबहादुर खड्कामार्फत पार्टी एकताका केही मोडेलहरू अघि सारेको बताए।‘जसमा क्रियाशील सदस्यता पुरानै कायम गरिनुपर्ने र १५औं महाधिवेशन साझा सहमतिमा गरिनुपर्ने माग छन्।छानबिन, निर्वाचन, अनुशासन र विधान संशोधन समिति सहमतिमा बनाउन खड्काजीलाई जिम्मेवारी दिइएको छ।राष्ट्रिय भेलाको तयारीका लागि भोलि हामी खड्काजीको निवासमा बस्दैछौं।यो हामीले पार्टीकै हितका लागि गरिरहेका हौं, नयाँ पार्टी खोल्न लागिएको होइन।हामी यति लचक हुँदाहुँदै पनि अर्को पक्षबाट एकताका लागि ठोस पहल हुन सकेको छैन, यो दुःखद् छ,’ उनले भने।
महाधिवेशन निष्पक्ष र विश्वसनीय बनाउन इतर समूहले विभिन्न प्रस्ताव अघि सारेको छ।उनीहरूले विधानको धारा निलम्बन गरेर भए पनि १४औं महाधिवेशनबाट निर्वाचित तर हाल केन्द्रीय समिति बाहिर रहेका १ सय ११ जनालाई समेट्नुपर्ने, सबै पक्षको सहभागिता रहने गरी ‘उच्चस्तरीय एकता समिति’ गठन गरिनुपर्ने, निर्वाचन र क्रियाशील सदस्यता व्यवस्थापन्जस्ता महाधिवेशनका मुख्य संयन्त्रहरूमा सबै पक्षको समान प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव संस्थापनसमक्ष राखेका छन्।
कांग्रेसले असोजमा १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।संस्थापन पक्षका अनुसार अधिकांश क्रियाशील सदस्यता अध्यावधिक भइसकेकाले असारभित्र सबै प्रक्रिया टुंग्याइनेछ।हाल उपचारका लागि हङकङमा रहेका निवर्तमान सभापति देउवाको अनुपस्थितिमा इतर समूहको नेतृत्व पूर्णबहादुर खड्काले गरिरहेका छन्।खड्का र शेखर कोइरालाले सहमतिको वातावरण बनाउन नेतृत्वसँग निरन्तर संवाद गरिरहेका छन्।
पार्टीभित्रको संवादलाई गति दिन महामन्त्री गुरुराज घिमिरेले सक्रियता बढाएका छन्।उनले पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला र शेखर कोइरालासँग छुट्टाछुट्टै भेट गरी पार्टीलाई एक ढिक्का बनाउन आग्रह गरेका छन्।
घिमिरेका अनुसार इतर पक्ष विशेष महाधिवेशनबाट आएको नेतृत्वको वैधानिकता स्वीकार गर्न तयार छ।तर, उनीहरूले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई उचित भूमिका दिनुपर्ने र निष्पक्ष निर्वाचनको वातावरण बनाउनुपर्ने सर्त राखेका छन्।
महामन्त्री घिमिरेले यी प्रस्तावप्रति नेतृत्व सकारात्मक रहेको तर विधानको कानुनी सीमाभित्रै रहेर समाधान खोजिने बताए।यसबारे सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई समेत जानकारी गराइसकिएको छ
१४औं महाधिवेशनका १११ नेतालाई केन्द्रीय समितिमा समेट्ने खड्काको प्रस्तावमा भने मतभेद देखिएको छ।सभापति गगन थापाले विधानविपरीतका यस्ता प्रस्ताव स्वीकार गर्न नसकिने स्पष्ट पारिसकेका छन्। नेता शेखर कोइरालाले यसमा केही लचकता देखाएका छन्।आफूहरूको उद्देश्य भागबन्डा नभई निष्पक्ष महाधिवेशन मात्र रहेको भन्दै कोइरालाले उच्चस्तरीय संयन्त्र बनाएर काम अघि बढाउन सकिने धारणा राखेका छन्।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनेको थियो।सो प्रक्रियाप्रति असन्तुष्ट देउवा–खड्का पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भए पनि आन्तरिक मतभेद अझै पूर्ण रूपमा मेटिएको छैन।
सभापति थापाले देउवा–शेखर पक्षका १९ जनालाई केन्द्रीय सदस्य मनोनयन गरेसँगै दुवै पक्षबीच संवादको ढोका खुलेको छ।असोजको महाधिवेशन अघि सबै तहका अधिवेशनहरू सम्पन्न गर्नुपर्ने भएकाले, आन्तरिक मतभेद अन्त्य गरी सबैलाई एउटै प्रक्रियामा समेट्नु सभापति थापाको मुख्य चुनौती देखिन्छ।
प्रतिक्रिया दिनुहोस !