उत्पादनतर्फ सहकारी
काठमाडौं : कृषि उत्पादन र बजारीकरणमा सहकारीले लगानी बढाएका छन्। बचत र ऋणमा मात्रै केन्द्रित हुँदै आएका सहकारी पछिल्लो समय कृषिजन्य उत्पादन र बजारीकरणमा लागेका हुन्।
सहकारी विभागका अनुसार देशभर झन्डै ३५ हजार सहकारी छन्। त्यसमध्ये १३ हजारभन्दा बढी कृषिजन्य क्षेत्रमा क्रियाशील छन्। अन्य प्रकृतिका सहकारीले आफ्ना सदस्यलाई कृषि क्षेत्रमै लगानी गरेको दाबी गरेका छन्। सहकारीले सात खर्ब रकम परिचालन गर्दै आएकोमा कृषि क्षेत्रमा मात्रै डेढ खर्बभन्दा बढी छ। सहकारी विभागका उपरजिस्ट्रार शशि लम्सालका अनुसार सहकारीको वास्तविक तथ्यांक आउन नसके पनि पछिल्लो समय कृषिजन्य उत्पादन र बजारीकरणमा लगानी बढ्दै गएको छ। ‘सहकारीले कृषिका विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन्’, उनले भने, ‘संस्था आफैंले लगानी गर्ने क्रम बढेको छ, सदस्यको लगानी प्रायःजसो कृषिमै छ।’ तर कतिपय कृषि नाम जोडिएका सहकारीले पनि बचत तथा ऋणको मात्रै काम गर्दै आएका उदाहरण पनि भेटिन्छ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव दुलालका अनुसार कृषि क्षेत्रमा सहकारीको लगानी तुलनात्मकरूपमा बढ्दै गएको बताए। सहकारीको मुख्य काम कृषिको उत्पादन र बजारीकरण हुनुपर्ने भए पनि धेरै सहकारी बचत र ऋणमै केन्द्रित भएको उनको भनाइ छ। कृषिका विभिन्न विषयसँग सम्बन्धित दर्जनौं केन्द्रिय संघ छन्। तर, अधिकांश केन्द्रीय संघले उत्पादन बढाएर बजारीकरणमा लाग्नुको साटो राजनीतिमै केन्द्रित भएका छन्। जिल्ला सहकारी संघ ललितपुरका अध्यक्षसमेत रहेका दुलालले सदस्यको उत्पादनको बिक्री सुनिश्चित गर्न सहकारी बजार निर्माण लागेको बताए।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलले सहकारीको क्षमता अभिवृद्धि गरी उत्पादन बढाएर बजारीकरणमा जोड दिइएको बताइन्। यूएनडीपीअन्तर्गत रहेको सहकारी विकास कार्यक्रममार्फत तरकारी र फलफूलको बजारीकरणमा काम भइरहेको उनको भनाइ छ। ‘ सहकारीमा आबद्ध कृषकको उत्पादन सहकारी कलेक्सन सेन्टरमा आउँछ’, उनले भनिन्, ‘क्षेत्रीय बजार हुँदै काठमाडौंको केन्द्रीय बजारसम्म तरकारी र फलफूल ल्याउने योजना छ।’ पहिलो चरणमा प्रदेश ३ मा ६ वटा जिल्लामा सहकारी बजारका लागि पूर्वाधारलगायत काम भइरहेको उनको भनाइ छ। ‘यो मोडेल सफल भएमा अरु क्षेत्रमा पनि विस्तार गर्ने योजना छ’, उनले भनिन्।
नेपाल कृषिप्रधान देश भए पनि कृषिमा खर्बौंको व्यापारघाटा भइरहेको छ। स्वदेशमा व्यवस्थित ढंगले उत्पादन हुन सकेको छैन भने कृषकले उचित मूल्य समेत पाउन सकेका छैनन्। त्यसकारण हरेक वर्ष खर्बौं रुपैयाँका कृषि तथा कृषिजन्य वस्तु आयात भइरहेको छ। सरकारले दूध र मासुमा छिट्टै आत्मनिर्भर हुने योजना ल्याए पनि पूर्णता पाउन सकेको छैन। सरकारले छिट्टै नै समग्र कृषि क्षेत्रमा आत्मनिर्भर बन्ने योजना अघि सारेको छ। तर, उत्पादनमा कृषकको आकर्षण घट्दै गएको छ। विभागका अनुसार सहकारीले तरकारी, खाद्यान्न, पशुपालन, धान, अदुवा, तरकारी, सुपारी, मह, कुखुरापालनलगायतमा लगानी गरेका छन्।
झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले पछिल्लो समय आगामी ५० करोड भन्दा बढी लगानीमा ‘नमूना कृषि परियोजना’ सुरु गरेको छ। आउँदो पाँच वर्षभित्रको लक्ष्य राखेर उसले परियोजना सुरु गरेको हो। स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग साझेदारीमा कृषि क्षेत्रसँग सम्बन्धित जानकारीका लागि प्रयोगात्मक तालिमसमेत दिने उद्देश्यले परियोजना सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रमुख लक्ष्मीप्रशाद उप्रेतीले बताए। गत वर्षदेखि सुरु भएको परियोजनामा हालसम्म साढे ८ करोड लगानी छ। ‘माछा, फलफूल, गाई, बाख्रा पालन, तरकारीलगायत कृषिका सबै क्षेत्रको विकासका लागि लाइभ ट्रेनिङ सञ्चालन गर्नेे योजना छ’, उनले भने। सहकारीले उक्त परियोजनाका १५ बिघा जग्गा खरिद गरिसकेको छ। आसपासको जग्गा खरिद गर्ने योजना अघि सारेको छ।
त्यस्तै सहकारीले डेरीमा १५ करोड लगानी गरेको छ। चार हजार किसानले उक्त डेरीमा प्रत्यक्ष रूपमा दूध बिक्री गर्छन्। दैनिक १२ हजार लिटर दूध आउने गरेको उप्रेतीले बताए। दूधको कारोबार गर्ने किसानले संरक्षित पुँजी कोषमार्फत कारोबारका आधारमा थप पैसा समेत पाउँछन्। गत वर्षदेखि डेरीतर्फ किसानले वर्षभरीमा दूध र पैसाको अनुपातको आधारमा जोडेर भाग गरी संरक्षित पुँजी कोषको रकम फिर्ता गर्न सुरु गरिएको कार्यकारी प्रमुख उप्रेतीले जानकारी दिए। उक्त डेरीको दूध तथा दूधजन्य वस्तु झापा, मोरङ, सुनसरीमा बिक्री हुन्छ।
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीका अनुसार सहकारी सुपथ पसल सञ्चालन गर्दै आएको बताए। अध्यक्ष उप्रेतीले यो वर्ष पाँचवटा सहकारी पसल सञ्चालन प्रक्रिया अघि बढेको र आउँदो पाँच वर्षभित्र ५० वटा पसल पुर्याउने लक्ष्य लिएको जानकारी दिए। ‘सुपथ सहकारी पसलबाट किसान ठगिनुनपर्ने, स्वास्थ्यमा प्रतिकुल असर नपर्ने र उपभोक्ताले गुणस्तर सेवा पाउँछन्’, उनले भने।
नेपाल बहुउद्देश्यीय सहकारीले साढे आठ अर्बको कारोबार गर्दै आएको छ। ७२ हजार सदस्य रहेकामा आउँदो वर्षभित्र एक लाख सदस्य पुग्ने उनको भनाइ छ।
झापाको गौरादह नगरपालिका ५ स्थित महारानी झोडा कृषि सहकारी संस्थाले एक सय बिघा जग्गामा ‘नमुना कृषि परियोजना’ सञ्चालन गरेको छ। परियोजनामा धान, गहुँ, मकै कोदोलगायत मौसमअनुसार सहकारी खेती गर्दै आएको छ। त्यस्तै बिज प्रशोधन केन्द्र, अर्गानिक मल, मकैको हाइब्रिड, दूध संकलन केन्द्र, पशुबिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ। संस्थाका कार्यकारी प्रमुख चिरन्जीवी भण्डारीले कृषिमा मात्रै संस्थागत लगानी ६ करोड रहेको बताए। सदस्यको सहभागिता कृषिका विविध कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ।
महारानीझोडा साना किसान कृषि सहकारीमा एक हजार नौ सय ७९ जना महिला मात्रै सदस्य छन्। उक्त संस्थाले ४६ करोडको कारोबार गर्दै आएको छ। ‘कृषिलाई प्रविधि र बजारसँग जोड्न हामीले अभियान चलाएका छौं’, उनले भने। सहकारी खेतीमा जग्गा मिसाउने सदस्यले निश्चित पैसा पाउँछन्। उत्पादनको केही हिस्सा पनि उनीहरूले पाउँछन्। उक्त जग्गामा श्रम गरेमा श्रमको पनि पैसा पाउने व्यवस्था छ। संस्थाका कार्यकारी प्रमुख भण्डारीले जग्गा नभएका सदस्यलाई पनि भूमि व्यवस्थापन गरेर कृषि उत्पादनमा प्रेरित गर्ने अभियान सुरु गरेको बताए।
सतासी महिला मौरीपालन सहकारी संस्थाका व्यवस्थापक देवी दाहालले वर्षमा ६० हजार केजी मह उत्पादन गर्दै आएको बताइन्। ४ सय ६८ सदस्यमध्ये ३ सय ६३ सदस्यले मौरी पाल्छन्। सबै सदस्यसँग गरी ३ हजार गोला मौरी छन्। व्यवस्थापक दाहालले सदस्यलाई धरौटीमा मौरी पाल्न लगाउने गरेको बताइन्। ‘माहुरी बिस्तार गरी उत्पादन बढाउन हामी धरौटीमा गोला दिन्छौं’, उनले भनिन्। अहिले देशभरका सहकारीमार्फत १० हजार मेट्रिकटन मह उत्पादन भइरहेको छ।