सडकले फेरियो गाउँ
फूलवारी (गुल्मी) : कुनैबेला गाडी चढ्न सदरमुकाम तम्घास पुग्नुपर्ने धुर्कोट गाउँपालिका ६ बेलटारी गुल्मीका राम बहादुर खड्का अचेल दंग छन्। बजार गर्न र बुटवल, काठमाण्डौँ जानुपरेमा झिसमिसे विहानै उठेर उनी गन्तव्यतर्फ बाटो सोझाउँथे। वितेको सात÷आठ वर्षमै उनले विकासको आमूल परिवर्तनको महशुस गरेका छन्।
अचेल उनको घर अगाडीबाटै कालोपत्रे बाटोमा गाडी गुड्छन्। हिलो, धुलोको चिन्ता छैन्। कालोपत्रे बाटोमै गुडेका गाडी देख्दा उनलाइ सपनाजस्तै लाग्छ। यसअघि तम्घास–सिमलटारी–प्यूठान सडकले चिनिएको उक्त सडक अहिले मदन भण्डारी राजमार्गको नामले चिनिएको छ। सोही राजमार्गकै नामबाट सडक कालोपत्रे गर्ने काम भइरहेको छ। तम्घासदेखि सिमलटारीसम्म पुरै सडक कालोपत्रे सकिएको छ। सिमलटारीदेखि पुर्कोटसम्मको भाग अहिले कालोपत्रे गर्ने काम भइरहेको छ।
गाउँकै सडक कालोपत्रे भएको देख्दा यस क्षेत्रमा पर्ने स्थानीय हौसिएका छन्। ‘विकास भनेको त सडक नै रहेछ’,खड्काले भने,‘बाटोबीना अरु विकास असम्भव नै देखियो।’ उनले सम्वन्धित निकायलाइ स्थानीयलाइ असर नपर्ने गरी विकास निर्माणलाइ अघि बढाएमा साँच्चिकै गाउँको विकास गर्न धेरै समय पर्खनु नपर्ने अनुभव सुनाए।
यसै सडक भएर सदरमुकाम तम्घास ओहोरदोहोर गर्ने सवारीसाधनहरुको दुरी छोट्टिएको छ। तीन घण्टा लागेर यात्रा गर्नुपर्ने समय अहिले डेढ घण्टामै सिमित भएको छ। गाडी भाडामा समेत स्थानीय प्रशासनले समायोजन गरेको छ। ‘पहिले तीन घण्टा लगाएर तम्घास पुग्नुपर्ने बाध्यता थियो’,मालिका गाउँपालिका छापहिलेका गाडीधनी बसन्त श्रीसले भने,‘अहिले डेढ घण्टामै पुग्छौँ। हतार हतार गरी घर फर्कन्नु पर्दैन्।’ सडक कालोपत्रे भएपछि यस भेगमा यात्रा गर्ने सवारी साधन र स्थानीय ढुक्कसँग यात्रा गर्ने गर्छन्।
तम्घासबाट सिमलटारी पुग्नका लागि पहिले ढाइ घण्टा लाग्ने बाटो अहिले एक घण्टामै पुग्न सकिन्छ। सडक कालोपत्रे भएपछि यस क्षेत्रमा पर्ने मालिका, इस्मा, धुर्कोट गाउँपालिका, रेसुंगा नगरपालिका सहित छिमेकी जिल्ला अर्घाखाँचीको मालारानी, प्यूठानको झिमरुक गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभांवित भएका छन्। उक्त सडकले गुल्मीको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल रेसुंगा, रिढी, अर्घाखाँचीको सुपादेउराली, प्यूठानको स्वर्गद्धारी लगाएतका धार्मिक स्थलहरु समेत एक आपसमा जोडिएका छन्। सडक कालोपत्रे भएपछि तीन जिल्लाका पर्यटकहरु अन्तर जिल्ला ओहोरदोहोर गर्ने क्रम बढ्ने समेत जिल्लाबासीले आशा गरेका छन्।
तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका योजना प्रमुख सन्तोष कुमार कर्णले जानकारी दिए। शुरुको अवस्थादेखि कालोपत्रे गर्दासम्म कुल ५७ करोड रुपैयाँ खर्च भइसकेको उनले बताए। सिमलटारीदेखि पुर्कोटदहसम्म्को १० किलोमिटर सडक कालोपत्रे गर्नका लागि अर्थ मन्त्रालयमा फाइल पेश भइसकेको उनको भनाइ छ। यसका लागि कुल २३ करोड बजेट माग गरिएको उनले बताए। सिमलटारीदेखि पुर्कोटसम्मको सडकमा हाल ग्रावेल गर्ने काम भइरहेको छ। ‘पुर्कोटदहदेखि सौतामारेहुँदै झिमरुक गाउँपालिकाको मच्छि बजारसम्मको खण्डमा डिपिआर भइरहेको छ’,उनले भने,‘केही भाग सालझण्डी ढोरपाटनले पनि जोड्छ। त्यसमा पनि कालोपत्रे गर्दैछौँ।’